८ वैशाख २०८१ शनिबार
विचार

अभिलेख र अभिलेखालय

अभिलेखको परिभाषा गर्दा साधारणतया कुनै पनि कागजात वा अन्य त्यस्तै वस्तुमा लेखिएका सरकारी, गैरसरकारी र व्यक्तिगत लिखोटलाई लिने गरिन्छ। यसको इतिहास इशापूर्व पाँचौँ शताब्दीतिर ग्रिसको राजधानी एथेन्सका बासिन्दाले आफूले महत्वपूर्ण ठानेका कागजात अर्थात् अभिलेख आफ्नी देवी मेट्रोनको देवालयभित्र सुरक्षा होस् भनी राख्ने चलनबाट सुरु भएको मानिन्छ। यसरी त्यस देवालयभित्र खासगरी सन्धिपत्र, कानुनसम्बन्धी कागजात र लोकसभाबाट पारित टिप्पणी आदि राख्ने गर्थे। यसका अतिरिक्त त्यस समय ग्रिसका प्रमुख लेखक तथा विद्वान्, दार्शनिक, जस्तै– सोक्रेटर्स, एचिलस, सोफोक्लिज आदिका कृति र ओलम्पिक खेलमा विजयी हुने खेलाडीको नामावली पनि त्यहाँ राख्ने गरिन्थे।

जबसम्म नेपाल सरकारले विभिन्न कार्यालय, विभाग र मन्त्रालयबाट सरकारी काम/कारबाहीसम्बन्धी कागजात राष्ट्रिय अभिलेखालयमा निरन्तररूपमा पठाउने व्यवस्था गर्दैन तबसम्म यस अभिलेखालयले पूर्णता पाउन सक्दैन।

यसरी सुरु भएको अभिलेख र अभिलेखालयको परम्परा संसारका विभिन्न देशमा पुगे। भारतमा पनि अभिलेख र अभिलेखालयको निकै प्राचीन परम्परा भेटिन्छ। बौद्ध ग्रन्थहरूमा बौद्ध संघका सभाका हरेक निर्णय बिहारमा सुरक्षितसाथ राख्ने गरिन्थे। सातौं शताब्दीमा भारत भ्रमणमा आएका चिनिया यात्रु ह्वेनसाङ्गले आफ्नो यात्रा वृत्तान्तमा भनेका छन् कि उनले खुद आफैँले पनि यस्ता महत्वपूर्ण अभिलेख पढेर ठूलो फाइदा लिएका थिए। तर अभिलेखहरूको आधुनिक ढंगबाट संरक्षणचाहिँ भारतमा अंग्रेज सरकारले सन् १८९१ देखि नै सुरु गरेको भएता पनि हालको नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखालयको स्थापना सन् १९२६ मा मात्र भएको थियो।

हाम्रो देशको इतिहास पल्टाएर हेरेको खण्डमा लिच्छवि र मल्लकालका हस्तलिखित ग्रन्थबाहेक अभिलेख प्रायः नगन्य नै छ। अन्तिम मल्ल राजाहरूका समयका केही कागजात भने राष्ट्रिय अभिलेखालयको संग्रहमा छ। भक्तपुर राजदरवारमा राजा भूपतिन्द्र मल्लको शासनकालदेखि नै हस्तलिखित ग्रन्थहरूको राम्ररी सूचीकरण गरी संरक्षण गर्ने गरिन्थ्यो र यो परम्परा पछिसम्म पनि चलिनै रहेको थियोे। यसैबाट प्रेरित भई पृथ्वीनारायण शाहले पछि डफ्टरखाना भनी बेग्लै अड्डा खडा गरी यो काम गर्न लगाएको हो कि भनी केही इतिहासकार विश्वास गर्छन्। जे होस्, शाहकालको सुरुवातदेखि नै कागजातको समुचित ढंगबाट सुरक्षा हुन थालेको देखिन्छ। त्यसबेलादेखि नै डफ्टरखाना भन्ने अड्डा थियो। जसको मुख्य काम नै खान्की अथवा जागिरदारहरूलाई मालपोत उठाएर खान छुट दिएको जमिनको रिकर्ड (कागजात) राख्ने थियो। शाहकालमा विभिन्न प्रकारका अभिलेख प्रयोगमा आए। तीमध्ये मुख्य यिनै हुन्– लालमोहर, खड्ग निशाना, सनद सवाल, एक छापे, दुई छापे, रुक्का, इस्तिहार, चिठीपत्र र सन्धि सम्झौता आदि। लालमोहर र खड्ग निशानाचाहिँ सिधा आदेशका रूपमा प्रयोग गरिन्थे भने सनद सवाल ऐन/कानुनका रूपमा प्रयोगमा ल्याइन्थे।

