७ वैशाख २०८१ शुक्रबार
विचार

विधर्मीको दिग्विजय

बालराजा (बेबी किङ) ज्ञानेन्द्र शाहलाई ब्रिटेन र भारतले मान्यता दिन्छन् कि दिँदैनन् भनेर मोहन शमशेरदेखि शंकर शमशेर लगायतका सबै चिन्तित थिए । २००७ कात्तिक २३ गते राति ब्रिटेनबाट नयाँ राजाप्रति ‘सकारात्मक’ भएको सन्देश आयो तर अन्त्यमा, ब्रिटेनले मान्यता दिएन ।

असल र इमानदार मानिसहरूलाई घर–व्यवहार टार्न गाह्रो छ तर गलत काम गर्नेहरू सदैव दिग्विजयी देखिन्छन् ।

राणा सरकारले राजा त्रिभुवनलाई गद्दीच्युत गरे पनि दिल्लीमा दिदी रमा राणा (सिंह शमशेरकी पत्नी) बाट राजाले ‘टीका पहिरिबक्सेको’ कुरा सरदार भीमबहादुर पाँडेले लेखेका छन् । दिल्लीस्थित नेपाली राजदूत सिंह शमशेरलाई पाकिस्तानले खबर पठाएर राजा ज्ञानेद्रलाई मान्यता दिएको जनायो । भारत रिसाउला भनेर सो खबर गुप्त राखिएको कुरा भीमबहादुर पाँडेका कलेजका सहपाठी प्रा. यदुनाथ खनालले उल्लेख गरेका छन् । पाँडेको पुस्तक त्यसबखतको नेपाल (चौथो भाग) र अन्य दस्तावेजमा पनि यो प्रसङ्ग पाइन्छ । चन्द्र शमशेरका विद्वान् छोरा केशर शमशेरसँग इतिहासका महत्वपूर्ण दस्तावेज र अंग्रेजीमा लेखिएका डायरीहरू थिए भन्ने एकजना राणाबाट थाहा भएपछि केशरका नाति (छोरीका छोरा) शरद्चन्द्र शाहसँग पङ्क्तिकारले सम्पर्क ग¥यो । उनले बाल्यकालमा केशर शमशेरका हजारौँ पुस्तक देखेको र ती पुस्तक केशर पुस्तकालयमा राखिएको बताउँदै डायरीबारे जानकारी नभएको स्पष्ट गरे । संस्कृतका महाकवि कालिदासको मेघदूत ग्रन्थ संस्कृतबाट नेपालीमा अनुवाद गर्ने केशरले ४५ हजारभन्दा धेरै पुस्तक सरकारलाई दान दिए । चन्द्र शमशेरका आठ भाइ छोरामध्ये उनी सबैभन्दा बौद्धिक थिए भनिन्छ ।

हेमन्त शमशेरद्वारा सम्पादित नरशमशेरको जीवनीमा राजा त्रिभुवन र उनका जेठा छोरा महेन्द्र (न्वारानको नाम देवेश्वर) बीच सुरुमा केही मनोमालिन्य भएको उल्लेख छ । पुराना दस्तावेजहरूको उपेक्षा गर्ने प्रवृत्ति, हराउने र नासिने क्रम बढेको हुँदा सत्यको अन्वेषण गर्न गाह्रो हुँदै गएको कतिपय गवेषकहरूको अनुभव छ । राणा र शाह परिवारका अधिक चेतनशील व्यक्ति अध्ययन, चिन्तन र बौद्धिक बहसबाट टाढिँदै गएको पाइन्छ भने अर्बौं रुपियाँ थुपारेर निष्क्रिय बस्न रुचाउनेहरू पनि धेरै छन् । राजदरबार र सिंहदरबारका प्रियपात्र भएर काम गरेका बूढा पुरानाहरूमध्ये धेरैजसो मरिसके । जीवित देखिने कतिपय अवसरवादीहरू विदेशी रिझाएर करोडौँ रुपियाँ आर्जन गर्ने एनजिओ उद्योगमा लागेको पाइन्छ । उनीहरू सत्य लुकाएर प्रायोजित दुष्प्रचार गर्नमा व्यस्त छन् ।

