"

थ्यांक यु डियर कलिग्स!

शुक्रबार, २३ असार २०७४, ०९ : ५६ डा.सरोज धिताल


बर्खायाम हरेक वर्ष आउँछ। अलिकति आशा र अलिकति निराशा बोकेर आउँछ। केही खुसी र केही दुःख छाडेर जान्छ। यो देशका नागरिकलाई बर्खाले आशा ल्याए पनि, निराशा ल्याए पनि दुवैको मूल्य भने बेस्सरी तिराएरै जान्छ। तराईमा बाढी र पहाडमा पहिरो नगएको कुनै साल हुँदैन। र, यो बाढी/पहिरोसँगै मानव जीवन, सम्पत्ति, आशा, सपना आदि धेरै कुरा नाश हुन्छ, निराशाको, आपसी द्वेषको, असन्तुष्टि र आक्रोशको, नागरिक र राष्ट्रिय असुरक्षा वृद्धि हुन्छ। वर्षौंदेखि लगातार दोहोरिइरहेको यो क्रमबारे सबैलाई थाहा छ तर आउँदो वर्ष यसो हुन दिँदैनौं भनेर तयारी भने हामीले कहिल्यै गरेनौं, गर्नै सकेनौं।

अनगिन्ती अप्ठ्याराबीच पनि हाम्रो देशका असल डाक्टर, खासगरी कान्छो पुस्ताका राम्रा डाक्टर, जसरी करुणाको बाटोमा हिँडिरहेका छन्, तिनलाई बारम्बार नमन गर्न मन लाग्छ, अँगालो मार्न मन लाग्छ।

तर यो ओसिलो अन्धकारमा पनि उज्यालाका बीउ जिउँदा छन्। झम्झम् पानी परिरहेकै बेला पनि, बाटोमा जताततै तातो रगतको खोजीमा स्याउँस्याउँ गरिरहेका जुकाको जुलुसलाई वास्ता नगरी, चिप्लो बाटोसँग जिस्किंँदै, भर्खरै पहिरो गएको पहाडको आलो घाउलाई पैतालाले छाम्दै केही रहर लाग्दा असल युवा डाक्टरहरू लेकतिर चढेका छन्। र, स्वास्थ्य सेवाको नयाँ नमुना बनाएर देखाउँछौं भनी लागेका छन्। बाढीले घर डुबेका मधेसका आफन्तका निम्ति 'लौ न के गर्ने होला, के गर्न सकिएला' भन्दै विभिन्न ठाउँमा छरिएका युवा डाक्टरहरू छट्पटिइरहेका छन् र डुबानमा परेका ती ठाउँको वास्तविक आवश्यकताबारे सोधपुछ गरिरहेका छन्। तिनका फेसबुक मेसेन्जर, भाइबरलगायत साइबर स्पेसका ससाना निजी कक्ष केही दिनयता यस्तै करुणाका अभिव्यक्तिले भरिएका छन्। मायालाग्दा र भरपर्दा छन् यी ठिटाठिटी जसलाई देखेर साठी कटेका हामी जस्तालाई सन्तोष लाग्छ, आशा जाग्छ, नेपालको स्वास्थ्य सेवाको भविष्यप्रति ढुक्क हुन मन लाग्छ।

तर उज्यालाका यी बीउले झेलिरहेको कठिनाइ देख्दा भने मन कुँडिन्छ। बाजे पुस्ताले, बाबु पुस्ताले र आफ्नै पुस्ताका केही खराब सहकर्मीले गरेका गल्तीको समेत मूल्य तन्नेरी पुस्ताका यी असल डाक्टरले तिर्नुपर्ने स्थिति यथावत् छ– अघिल्ला पुस्ताका हाम्रा पालामा जस्तै। खाँदै नखाएको विषसमेत लाग्ने गरेको छ यिनलाई पनि। सेवाग्राहीको अस्वाभाविक अपेक्षाको भारी बोक्नुपर्नेदेखि लिएर समाज विरोधी परपीडक मनस्थिति बोकेका कुतत्वहरूको पैशाचिक आक्रोशको निशाना बन्नेसम्म यिनीहरू नै हुने गर्छन्। राज्य सञ्चालनमा रहेका विभिन्न त्रुटि, ढीलासुस्ती, भ्रष्टाचार आदिका कारण पनि प्रताडित हुनुपर्ने भने यिनै असल नागरिक हुन्छन्। 

