८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

नयाँदिल्ली – भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्। 

राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ। 

यही अगस्त छ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन्। 

बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए। 

सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

गत हप्ता मात्रै भारतको आर्थिक राजधानी मुम्बईमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए। 

प्रदर्शनकारीले आफूहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन्। 

महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसङ्ख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन्। भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन्। कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ। 

जलबायु परिवर्तनका कारण गत तीन बर्षको अवधिमा भारतमा ५९ हजार भन्दा बढी जनाले आत्महत्या गरेको गत हप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनले देखाएको छ । 

प्रकाशित: १ भाद्र २०७४ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App