नैतिक आधारभूत चरित्र (इथस्) र अनुभूति अनुभवको भाव (पिथस्) फरक हुन् । राष्ट्र सदैव संगठित स्वस्थ, समृद्ध र दीर्घायु होस् भन्ने प्रबल चेतनालाई मन्दविष दिएर मार्ने काम भइरहेको छ आज । अर्बौं डलर र युरोलगायतका विदेशी मुद्रा प्राप्त भयो भने त्यसैले मात्र धनी हुन सकिन्छ भन्ने गलत धारणाको एकोहोरो शंख बजाएर राष्ट्रकै दाहसंस्कार गराउन खोजिँदै छ । राजनीति मात्र परिष्कृत भयो भने जंगी, निजामती, प्रहरी र निजी क्षेत्र सबै शुद्ध हुँदै जान्छ तर बितेका पच्चीस–तीस वर्षमा राष्ट्र झन् कमजोर भएको ‘ठूल्ठूला’ राजनीतिक अगुवाहरूले नै स्वीकार गर्दै आएका छन् ।

सन् १४४३ मा राजा सेजुङले तयार पारेको हाङगुल लिपिको प्रशंसा गर्छन् कोरियालीहरू । दिगम्बर गुरु किन निर्वस्त्र बस्छन् र श्वेताम्वरपन्थीहरू किन लुगा लगाउँछन् भन्ने बहस जैन सम्प्रदायमा निरर्थक मानिँदैन । तर नेपालमा ‘पुराना कुरा किन मान्ने’ भनेर छेउ न टुप्पाको बहस गर्नेहरूले सभ्यताबारे अध्ययन नै नगरेर भौतिकवादको भाङ खाइरहेको देखिन्छ । नेपालको तुलना साम्राज्यवाद र विस्तारवादबाट सयौँ वर्ष थिचिएका दासहरूसँग हुनै सक्दैन । किनभने पुराणको ‘हिमवत्खण्ड’ र प्राचीन ग्रन्थहरूमा उल्लेख नेपाल राष्ट्रको इतिहास नवोदित राष्ट्रहरूसँग तुलना हुन सक्दैन । नयाँ पुस्ता यसबारे जागरुक बनिरहेको पाइन्छ ।

लोन नोल, पोलपोट र खिउ साम्फानहरू पैदा गरेर पश्चिमका शक्तिले कम्बोडियामा खेलेझैँ, ल्याटिन अमेरिका र अफ्रिकाका धेरै राष्ट्र बर्बाद तुल्याएझैँ वा एसियाका दरिद्र राष्ट्रहरूमा एनजिओमार्फत रकम बाँडेर प्राचीन धर्मसंस्कृति मासिरहेझैँ नेपाललाई जरैसँग ढाल्न खोजिएको छ । युद्ध जितेको भ्रममा पर्नेहरू शान्ति हारेको पीडा अनुभूत गर्न सक्दैनन् । उनीहरूको दम्भले सत्यमाथि ग्रहण लाग्ला, तर सूर्य सदैव छेकिँदैन ।

