coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

भक्तपुर – चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले विगत नौ महिनादेखि २०० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । 

ताथलीको वासुकी मुहानबाट ल्याइएको खानेपानी फैढोका पण्डित टोलमा निर्माण भएको आठ घनमिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण हुँदै आएको थियो तर ट्याङ्कीकै आसपास माटो उत्खनन्का कारण ट्याङ्की भत्किने अवस्थामा पुगेकाले पानी वितरणमा समस्या भएको हो । 

स्थानीय पण्डित टोलका बासिन्दाले माटो उत्खनन्सँगै खानेपानीको पाइपसमेत काटिदिएपछि पानीको हाहाकार भएको बताएका छन् । स्थानीय मदन पण्डितले मुहानबाटै पानी नआएको र ट्याङ्कीमा पानी जम्मा नहुँदा यहाँका २०० भन्दा बढी घरपरिवारले नौ महिनादेखि खानेपानीबाट वञ्चित हुनुपरेको बताए। 

स्थानीयवासीले करिब सात किलोमिटर टाढा वासुकी मुहानबाट ल्याएको पानी माटो तस्करीका कारण अहिले प्रयोग गर्न नपाएको यहाँका बासिन्दाको गुनासो छ । 

स्थानीय फैढोका बस्ने माया बुढाथोकीले खानेपानीबाट वञ्चित हुनुपर्दा कुवा र इनारको भर पर्नुपरेको बताए । उनका अनुसार फैढोका खानेपानी उपभोक्ता समितिले बेवास्ताका कारण पनि पानी खान नपाएको बताए। 

स्थानीय केदार बुढाथोकी, भुवन बुढाथोकी, रामचन्द्र खत्रीलगायतका जग्गा धनीले विगत नौ महिनादेखि अवैध रुपमा माटो उत्खनन् गरेर इँटाभट्टा बिक्री गरेपछि खानेपानी ट्याङ्की धरापमा परेको स्थानीयवासीको भनाइ छ । 

माटो उत्खनन् गर्दा टापुमा रहेको पानी ट्याङ्की मात्रै बाँकी रहेको र त्यहाँ पानी जम्मा गर्दा ट्याङ्की नै भत्किने अवस्थामा पुगेको र माटो उत्खनन् गर्दा पानीको पाइपसमेत काटिएको छ । जिल्ला विकास समितिले विगत दुई वर्षदेखि माटो, बालुवा लगायतका खानी उत्खनन् एवम् बिक्री वितरणमा रोक लगाए पनि आर्थिक प्रलोभनकै कारण जिविस, प्रहरी र प्रशासनको मिलेमतोमा नियमित रुपमा माटो उत्खनन् गरी इँट्टभट्टालाई बिक्री गर्दै आएको उनीहरुकोे आरोप छ । 

पण्डित टोल, फैढोका, लामिडाँडा र साखकर्मी टोलका बासिन्दा खानेपानी उपभोग गर्नबाट वञ्चित भएपछि पानी किनेर जीवन गुजारा गर्नुपरेको स्थानीयवासी रीता केसीले बताए। 

स्थानीयवासीले प्रहरी, प्रशासनलाई माटो उत्खनन् रोक्न र ट्याङ्कीको संरक्षण गरी खानेपानी वितरण गरिदिन पटक÷पटक अनुरोध गर्दा पनि माटो उत्खनन् गर्ने गिरोहसँग मिलेकाले कुनै कारबाही नगरेको र माटो उत्खनन्का कारण खिम्ति जलविद्युत् आयोजनाको प्रशारणलाइन समेत धरापमा पर्दा पनि प्रहरी प्रशासनले बेवास्ता स्थानीय बासीको भनाइ छ । 

माटो उत्खनन् एवम् बिक्री गर्नेमध्येका भुवन बुढाथोकीले माटो उत्खनन् गर्दा भएको पानीको समस्यालाई वैकल्पिक व्यवस्था गरेर पानी वितरण गर्ने तयारी गरेको बताए । 

उनले मुहानबाटै पानी नआएको र खानेपानी उपभोक्ता समितिले बेवास्ता गर्दा पानीको समस्या भएको दाबी गरे। रमेश गिरी /रासस 

प्रकाशित: २१ असार २०७४ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App