८ वैशाख २०८१ शनिबार
विचार

अन्तर्घातको आत्मरति

'अन्तर्घात' यतिबेला नेपालको चुनावमिश्रित राजनीतिमा सबैभन्दा बढी चल्तीको शब्द भएको छ। हराइको रन्थनाहटले बिमारी नै परेकाहरू यही ओखती प्रयोग गरेर बौराउन खोज्दैछन्। कतिपय ठाउँमा त यी बिरामीका झम्टाइमा अरुसमेत पर्ने गरेका छन्– कोही मोसोले रङि्गएर, कोही कुटाइ खाएर, कोही निष्काशनमा परेर त कोही धम्क्याइएर। जे होस्, यतिबेला नेपाली राजनीतिमा सबैभन्दा बढी वजनदार हुने मौका भने यही शब्दले पाएकामा दुई मत छैन।

कमजोरी औल्याउने, दलले लिएका नीतिमाथि समीक्षा गर्ने र सच्याउने वाचा गर्दै अघि बढ्नुपर्नेमा कङ्ग्रेसमा यो इच्छाशक्ति ठ्याम्मै देखिएन। यस्ता कुरालाई पाखा लगाउँदै उसले अहिलेको समस्याको सम्पूर्ण दोष थोपरेको 'अन्तर्घात' ले मनको लड्डुको काम त गर्ला तर डुब्नबाट बचाउने हैसियत भने राख्ने छैन।

अन्तर्घातको चुरो

वास्तवमा मतदाता आफ्नो मत कसलाई दिने या नदिने भन्नेमा स्वतन्त्र छन्। हाम्रो कानुनले जुन गोप्य मतदानको व्यवस्था गरेको छ, त्यसको अर्थ हो– जसलाई मतदान गर्न पनि पाइन्छ। प्रचारका क्रममा वा अरुबेला कुनै दलविशेष वा व्यक्तिविशेषको पछि लागे पनि उसले मत भने मन परेका जसलाई पनि दिने हैसियत राख्छ। त्यसैले कसैको मत कुनै व्यक्ति वा दलका लागि बाध्यकारी हुनै सक्दैन। यस्तो अवस्थामा अन्तर्घात हुन्छ नै कसरी?

यहाँको सन्दर्भमा एउटा दलमा लागेको व्यक्तिले त्यो दललाई नदिएर अर्कोलाई मत दियो भने त्यसलाई अन्तर्घात भन्ने गरिएको छ। पहिलो कुरो, माथि भनिएझैँ गोप्य मतदान भनिसकेपछि थाहा हुनेगरी यही दल वा व्यक्तिलाई मत दिनुपर्छ या दिइन्छ भन्ने सोचाइ नै गलत हो। दोस्रो कुरा, कुनै व्यक्ति कुनै दलसँग नजिक छु भनिदिएकै भरमा, प्रचारका बेला हिँडिदिएकै भरमा, कसैलाई हुन्छ भनिदिएकै भरमा, हात मिलाइदिएकै आधारमा अनि करमा परेर घरमा झण्डा झुण्ड्याइदिएकै भरमा त्यसैलाई मत दिनुपर्छ भन्ने छ? तेस्रो कुरा, आफूलाई दिन्छु भनेको तर नदिएको भनेर थाहा पाउने सूत्र के हो? चौथो, आफूलाई दिए सही अरुलाई दिँदासाथ अन्तर्घात हुने सिद्धान्त कहाँबाट आयो? यी यस्ता प्रश्न हुन् जसलाई घोत्लिएर मनन गरे भने अन्तर्घातको अरण्यरोदनले ग्रस्त महानुभावहरूको धेरै बिमारी आफैँ निको हुन्छ।

कङ्ग्रेसको मामला

हुन त हार्ने जति सबैले क्षणिक चित्त बुझाउनै किन नहोस् यही शब्दको सहारा लिने गरेका छन्। यतिबेला पहिलोबाट दोस्रो शक्तिमा झरेकाले वा पहिलेको तुलनामा बढी हारेकाले नेपाली कङ्ग्रेसमा यो शब्दले बढी साम्राज्य जमाएको छ। जुन स्वाभाविक पनि हो। चुनावबारे कुरा गर्दा यतिबेला यो दलका कुनै पनि नेता/कार्यकर्ताको मुखबाट पचासौं पटक निस्कने शब्द पनि बनेको छ अन्तर्घात। मानौँ, यो शब्दको व्यापक प्रयोगबिना चुनावी गफ/समीक्षा नै अधुरो हुनेछ।