जापानको परम्परागत कोतो बाजामा नाइलनका तेह्रवटै तार चाहिन्छ किन ? त्यो ७१ इन्चकै हुनुपर्छ किन ? किरि काठकै हुनुपर्छ किन ? यस्ता प्रश्नबारे जापानको आजको पुस्ताले बुभ्mन खोजिरहेको पाइन्छ । अफ्रिका, युरोप, एसिया र अमेरिका जहाँ पनि हप्ता भन्नाले सात दिन र वर्ष भन्नाले बाह्र महिना बुझिन्छ किन ? प्राचीन सभ्यताका उपासक सनातन धर्मावलम्बीहरूले सूर्यको उपासना गर्दै आदित्य (सूर्य) का नाममा आइतबार (रविबार) बनाए । २०१७ वर्षदेखि मात्र प्रचलनमा ल्याइएको क्रिश्चियन क्यालेन्डर (पात्रो) पनि आइतबारलाई ‘सन्–डे’नै भन्छ किन ? संस्कृतको ‘अन्तिमेत्थम्’ शब्द अंग्रेजीमा अल्टिमेटम भएको हो । हाम्रो सभ्यता, इतिहास, परम्परा र पूर्वीय गोलाद्र्धको ज्ञानबाट पश्चिमा राष्ट्रहरू प्रभावित छन् । यता नेपाल र भारतजस्ता राष्ट्रमा पश्चिमाको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

म्याडागास्कर, कंगो, लाइबेरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मालाबी लगायतका राष्ट्र धेरैवर्ष विदेशीकै छत्रछायाँमा बसे । गोराहरूका हजारौँ प्रवचन सुनेर त्यहाँका लाखौँ मानिस हुर्किए तर पुरानो सभ्यता, परम्परा, मौलिकता र एकता भताभुंग पारियो । कतिपय अफ्रिकी राष्ट्रमा त पश्चिमाहरूले हप्कीदप्की गरेर संविधानमा आफ्ना सम्पूर्ण एजेन्डा प्रवेश गराए । कमजोर राष्ट्रहरूलाई प्रयोग गर्न संघीयताको इन्द्रजाल फैलाएर संघीयता स्वीकारेका अधिकांस राष्ट्रमा गृहयुद्ध मच्चाइयो । सत्ता दुव्र्यसनीहरू पैदा गरेर प्रजातन्त्रका नाममा सीमित टाठाबाठाको शासन (ओलीगार्की) लागू गरियो । अबुजा (नाइजेरिया) निवासी लेखक चुक्स ओकोचाले लेखेका छन्, “संघीयता भनेको साम्राज्यवाद र विस्तारवादको नयाँ हतियार हो ।”

युगान्डामा सन् १९८५ मा ‘जनताको संविधान’ भन्दै विदेशीको आदेशमा जारी गरिएको संविधान जनविरोधी र राष्ट्रहित प्रतिकूल भएको तर्क गर्दै एरिक कासाम्बुजीले भनेका छन्, “आफैँले निर्णय गर्न नसक्दा राष्ट्र कमजोर बन्न पुग्यो । एकता नै छिन्नभिन्न बनाइयो ।”

विदेशीले कहाँ, कसरी, किन र कुन व्यक्ति वा शक्तिमार्फत खेलिरहेका छन् भन्ने कुराको गहिरो अध्ययन र विश्लेषण गर्न सकिएन भने शरीरमा क्यान्सर छ भन्ने कुरा अन्तिम अवस्थामा थाहा पाएझैँ हुन्छ । राष्ट्रिय सुरक्षाको परम्परागत परिभाषामै ढुक्क नपर्ने हो भने प्राध्यापक, पत्रकार, उच्चपदस्थ कर्मचारी, राजनीतिकर्मी, उद्यमी, एनजिओकर्मीलगायतका अनेक क्षेत्रमा विदेशी गुप्तचरहरूकोे जालो फैलाइएको अनुमान गर्न सकिन्छ । उनीहरूका गतिविधि अनुगमन गर्ने दायित्व पाएका सरकारी गुप्तचर कति योग्य छन् भन्ने जगजाहेर नै छ । भूकम्पपछि परकम्प आउँछ भन्ने ज्योतिषीहरू जस्तै सरकारले थुप्रै सल्लाहकारको हुल नै पालेको छ ।