अभिलेखको आधुनिक परिभाषाअनुसार कुनै पनि महत्वपूर्ण लिखोट वा अन्य त्यस्तै लिखोट होस् त्यो कागजपत्रमा हुनुपर्छ। अब प्रश्न उठ्न सक्छ, के हस्तलिखित ग्रन्थ, वंशावली अभिलेखको परिभाषाभित्र पर्छन्? यसको सिधा जवाफ फेला पर्दैन। यस्ता सामग्री कुनै पनि राष्ट्रका लागि त्यहाँको संस्कृति, सभ्यता र इतिहास थाहा पाउनका लागि अति नै आवश्यक भएता पनि तिनीहरूलाई अभिलेख भनी परिभाषित गर्न मिल्दैन। तिनीहरूको आफ्नै पहिचान र महत्व छन् र त्यसैअनुसार तिनीहरूलाई परिभाषित गर्नुपर्छ। अब फेरि प्रश्न उठ्न सक्छ, किन राष्ट्रिय अभिलेखालयमा हजारौं संख्यामा हस्तलिखित ग्रन्थ संकलन गरी संरक्षण गरिराखेका छन् र त्यसरी नै किन त्यहाँ शीलापत्रका प्रतिलिपि कागजमा उतारिराखेका छन्? त्यतिमात्र होइन, हाम्रा राष्ट्रिय अभिलेखालयमा ताम्रपत्र, स्वर्णपत्र, काष्ठपत्र, ताडपत्र पनि राखिएका छन्। किनभने ती सबैले हाम्रो राष्ट्रको इतिहास, संस्कृति र सभ्यताबारे बोध गराउनुका साथै प्रमाणहरू भएता पनि तिनीहरू अभिलेखको आधुनिक परिभाषाभित्र पर्दैन। तर राष्ट्रको इतिहास, संस्कृति र सभ्यताको विकासक्रम थाहा पाउन तिनीहरूको कुनै न कुनै ठाउँमा संरक्षण हुनु नै पर्‍यो। त्यो काम हाम्रो राष्ट्रिय अभिलेखालयले गरिरहेको छ। धेरैजसो देशमा यस किसिमका सामग्री संग्रहालयमा पनि राख्ने गर्छन्।

संसारभर धेरैजसो देशमा कागज आविष्कार हुनुभन्दा पहिले र कागज आविष्कार भइसकेपछि पनि प्रस्थर अथवा शीलामा, तामाको पातामा, काठमा र त्यस्तै अन्यवस्तुमा महत्वपूर्ण निर्णय, आदेश, घटना कुँडाएर सुरक्षितसाथ राख्ने गरेका पाइन्छन्। यसरी शीलापत्र, ताम्रपत्र, काष्ठपत्र, रजतपत्र, स्वर्णपत्र आदिको आविष्कार हुन गयो। ती सबै त्यस देशको इतिहासका लागि स्रोत सामग्री हुन् नै तर तिनीहरू अभिलेख भने होइनन्।

तर हिजोआज कुनै पनि सरकारी वा गैरसरकारी महत्वपूर्ण कागजात अथवा लिखोट, नक्शा, चित्र, प्रतिवेदन, अडियो भिडियो रेकर्ड आदि सबै नै अभिलेखको परिभाषाभित्र नै पर्छन् र यस्ता सामग्री भविष्यका लागि संरक्षण गरिन्छ। यदि सरकारका महत्वपूर्ण कागजात, दस्तावेज, सन्धि सम्झौता, प्रतिवेदन तथा योजना, नक्शा, चित्र राष्ट्रिय अभिलेखालयमा सुरक्षितसाथ राखिन्छ भने अडियो भिडियो अर्थात चलचित्रका लागि आफ्नै बेग्लै अभिलेखालय विश्वका विकसित राष्ट्रमा धमाधम खुल्न थालेका छन्। यी अभिलेखले राष्ट्रलाई दैनिक र प्रशासनिक कार्यमा आइपरेका समस्या के/कसरी हल गर्न सकिन्छ त्यसबारे जानकारी वा सूचना दिने गर्छन्। कुनै पनि विकसित देशमा प्रशासनिक काम गर्दा राष्ट्रमा आइपर्ने विभिन्न समस्यालाई लिएर के/कसरी हल गर्न सकिन्छ भनी अनुसन्धान गरी सूचना संकलन गर्न विशेषज्ञ नियुक्त गरेका हुन्छन्। यो चलन भारतमा पनि छ।