यो वा त्यो अस्पतालमा कुनै बिरामी मर्‍यो भने, उपचारपछि भनेजस्तो परिणाम प्राप्त भएन भने, कुनै जटिलता आयो भने वा उपचारका क्रममा कुनै दुर्घटना भयो भने, दायाँ/बायाँ नहेरी, सत्यतथ्य र वैज्ञानिक कारण नखोजी अचानक उम्रेको भीडले डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई गालीगलौज र बेइज्जति गर्नेमात्रै हैन तोडफोड र कुटपिट नै गर्न थाल्छन्। र, ती घटनासंँगै 'डाक्टर भनेका खराबै हुन्, औंलामा गन्न सकिने केही असल डाक्टर त अपवादमात्रै हुन्' भन्ने आशयका प्रचार सञ्चारमाध्यमले नै गरिरहेका छन्।

डाक्टरप्रतिको यो पूर्वाग्रह र असहिष्णुताको कारण के हो? यो किन रोकिँदैन? डाक्टरहरूबाट हुनसक्ने गल्ती कस्ता/कस्ता प्रकृतिका हुन्छन्? कस्ता गल्तीलाई दुर्नियतसँग जोड्न मिल्छ र कस्तालाई असफल प्रयत्न मान्नुपर्छ? चिकित्सकीय जटिलता र दुर्घटना भनेका के हुन्? केलाई अक्षम्य आपराधिक चरित्रका मान्ने? विभिन्न अवाञ्छित परिणामका कारण के/के हुन सक्छन् र चिकित्सकीय गल्तीकै पनि कारण के के हुन सक्छन्? तिनलाई कसरी घटाउने? यी विषयमा हामीकहाँ अझै पनि गम्भीर विचारविमर्श हुन सकेको छैन।

हालसालै राजधानीको एउटा अस्पतालमा मिर्गाैलाको शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्रावका कारण मिर्गाैला नै निकाल्नुपरेको कुरालाई जसरी जिम्मेवार र लोकप्रिय सञ्चारमाध्यमले बिनाखोजखबर प्रकाशित गर्‍यो र सामाजिक सञ्जालका 'हुँडार' हरूलाई छाडा हुने मौका दिइयो, त्यो छाडापन जसरी चुनावी नतिजाको साटो फेर्ने तहसम्मको अस्वस्थतामा प्रकट हुन थाल्यो, त्यो हेर्दा यो देशमा स्वास्थ्य पत्रकारिताको जन्म अझै नभएको छर्लङ्ग हुन्छ।

जनताका मनमा एकथरी हैन, असंख्य असन्तुष्टि छन्। ती भएभरका असन्तुष्टिका समाधान नहुँदा निकासका रूपमा तिनले जहिले पनि कि त कुनै न कुनै किसिमको हिंसाको ढोका खोजिरहेका हुन्छन् कि भने षड्यन्त्रको। त्यसैबाट अन्धो दण्डप्रियताको जन्म हुन्छ। र, अन्धो दण्डप्रियता तानाशाही वा अतिवादका निम्ति ऊर्वरा भूमि हुन्छ। यो कहिल्यै लोकतान्त्रिक संस्कारको अंग हुन सक्दैन। यसले शक्तिकेन्›हरूबाट संरक्षित मानिसहरूका निम्ति बरु दण्डहीनताको बाटो खोलिदिन्छ। उहिलेका जिम्मवाल जमिन्दारका तानाशाहीदेखि लिएर, राजतन्त्र अनि अनेकथरी अतिवादका स्थानीय र क्षेत्रिय तानाशाहीसम्म हामीले भोगिसकेका छैनौं र? ती सबैमा कुनै न कुनै रूपमा घृणाजन्य अन्धो दण्डप्रियताको भूमिका थिएन र? अब यति सामान्य सत्य बु‰न पनि फेरि अर्को तानाशाही चाहिन्छ हामीलाई?

राज्यका कमजोरी लुकाउन जनतालाई दोष लगाएर हुँदैन। घृणाको खेती गर्न थालेपछि जहाँ पनि त्यसको विषालु झार ‰यांगिन्छ। जुनसुकै ठाउँबाट थालियोस् घृणाको खेती त्यसले सीमा नाघेर सामाजिक जीवनको हरेक आयामलाई विषाक्त बनाउँछ। सञ्चारमाध्यमले यसबारे गम्भीर हुने बेला भयो अब। र, त्यो गम्भीर हुनु भनेको साँच्चैको र सार्थक स्वास्थ्य पत्रकारिता सुरुवात गर्नु हो। मेडिकल कलेजहरूसँग वा प्राज्ञिक वातावरण भएका इच्छुक अस्पताललगायतका स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा कम्तीमा तीन वर्षको पाठ्यक्रम भएको स्वास्थ्य पत्रकारिताको आवश्यकता उहिल्यै भइसकेको हो। अब यसमा ढिलाइ गर्नुहुँदैन।  