इतिहास बिर्सिने राष्ट्रहरू मासिन्छन् । मौलिकपन त्यागेर परावलम्बी चिन्तनमा रमाउने राष्ट्र कमजोर बन्छ । राजनीतिशास्त्रीहरूको तर्क छ, “राजनीतिक अस्थिरताले राष्ट्र धराशयी बन्न सक्छ । जातीय द्वन्द्वले विनाश ल्याउँछ र आर्थिक असमानता बढ्दै गयो भने राष्ट्रको एकता रहँदैन ।”

कतिपय सुखी मानिस आफ्नै कुबुद्धिले अपमानित भएको पनि हामीले देखेका छौँ । आफ्नो स्वार्थपूर्ति गर्न फिलिपिन्समा पश्चिमा शक्तिले फर्डिनान्ड मार्कोसदेखि जोसेफ एस्टार्डासम्मका भ्रष्ट नेतालाई समर्थन गरे । युक्रेनका पाब्लो लाजारेन्को, पेरुका फुजिमोरी, निकारागुवाका अर्नोल्डो एलोमन, हाइटीका दुभालियर, सर्बियाका स्लोभोदान मिलोसेभिच, नाइजेरियाका सानी आबाचा र मोबुतु सेसा सेकेलगायतका धेरै नेता जनविरोधी भए पनि विदेशी शक्तिको बलमा प्रबल देखिए तर उनीहरूलाई जनताले किनारा लगाइदिए । राष्ट्रिय शक्ति बलियो भएको खण्डमा मात्र विदेशीको हुकुम बन्द हुन्छ, नत्र महमद बुहारीजस्ता पात्रहरू राजनीतिमा आइरहन्छन् र बीसौँ वर्ष छाइरहन्छन् ।

पुराना प्रशासक तेजबहादुर प्रसाईको आत्मकथामा वि.सं. १९२५ मा रामेछाप मुगीटारका रामचन्द्र प्रसाईलाई राजा पृथ्वीनारायण शाहले पठाएको पत्रको चर्चा गरिएको छ । विदेशीलाई राष्ट्रको गोपनीयता नखोल्नू भन्दै पृथ्वीनारायणले सम्झाएका छन् “फिरङ्गीले पेट पाउला । आफ्नो पेट कसो गर्या पनि दिनु छैन । पेट पायो भने थामन गाह्रो छ ।” विदेशीलाई गोप्य कुरा (मनपेट) नखोल्नू भन्ने हाम्रा पुर्खाको उपदेश थियो । आज न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालगायतका क्षेत्रमा फिरङ्गीले सबै गुप्त सूचना लिइरहेका कुरा सञ्चारमाध्यममा आइरहेकै छन् । अर्थात् शत्रुको घेराबन्दी भइरहेको छ ।

थोमस बबिङ्टन म्याकाले (लर्ड म्याकाले) ब्रिटेनको इतिहास, साहित्य, धर्म, संस्कृति र राजनीतिका ज्ञाता भएकाले सरकारले उनलाई भारतमा इसाई शिक्षा पद्धति स्थापना गर्न पठायो । हिमालयदेखि कन्याकुमारीसम्म प्राचीन धर्मसंस्कृतिप्रति हजारौँ वर्षदेखि ठूलो आस्था रहकाले त्यसबाट विमुख बनाएर इसाई संस्कृति फैलाउनुपर्ने उनले सुझाव दिए । ब्रिटेनको राजदरबार र संसद्मा प्रस्तुत सुझावअनुसार भारतमा अंग्रेजी स्कुल–कलेज धमाधम खुल्न थाले । सन् १८३५ मा उनले दिएको सुझाव लागू गरियो । सन् १९३५–४० सम्ममा भारतको विभिन्न सहरमा हजारौँ युवकयुवती क्रिश्चियन बन्न पुगे । बलिरहेको बत्ती झ्याप्प निभाएर जन्मदिन मनाउने र अन्डाबाट बनाइएको केक मुखमा दल्ने हाँस्यास्पद चलन नेपालमा पनि हैजा जस्तो आयो । अष्ट चिरञ्जीवीको पूजा आराधना गरेर वैदिक विधिपूर्वक शुभजन्मोत्सव मनाउनेहरूलाई असभ्य र पाखे भन्न थालियो ।

