७ वैशाख २०८१ शुक्रबार
समाज

पीडित सास्तीमै, राहत रकम फ्रिज

सुर्खेत- तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे। उनी अहिले जग्गाको खोजीमा छन्। जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउँछन्।

'५० हजारको जग्गा खोज्न थालेको एक साता हुन थाल्यो, अहिलेसम्म पाएको छैन', खत्रीले भने, 'कार्यालयले चाँडो जग्गा किनेर लालपुर्जा ल्याउनु भनिरहेको छ।' सरकारले गत चैतमा सुर्खेतसहित बर्दिया, बाँके, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडित सरह राहत वितरण गर्ने निर्णय गरेकोमा पीडितका लागि पैसा भने जेठको दोस्रो साता पठाएको थियो।

सुर्खेतका नौ सय ७० बाढीपीडितका लागि १० करोड २३ लाख ५० हजार रुपैयाँ आएको छ। आर्थिक वर्ष सकिनै लाग्दा आएको यो बजेट पीडितसम्म नपुगेर फ्रिज हुने अवस्थामा छ। 'बजेट ढिलो आयो, बाढीपीडितले जग्गा खरिद गर्न सकेका छैनन्', लेखा अधिकृत परशुराम पराजुलीले भने, '१० करोड २३ लाखमध्ये सात करोड रुपैयाँ फ्रिज हुने देखिन्छ।'

कार्यविधिमा जग्गा खरिदका लागि ५० हजार र घर बनाउन तीन लाख रुपैयाँ दिने उल्लेख छ। घर बनाउन दिने भनिएको तीन लाख तीन किस्तामा वितरण गर्ने गरिएको छ। 'जग्गा खरिद गरेर लालपुर्जा दिएपछि ५० हजार, घरको जग हालेपछि एक लाख २५ हजार र बाँकी घर निर्माण सम्पन्न भएपछि वितरण गर्नुपर्छ', पराजुलीले भने, 'अधिकांशले जग्गा किनिनसकेकाले बजेट फ्रिज हुन लागेको हो।' जग्गा खरिदका लागि ५० हजार रुपैयाँ लिएकाले पनि एक सातामा घर बनाउन सक्ने अवस्था छैन।

नौ सय ७० बाढीपीडितमध्ये सात सय १७ पूर्ण क्षति र दुई सय ५५ आंशिक क्षति भोगेका छन्। पूर्ण क्षति हुनेलाई जग्गा खरिद र घर बनाउन तीन लाख ५० हजार र आंशिक क्षति हुनेलाई घर बनाउन तीन लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको थियो। बुधबारसम्म पाँच सय १२ जनालाई रकम दिइएको छ। तीमध्ये एक सय ७७ जनालाई जग्गा खरिद र तीन सय ३४ जनालाई घर बनाउन पहिलो किस्ताको रकम वितरण गरिएको छ। 'बुधबारसम्म दुई करोड ५५ लाख ५० हजार रुपैयाँमात्रै वितरण गर्न सकेका छौं', पराजुलीले भने, 'अब बढीमा ५० लाखसम्म वितरण गर्न सकिने अवस्था छ।'

जग्गा खरिदका लागि ५० हजार रुपैयाँ बुझेका एक सय ७७ परिवारमध्ये अधिकांशले जग्गा पाएका छैनन्। 'यस्तो महँगीमा ५० हजारमा कहाँबाट जग्गा पाइन्छ?' बाढीपीडित बलबहादुर थापाले भने, 'हाम्रो नाममा आएको रकम वितरण नभएरै फिर्ता जाने भयो।'

तीन वर्षअघि विस्थापित भएका केही पीडितले घर निर्माण गरिसकेका छन्। बाढीपीडितका लागि बनाइएको कार्यविधिमा भूकम्प प्रतिरोधीघरलाई मात्रै रकम दिने उल्लेख छ। 'बाढीपीडितले बनाएका घर भूकम्प प्रतिरोधी छैनन्', लेखापाल पराजुलीले भने, 'घर बनाएर बसेकालाई पनि रकम दिन सक्ने अवस्थामा छैनौं।'

प्रकाशित: २२ असार २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App