coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सकरपुरा र भेडियाका ८० घर फेरि डुबानमा

राजविराज – शनिबार आएको बाढीले अझै सप्तरीको दर्जन बढी बाढी प्रभावि बस्तीहरुको जनजिवन सामान्य हुन सकेको छैन । विचल्लीमै रहेका बाढी पीडितहरू मंगलवार देखि पुनः प्रारम्भ भएको बर्षाले बाढीको त्रासका बीच झन् पीडा भोग्न बाध्य भएका छन् । 

शनिबार आएको बाढीका कारण सप्तरीको रायपुर स्थित पौवां टोल, राजविराज नगरपालिकाको मलेठ, जोलहरी लगायतका गाउँलेहरु यति खेरै निकै पीडामा परेका छन् । ‘बाढी आउँछ भनेर हामिले सोचेका पनि थिएनौ, दशकौ देखि गाउँमा बाढी नआएका कारण त्यसतर्फ ध्यान नपर्नुपनि स्वाभाविकै हो’, मलेठकी ललिता मण्डलले भनिन्, ‘घरमा भएजतिको चामल, धान, गहुँ सहितका खाद्यानहरु पानीमा भिजेर नष्ट हुन पुगेको छ, चुल्हो समेत बाल्न सकिने अवस्था छैन ।’

कञ्चनरुप नगरपालिकाको रघुनाथपुर, तिरहुत गाउँपालिकाको त्रिकौल, मैनाकडेरी तथा तिलाठी गाउँ पालिकाको तिलाठी, बेल्ही, सरकारपुरा र राजविराज नगरपालिकाको मलेठ बाढीले सबभन्दा बढी प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मलेठका ६ परिवारको घर क्षतिग्रस्त भएको छ । 

कञ्चनरुप नगरपालिका–८ रघुनाथपुरका ३ परिवारको ८ घर सुन्दरी खोलाको बाढीले कटान गरेका छन् । स्थानिय नवल यादव, घनश्याम यादव, राजकुरमा यादव र देवु यादवको २/२ वटा घर बाढीले कटान गरी बगाएको जिल्ला समन्वय समिति सप्तरी अन्तर्गत विपद् कार्यक्रमका संयोजक राजेश झाले जानकारी गराए । उनले भने, ‘घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ, पिडितहरु छिमेकिको घरमा शरण लिएर वस्न बाध्य छन् ।’ 

यता तिरहुत गाउँपालिका–२(साबिकको लोहजारा–८)मा महुली नदिले ४ ठाउँमा बाँध कटान गरी गाउँमा बाढी पस्दा स्थानीय विरक्ष मुखिया, जिबछ मुखिया र लक्ष्मण रामको परिवार नै विस्थापित भएको छ । उक्त वस्तीका ४० परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित भएका छन् । 

यसका अतिरिक्त बाढीले सडक, कलभर्ट लगायतका भौतिक पुर्वाधार समेतमा नराम्ररी क्षति पुर्‍याएको जिल्ला समन्वय समितिका झाले जानकारी गराए । यता तिलाठी, सकरपुरा र बेल्हीमा अझै पूर्ण रुपमा बाढीको प्रभावबाट मुक्त हुन सकेको छैन । 

मंगलवार दिउँसो देखि प्रारम्भ भएको बर्षा तथा बाढीको पानी सकरपुरा, तिलाठी र भेडियोको तल्लो बस्तीमा पस्न थालेपछि स्थानियहरु निकै त्रासमा रहेको झाले बताए । ‘सकरपुरा र भेडियाका झण्डै ८० घर डुवानमा परिसेको छ’, झाले भने, ‘तिलाठी लगायत अन्य स्थानहरुको तथ्यांक जुटाउन हामी जनशक्ति परिचालित गरिसकेका छौ ।’ 
‘भत्किएका बाँध बनाउन सेना खटाइने’

यता बुधबार बिहानै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सप्तरीको मैना कडेरी, तोपा तथा लौनियाँ स्थित कटान भएको खाँडो तथा महुली नदिको बाँध बनाउन आजै बाट नेपाली सेनालाई खटाउने निर्णाय भएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराए । 

‘बाँध मर्मतका लागि जाली, बोरा लगायतका सामग्री जलउत्पन्न प्रकोप नियन्त्रण विभागले उपलब्ध गराउने छन्’, प्रजिअले भने, ‘सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।’ यसका अतिरिक्त राहत वितरण कार्यलाई एक द्वार प्रणालीबाट व्यवस्थापन गरिने, तथ्यांक संकलन कार्यलाई द्रुत गतिमा अगाडि बढाइने, बाढीका कारण उत्पन्न खानेपानी तथा सरसफाईको समस्या समाधानका लागि फिल्टर, ह्याण्ड पम्प लगायतका सामग्री युनिसेफवाट माग गरिने र विस्थापितहरुलाई राहत उद्धारका लागि विभिन्न दात्रिनिकायहरुसँग पहल गरिने प्रजिअ कटुवालले जानकारी गराए । 

प्रकाशित: २१ असार २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App