पश्चिमी राष्ट्रका कतिपय लेखकले साम्यवादी भनिने दलहरूमा जताततै पश्चिमी गुप्तचर संस्थाको घुसपैठ रहेको उल्लेख गरेका छन् । सामाजिक संघसंस्था (एनजिओ) मार्पmत प्राप्त हुने अकूत सम्पत्तिले नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा जताततै गोपनीयता बिक्री गर्ने प्रवृत्ति बढेको भन्दै सञ्चारमाध्यमले प्रश्न उठाइरहे पनि राष्ट्र जोगाउने अन्तिम अधिकारी को हुन् भन्ने स्पष्ट छैन । नेपाल राष्ट्रका घरमूलीबारे संविधानले संकेत गरे पनि निर्णय गर्ने शक्ति नेपाली होइन भन्ने देखिएको छ ।

खार्तुम र जुबालाई दुईवटा राजधानी बनाएर सुडानलाई दुई टुक्रा पार्न प्रजातन्त्र अर्थात् मताधिकार नै प्रयोग गरियो । सिक्किमलाई भारतमा गाभ्दा जनप्रतिनिधिलाई हतियार बनाएर जनमत संग्रहको नाटक रचियो । ‘डेमोक्रेसी’ भन्ने शब्द ‘डिप्लोमेसी’ (कूटनीति) नामको हरियो घाँस देखाएर राष्ट्रकै गर्दन छिनाउने खड्ग बनेको छ । त्यसले इथियोपिया टुक्र्याएर इरिट्रिया गराउने, इष्ट टिमोर नामको भूखण्डलाई इन्डोनेसियाबाट छुट्याउने, तिब्बतलाई चीनबाट च्वाट्ट छिनाउने आदि खेल र प्रपञ्चका कथा बुझेपछि नेपालमा विभाजनको आगो सल्काउने सुकिला हातहरू चिन्न सजिलो हुन्छ ।

सियरालिओनको फ्रि टाउनमा बस्नेहरू कति ‘फ्रि’ (स्वतन्त्र) छन् , उनीहरूलाई थाहा छ । मोन्रोभियाका क्लबमा नाच्नेहरू किन पश्चिमाकै दास जस्ता छन् ? क्रोसियामा सीमित आम्दानी हुनेहरू थोरै कुना –मुद्रा) बाट घरव्यहवार चल्न सकेन भन्दै कुना पसेर रुन्छन् भने गुप्त सूचना बेच्नेहरूलाई त्यहाँ पनि आराम छ । किन साना, कमजोर र अल्पविकसित राष्ट्रमा सधैँ अस्थिरता हुन्छ भनेर बुझ्न त्यति गाह्रो छैन । असल र इमानदार मानिसहरूलाई घर–व्यवहार टार्न गाह्रो छ तर गलत काम गर्नेहरू सदैव दिग्विजयी देखिन्छन् ।

देवासुर संग्रामको कथा सुनेका छौँ, हामीले । दानवहरूले असल स्वभावका देवीदेवतालाई पनि हायलकायल पारेका थिए ।  साम्राज्यवाद र विस्तारवाद डोनेसन (दान), डिप्लोमेसी (कूटनीति), डेमोक्रेसी (प्रजातन्त्र) र डेभलपमेन्ट (विकास) नामको जामा लगाएर जादूगरझैँ नयाँ रूपरंगमा आएको छ । त्यसैले दैत्यहरू दिग्विजयीजस्ता देखिएका छन् र असल पात्रहरू परास्तजस्ता ।

प्रकाशित: ९ भाद्र २०७४ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App