बुटवलमा प्रमुख प्रतिपक्षीविरुद्ध सत्तासाझेदार माओवादी केन्द्र र स्थानीय स्तरमा प्रभुत्व भएका ठानिएका अन्य दलसँगसमेत गठबन्धन गर्‍यो कङ्ग्रेसले। अर्घाखाँची, गुल्मी, धनकुटा, भोजपुरलगायत थुप्रै जिल्लामा मिलेसम्म प्रतिपक्षीविरुद्ध यसैगरी गठबन्धन गर्‍यो। तर पनि धेरै ठाउँमा हार बेहोर्न ऊ बाध्य भयो। जब सत्ताबाहिर रहेको एउटा दलका विरुद्ध मुख्य मुख्य दलबीच नै गठबन्धन गर्नुपर्ने अवस्था आयो, त्यसको कारण नै कङ्ग्रेस कमजोर छ, हारका लागि तयार छ भन्ने हुँदैनथ्यो र? अनि हार निश्चित भएको स्वीकारिसकेको अवस्थामा अहिले आएर 'अन्तर्घातले हारियो' भनेर डङ्का पिटाउँदै हिँड्नु, कार्यकर्तालाई कारबाहीको धम्की दिनु कतिसम्म न्यायोचित र सुझबुझपूर्ण कदम हो?

दिमाग भुटुवाहरूको बिगबिगी

कङ्ग्रेसका कुनै नेता/बुद्धिजीवी/लेखक छैनन्, जसले नेपाली कङ्ग्रेसले प्रधान न्यायाधीशमाथि गम्भीर अपराध गर्न खोज्यो र यसको सजायस्वरूप जनताले उसलाई पत्याएनन् भनिदिने। न्यायालय, सुरक्षा निकाय तथा संवैधानिक निकायहरूलाई ध्वस्त तुल्याउने र धमिलो पानीमा माछा मार्ने माओवादीको चाहनालाई सफलीभूत पार्न सारथिको भूमिका कङ्ग्रेसले खेल्नुहुन्नथ्यो भनेर कसैले भनिदिँदैन। अनि २ वर्षीय बालकको हत्यामा संलग्नका मुद्दा फिर्ता लिनु उचित थिएन भनेर पनि कसैले भन्नु आवश्यक ठान्दैन। जबसम्म बादशाह नाङ्गो भएको निडरतासाथ भनिदिने 'लेखक/बुद्धिजीवी' को खडेरी कङ्ग्रेसमा रहिरहन्छ तबसम्म उसका लागि आगामी थुप्रै हारहरूमा पनि 'अन्तर्घात' बाहेक चित्त बुझाउने कुनै शब्द उपलब्ध हुने छैन।

काठमाडौंमा साझा र विवेकशील नामधारी दुई दलले राम्रै मत पाए। यसलाई समेत कङ्ग्रेसका स्वघोषित बुद्धिजीवीले भनिदिए कि 'कङ्ग्रेसको मत क्रस भयो, कङ्ग्रेसका असन्तुष्टले उनीहरूलाई दिए।' यी दुई दलले ल्याएका मत कङ्ग्रेसकै मतदाताले हालेका भन्ने प्रमाण के हो? कसैले आफूलाई मन परेको उम्मेदवारलाई दिएको मत कसरी काटिन्छ? हैन भने कङ्ग्रेसको मत यी दुई दलका उम्मेदवारले काटे भन्न पाइन्छ? उनीहरूलाई मत ल्याउने अधिकार छैन? तर यहाँका बुद्धिजीवीहरू यस्तै वाहियात कुतर्क गरेर आफ्नै गलत नीति र व्यवहारका कारण क्रमशः ओरालो लागिरहेको कङ्ग्रेसलाई सान्त्वना दिन ब्यस्त छन्। धन्न यी दुई दलले उनीहरूका यस्ता बकम्फुसे भनाइको प्रतिवाद गर्नसमेत आवश्यक देखेका छैनन्।

