८ वैशाख २०८१ शनिबार
नागरिक खोज

अायल निमगले कमसल जग्गा महँगोमा खरिद गरेको जनप्रतिनिधिको भनाइ

भैरहवा – नेपाल आयल निगमले भैरहवामा इन्धन भण्डारण स्थल बनाउन जग्गा किन्दा करोडौं रुपैयाँ घोटाला गरेको भन्दै कारबाही गर्न जनप्रतिनिधिले माग गरेका छन् । स्थलगत अध्ययन गर्न आएको संसदीय समितिसमक्ष जनप्रतिनिधिले यस्तो माग राखेका हुन्। 

भैरहमा जिल्ला प्रशासन कार्यालयले इन्धन भण्डारण स्थल बनाउन सार्वजनिक जग्गा दिने प्रतिबद्धता गर्दागर्दै पनि निगमका उच्चअधिकारीले करोडौं रुपैयाँ कमिसन खानकै लागि बिचौलियासँग मिलेर कमसल जग्गा महंगोमा किनेको आरोप जनप्रतिनिधिको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिसहित सरोकारवालाले स्थलगत अध्ययनपछि जिल्ला प्रशासन कार्यालयमा मंगलबार आयोजना गरेको अन्तक्र्रियामा कमिसनकै लागि निगमले वास्तविकभन्दा कयौं गुणा बढी मूल्यमा जग्गा खरिद गरेर भ्रष्टाचार गरेको जनप्रतिनिधिले बताए । 

जग्गाधनीबाट प्रतिकठ्ठा दुई÷ढाई लाख रुपैयाँमा किनेको जग्गालाई निगमका अधिकारीले कमिसन खानकै लागि १० लाख ९३ हजार रुपैयाँमा किनेको जनप्रतिनिधिको आरोप छ । निगमले खोला किनारमा किनेको जग्गामा करौंडो अनियमितता भएको जिल्ला समन्वय समिति, रुपन्देहीका संयोजक एकराज विश्वकर्माले बताए । ‘भ्रष्टाचारमा संलग्नलाई तत्काल कारबाही गर्नुपर्छ,’ उनले भने, ‘सरकारले खुट्टा कमाउनु हुँदैन ।’

‘किसानबाट प्रतिकठ्ठा दुई÷अढाई लाख रुपैयाँमा किनेको जग्गालाई आयल निगमले दस लाखभन्दा बढी मूल्यमा किनेको भन्नु सरासर भ्रष्टाचार हो । ’

दलाल पोस्ने र भ्रष्टाचार गर्ने निगमका कर्मचारीलाई कारबाही नभएसम्म सो स्थानमा निगमको कुनै पनि संरचना बनाउन नदिने रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेले बताए।

‘किसानबाट प्रतिकठ्ठा दुई÷अढाई लाख रुपैयाँमा किनेको जमिनलाई निगमले दस लाखभन्दा बढी मूल्यमा किनेको भन्नु सरासर भ्रष्टाचार हो त्यस्तालाई कारबाही हुनुपर्छ’, पाण्डेले भने । बर्सेनि नदी कटान र डुबानमा पर्ने जग्गामा इन्धन भण्डारण स्थल बनाउन नमिल्ने स्थानीयको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निगमले किनेको जग्गाको मूल्य चलनचल्तीभन्दा निकै धेरै भएको बताए । ‘निगमले रोहिणी नदी किनारको जग्गा जति मूल्यमा किनेको भनिएको छ त्यो अस्वाभाविक देखिएको छ, यसमा छानबिन हुनुपर्छ’, मैनालीले भने। 

स्थानीयसँग सस्तोमा किनेको जग्गालाई निगमले दलालमार्फत महंगो मूल्यमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको ठहर संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिअन्तर्गतको आपूर्ति उपभोक्ता समितिको छ । निगमले भैरहवामा खरिद गरेको जग्गास्थल समितिले मंगरबार स्थलगत अनुगमन गरेको छ । अनुगमन क्रममा सो जग्गा चलनचल्तीभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाइएको समिति संयोजक सांसद सुभाषचन्द्र ठकुरीले बताए । ठकुरीका अनुसार निगमले किनेको जग्गामध्ये करिब ३० प्रतिशत खोलाको उकास र बाँकी   कमसल र डुबानको उच्चजोखिममा छ।  

समितिका सदस्य जनक बुढाले निगमले भैरहवामा किनेको जग्गा कुनै पनि संरचना बनाउन उपयुक्त नभएको बताए । 
निगमले भैरहवादेखि पाँच किलोमिटर पूर्व परासी सडकखण्डमा पर्ने  रोहिण नदी किनारमा १४ बिघा ७ कठ्ठा १४ धुर जग्गा किनेको छ । नदी कटान र बाढीकै कारण वर्षौदेखि प्रयोगविहीन जग्गालाई निगमले दलालमार्फत किनेर करोडौ कुम्ल्याएको बताइएको छ । भ्रमाफियासँगको मिलेमतोमा कागजी प्रक्रिया पूरा गरी निगमले कमसल जग्गालाइ बढी मूल्यमा किनेको देखाई करोडांै रुपैयाँ भ्रष्टाचार गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

प्रकाशित: ७ भाद्र २०७४ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App