अभिलेखालय सरकारी मात्र हुनुपर्छ भन्ने होइन। यो एक व्यक्ति वा परिवारको पनि हुन सक्छ। एउटा व्यापारी, कम्पनी र उद्योगको पनि हुन सक्छ। यो एउटा संस्थाको पनि हुन सक्छ। यसै सन्दर्भमा सन् १९४६ देखि नै संयुक्त राष्ट्र संघमा अभिलेखालय स्थापना भइसकेको थियो। यस संघअन्तर्गत मुख्य मुख्य अभिलेखालय न्युयोर्क, पेरिस, रोम र जेनेभामा छन्। सन् १९४८ मा युनेस्कोअन्तर्गत संसारभरका अभिलेखालयको उन्नति र विकासलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय अभिलेखालय संघ नामक संस्था गठन गरियो र यसको मुख्यालय पेरिसमा राखियो।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखालयबाट पोस्टग्राज्युयट डिप्लोमा इन आर्काइप्स किपिङ्गको डिप्लोमा हासिल गरिसकेपछि सन् १९६८ मा मैले पेरिसस्थित फ्रान्सको राष्ट्रिय अभिलेखालयमा अभिलेखालयसम्बन्धी उच्चस्तरीय तालिम लिएर स्वदेश फर्केपछि सरकारलाई अन्तर्राष्ट्रिय अभिलेखालय संघको सदस्यता ग्रहण गर्न आवश्यक चाँजोपाजो मिलाइदिएको थिएँ। तत्उप्रान्त नेपाल पनि यो संघको सदस्य छ। सन् १९७६ मा नयाँ दिल्लीमा भारतीय राष्ट्रिय अभिलेखालयको संयोजकत्वमा आइसिएको दक्षिण पश्चिम एसियाका मुलुकहरूको छाता संगठन स्वारविका स्थापना गरियो र त्यस संगठनमा पनि नेपाल संस्थापक सदस्य भयो। यसरी अन्तर्राष्ट्रिय संघ/संस्थाको सदस्यता लिएलगत्तै नेपालले राष्ट्रिय अभिलेखालयमा माइक्रो फिलिम युनिट स्थापना गर्न, अभिलेखालयसँग सम्बन्धित विविध विषयमा ज्ञान हासिल गर्न विभिन्न तालिम तथा सभा सम्मेलन आदिमा भाग लिने अवसर पाएँ। युनेस्कोबाट स्रोत पुस्तिकामाला नेपाली र अंग्रेजीमा प्रकाशित गर्न आवश्यक आर्थिक सहयोग पनि प्राप्त गरेको थिए। यी चार भागमा प्रकाशित स्रोत पुस्तिकाले नेपालका विभिन्न सरकारी कार्यालय, अदालत आदिमा संरक्षण गरी राखेका विभिन्न प्रकारका कागजातबारे बोध गराउँछ। नेपाल राष्ट्रिय अभिलेखालयलाई अभिलेख संकलन गर्न यी पुस्तिकाले धेरै नै सहयोग पुर्‍याएका थिए।

वास्तवमा नेपालमा साँच्चैको अभिलेखको उत्पत्ति र परम्परा २००७ सालपछि मात्र भएको हो। भारतबाट आएका आइसिएस सल्लाहकारहरूले नेपालको पुरानो ढाँचाको प्रशासनिक कामकारबाहीहरूलाई आधुनिकीकरण गर्दै लैजान थाले। आधुनिक रेकर्ड सिस्टम र क्रोनोलजिकल अर्डरबाट कागजात तथा फाइल व्यवस्थित हुन थाले। त्यतिबेलादेखि नै टाइप राइटरको पनि प्रयोग हुन थाल्यो। यसरी आधुनिक ढाँचाबाट तयार भएका फाइल तथा कागजात बनेको पनि ७० वर्ष भइसक्यो। यसैबीच सन् १९७३ मा सिंहदरवार जहाँ नेपालको मुख्य सचिवालय थियो, त्यहाँ भएको भीषण आगलागीले हामीसँग रहे/बचेका अभिलेखमध्ये धेरै नै जलेर नष्ट भयो। २०२४ सालमा हालको यो अभिलेखालय भवन तयार भई सञ्चालनमा आइसक्दा पनि यसले पूर्ण अभिलेखालयको रूप लिन सकेको थिएन। अभिलेखालय स्थापना भएको २०/२२ वर्षपछिमात्र बल्ल 'अभिलेख संरक्षण ऐन, २०४६' पारित भयो। तर यो ऐन आजसम्म पनि पूर्णरूपमा लागु हुन सकेको छैन। जबसम्म नेपाल सरकारले विभिन्न कार्यालय, विभाग र मन्त्रालयबाट सरकारी काम/कारबाहीसम्बन्धी कागजात राष्ट्रिय अभिलेखालयमा निरन्तररूपमा पठाउने व्यवस्था गर्दैन तबसम्म यस अभिलेखालयले पूर्णता पाउन सक्दैन। तसर्थ प्रत्येक सरकारी निकायमा रेकर्ड रुमको व्यवस्था गरी दैनिक कामकाज र प्रयोगबाट मुक्त भएका कागजातको राम्ररी अभिलेखन गरी संरक्षण गरेर केही समयपछि निरन्तररूपमा राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्ने व्यवस्था हुनु अति नै आवश्यक छ।

प्रकाशित: २९ असार २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App