तराईका सम्पूर्ण अर्थात २२ वटै जिल्लाको एउटै प्रदेश हुनुपर्छ भन्ने केही मधेसी नेता अहिले ८ वटामा खुम्चन बाध्य भएका छन्। संविधान पुनर्लेखन गर्नुपर्छ भन्नेहरू चुनावमा हर्षोल्लाससाथ सहभागी बनेका छन्। मागहरू प्रत्येक दिन पुडि्कँदै छन्। यो भनेको मधेसका नाममा आन्दोलन गर्नेहरूमा देखिएको विगतप्रतिको पश्चाताप हो। तर जसले उठान गरे उसैले बाटो गलत रहेछ भनी सच्याउँदासमेत कङ्ग्रेस भने उनीहरूलाई नै उचाल्न उद्यत छ अझै। विचरा बुद्धिजीवी/लेखक, कङ्ग्रेसलाई मधेसी नेताहरूको यो 'यु टर्न' समेत जानकारी गराउने हिम्मत राख्दैनन्। अनि कसरी र केका आधारमा अन्तर्घात शब्द छाड्न सकोस् उसले?

नसुध्रिने मेलो

जब विपक्षीलाई कमजोर ठानेर युद्धमा हाम्फालिन्छ, निश्चित छ– युद्ध हारियो। यो सामान्य नियम पनि पालना नगर्दा यतिबेला कङ्ग्रेस तीव्रतम ओरालोको गतिमा छ। यो दलका नेता भन्दैछन्– प्रतिपक्षी बलियो भएर हैन, हाम्रै आन्तरिक कारण चुनाव हारिएको हो। हुन त प्रतिपक्षलाई बुझ्न नसक्नु र उसको शक्ति आकलन गर्न नसक्नु पनि उसकै आन्तरिक कारण हो तर यही कुरा खुलेर भन्न भने यो दलका नेतालाई लाज लागिरहेको देखिन्छ। र त घुमाएर भनिरहेका छन्।

समस्याको चुरोमा नपुग्ने, पुग्न नखोज्ने र पुगेर पनि स्वीकार्न गाह्रो हुने अवस्थाले अन्ततोगत्वा सत्यलाई छायाँमा पार्छ। यतिबेला माथि उल्लिखित कारणहरूलाई बेवास्ता गर्नु र हुँदै नभएको तथा हुनै नसक्ने 'अन्तर्घात' जस्तो शब्दको सहारामा उत्रन खोज्नु वास्तविकतालाई सोझै नजरअन्दाज गर्नु हो। अनि यसको पनि सोझो अर्थ हो कि नेपाली कङ्ग्रेस आफूले गरेका गल्ती स्वीकार्न चाहन्न न त आगामी दिनमा सुध्रनुपर्ने आवश्यकता नै देख्छ। उसले यस्तो आवश्यकता नदेख्नुको मुख्य कारण हो– हजुरबाले, बाले हुँदै छोराले समेत दिने मतप्रतिको विश्वस्तता। तर उसले यो पारम्पारिक मत पुस्तान्तरसँगै खिइँदै गएको पत्तो भने अझै पाइनसकेको अनुमान हुन्छ, उसकै रवैया हर्दा।

समग्रमा भन्ने हो भने यतिबेला सत्तामात्र सबैथोक हो भन्ने एकसूत्रीय लक्ष्य/गन्तव्यका कारण नेपाली कङ्ग्रेस निरन्तर गिर्दो यात्रामा छ। यस्तो अवस्थामा आफ्ना कमजोरी औल्याउने, दलले लिएका नीतिमाथि समीक्षा गर्ने र सच्याउने वाचा गर्दै अघि बढ्नुपर्नेमा उसमा यो इच्छाशक्ति एक प्रतिशत पनि देखिएन। यस्ता कुरालाई पाखा लगाउँदै उसले अहिलेको समस्याको सम्पूर्ण दोष थोपरेको 'अन्तर्घात' ले मनको लड्डुको काम त गर्ला तर डुब्नबाट बचाउने हैसियत भने राख्ने छैन।

प्रकाशित: २६ असार २०७४ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App