चिकित्सा शिक्षामा के/कस्ता कमजोरी विद्यमान छन्? चिकित्सा शिक्षाको व्यापारीकरणसँग जोडिएर आउने प्रश्नमा चर्को शुल्कका रूपमा मेडिकल कलेजका विद्यार्थीका परिवारले गर्ने लगानी त पर्छ नै, त्योभन्दा पनि पर अरु प्रश्न छन् कि छैनन्? स्वास्थ्य उद्योग र स्वास्थ्य सेवाबीच फरक हुन्छ कि हुँदैन? शिक्षण विधि, परीक्षाका तरिका, पाठ्यक्रममा मानविकी राख्नु वा नराख्नुको प्रभाव, 'रोल मोडल' को भूमिका जस्ता अनेक विषयमा प्रवेश गर्न बाँकी छ अझै। मानव शरीर संरचना, शरीर विज्ञान जस्ता आधारभूत विषयको पटक्कै जानकारी नभएका, शल्यक्रियाका क्रममा झेल्नुपर्ने चुनौतीबारे, चिकित्साविज्ञानका सीमाबारे, विश्वमै नयाँ प्रकट भइरहेका चुनौतीबारे केही नबुझेका वा बु‰ने चाहनै नराख्ने मानिसले कुनै सर्कसको समाचार छापेजस्तो वा कुनै सेलिब्रिटीको भित्री लुगाबारे लेखेजस्तो 'सनसनीखेज' मसलादार समाचार लेखेर हुन्छ स्वास्थ्य पत्रकारिता? यति महत्वपूर्ण विधाको विकासलाई अनावश्यक समय र स्रोतको खर्च भनेर बेवास्ता गर्नु ठूलो गल्ती हुन्छ। सञ्चार क्षेत्रका जिम्मेवार सरोकारवालाहरूले यथाशक्य छिटो र यथाशक्य प्रभावकारी ढङ्गले, चिकित्सकलगायत स्वास्थ्य क्षेत्रका कर्तासँग अन्तरक्रियाको सुरुवात गरिहाल्दा यो देशकै भलो हुनेछ।

राज्यको तहमा अझै पनि स्वास्थ्यबारे प्रशस्त अस्पष्टता छ। बेलाबेलामा मन्त्रालय तहकै छलफलमा जिम्मेवार ओहदामा भएका मानिस भन्छन्– स्वास्थ्य भनेको सेवा हो, व्यापार हैन। र, उनीहरू भन्छन्– जनताको मौलिक अधिकार हो स्वास्थ्य अधिकार। तर एउटै चीज मौलिक अधिकार पनि, विनिमयको वस्तु (कमोडिटी) पनि हुन सक्छ कि सक्दैन भन्ने विषयमा पटक्कै स्पष्टता छैन। स्वास्थ्य अधिकार मौलिक अधिकार हो भनेपछि राज्यले कति दायित्व लिनुपर्छ भन्ने कुरामा वाञ्छित गम्भीरता अझै देखिन थालेको छैन। राज्यबाहेकका तीन (राज्येतर) कर्ताहरू– नाफामूलक निजी क्षेत्र, सहकारी क्षेत्र र गैरनाफामुखी गैरसरकारी क्षेत्रको स्वास्थ्य सेवामा कस्तो भूमिका हुनुपर्ने हो, तीबाट राज्यले र नागरिकले कस्तो अपेक्षा राख्ने भन्नेबारे पटक्कै स्पष्टता छैन र राज्यका अंगमा यसबारे चिन्तनको आवश्यकता बोधसम्म पनि भएको छैन।

यी सबै अस्पष्टताको सबभन्दा मूल्य चुकाउनुपर्ने भइरहेको छ कान्छो पुस्ताका डाक्टरहरूले। योबाहेक एकातिर अस्वाभाविक सामाजिक अपेक्षा, अर्कोतिर इर्ष्याको मार पनि उनीहरूकै भागमा परेको छ। जीवन र मृत्युको पातलो सीमा रेखामा रहेर काम गर्नुपर्ने उनीहरूको जीवन सधैं तरवारको धारमा हिँडेजस्तो हुन्छ। यो संवेदनशीलताले ल्याउने चुनौती अझ अर्कै छँदैछ। अनेक आपराधिक समूह कतिबेला कुन अस्पतालमा कुनै बिरामी मर्छ र ढुंगा हान्न जाउँ भनेर ढुकिरहेको प्रतीत हुन्छ।

यी अनगिन्ती अप्ठ्याराबीच पनि हाम्रो देशका असल डाक्टर, खासगरी कान्छो पुस्ताका राम्रा डाक्टर, जसरी करुणाको बाटोमा हिँडिरहेका छन्, तिनलाई बारम्बार नमन गर्न मन लाग्छ, अंगालो मार्न मन लाग्छ।

थ्याङ्क्यु, डियर कलिग्स! थ्याङ्क्यू!







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...