७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

कांग्रेसले राजपालाई बाहिर राखेकै हो: हृदयेश त्रिपाठी (अन्तर्वार्ता)

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता हृदयेश त्रिपाठी निरन्तर मधेस र मधेसी जनताको पक्षमा आवाज उठाउने नेता हुन् । पञ्चायतकालमा १३ वर्ष वामपन्थी आन्दोलनमा रहेका त्रिपाठी बहुदलीय व्यवस्थापछि गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा आबद्ध भएर स्थापित भए । तत्कालीन तमलोपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनी भन्दा निकै कनिष्ठहरू अहिले राजपाका अध्यक्ष भएपछि असहज महसुस गरिरहेको बताउँछन् । जारी निर्वाचनमा कांग्रेसले राजपालाई बाहिर राखेकामा आक्रोशित उनै त्रिपाठीसँग नागरिककर्मी प्रकाश तिमल्सिनाले गरेका कुराकानीः

राजपाको निर्वाचन बहिष्कार हुँदाहुँदै पनि जनताले उत्साहपूर्वक मतदान गरेका छन्, राजपाले जनमत नबुझेकै हो त ?

राजपाले सिद्धान्ततः निर्वाचन बहिष्कार गरेको हो । पार्टीलाई थाहा थियो कि हामीले बहिष्कार गर्दा चुनाव रोक्न सक्ने र बिथोल्न सक्ने अवस्था छैन । तर सत्य के हो भने चुनावको दिनमा पनि १ बजेसम्म मतदान गर्न गएनन तर आफूलाई मन नपरेको मान्छेले चुनाव जित्न लागेपछि केही स्थानमा हराउनका लागि जनताले मत हालेको देखियो ।

जस्तो अवस्था भए पनि राजपाको बहिष्कारको प्रभाव त कहीँ पनि देखिएन नि ?

यो समिक्षा गर्दैै जाउँला तर मेरै बुथमा १८ प्रतिशतमात्रै खसेको छ । मेरै गाउँपालिकामा मात्रै ३३ प्रतिशत मत खसेको छ । कुनै बुथमा २ वटामात्रै मत प¥यो, कुनैमा ६५ वटा मात्रै पनि परेका छन् । हामीले जे जसरी बहिष्कार अभियान अघि बढाउनुपथ्र्यो सकेनौँ, कारण– सरकारले वाचा पूरा नगरेर धोका दियो ।

यसरी धोका दिनेलाई नै घरीघरी प्रधानमन्त्रीमा किन निर्वाचित गराइरहनुहुन्छ त ?

हामीले प्रधानमन्त्रीका लागि चन्दा पुरस्कारमा भोट हालेका होइनौं, पहिला पनि ३ बँुदे सहमति गरेपछि भोट हालेका हौं, पछि पनि सहमति गरेर नै भोट हालेका हौं । गर्छु भनेको थियो, विश्वास लाग्यो । तर, दुर्भाग्यवस उनीहरू इमानदार निस्किएनन् ।

गुनासोमात्रै गरिरहने त अब पनि ?

अब राजपाका अगाडि कुनै विकल्प छैन यो सरकारप्रति व्यक्त समर्थन फिर्ता लिनेबाहेक ।

कहिले लिने ?

लाग्छ, ढिलो भइरहेको छ ।

सरकार एक्लैले गर्न सक्ने काम के छ र ?

यो सरकारले गर्न सक्ने काम पनि गरेन । त्यसैले यो सरकार विश्वासयोग्य छैन, बेइमान छ । जुन लिखित सहमति गरेको थियो, मौखिक सहमति गरेको थियो, त्यसमा अड्न सकेन ।

तपाईंले नै मत दिएका प्रचण्ड र देउवाले स्थानीय तहको चुनाव दुई चरणमा गराउनुभयो तर तपाईंहरूलाई भने अन्ततः ८ जिल्लामा सीमित पारिदिए, हैन त ?

यसमा दुईवटा कुरा छन्– मुख्य कुरा यो राज्यको बनावटसँग जोडिएको कुरा हो । जब राज्यको बनावट बदल्ने कुरा आउँछ, त्यतिबेला ओलीजी, प्रचण्डजी र शेरबहादुरजीबीच खासै भिन्नता आउँदैन, त्यो हामीले संविधान जारी गर्ने बेलामा नै देख्यौं । अर्को नारा आयो– राष्ट्रवादको । नेपाली समाज त्यो नाराबाट धेरै पिल्सियो, धेरै पीडित भयो र धेरै तानाशाहले राज्य पनि गरे । उल्टो के भइरहेको छ भने मधेसको समस्या मधेसको हो, देशको होइन भन्ने ढंगले नेताहरूले काम गरिरहेका छन् ।

राजपाको मागप्रति ओली त नकारात्मक नै मानिए, तर मधेसमैत्री भनिएका शेरबहादुर र प्रचण्डजीले पूरा गर्नुपर्ने हैन र ?

तीनैजनामा खासै फरक छैन । तीनै कुशल व्यवसायी हुन् । ओलीजी विज्ञापन गर्ने कित्तामा पर्नुहुन्छ अनि यी दुई चाहिँ विज्ञापनबेगरका व्वावसायी । तीनैको व्यवसायचाहिँ एउटै हो, भ्रममा नपरे हुन्छ ।

मधेसप्रति शेरबहादुर र प्रचण्ड पनि सकारात्मक छैनन् त्यसो भए ?

विल्कुल छैनन् ।

मधेस आन्दोलनभरि ओलीलाई मात्रै आक्रमण गरियो त ?

ओलीजीले अलि बढी बोल्नुभएकाले मधेसी जनताले उहाँलाई बढी मधेस विरोधी भनेका हुन् ।

मतलव ओलीको बोलीमा तीतो बढी भयो ?

ओलीजी हरेक चीजलाई हल्का पारामा लिइदिनुहुन्छ ।

संघीयता मैैले ल्याएको भनेर दाबी गर्ने प्रचण्डजी पनि पछिल्लो समय मधेस सवालमा अनुदार भएको निष्कर्ष हो तपाईंहरूको ?

कामले प्रमाणित नगरेपछि त्योबाहेक अर्को निष्कर्ष के हुन सक्छ ?

हुन त संघीयतामा जान प्रचण्डजीले आनाकानी गर्दा मधेस आन्दोलन गर्नुपरेको हो भनिन्छ, त्यो दिनको साक्षी त तपाईं पनि होइन र ?

प्रचण्डजीले पनि संघीयतामा जान नमानेपछि हामीले तीन बुँदे ‘नोट अफ डिसेन्ट’ लेख्यौं । प्रचण्डले समेत नमानेपछि मधेस आन्दोलनका लागि बाध्य भयो ।

अहिले समीक्षा गर्दा संघीयता मुलुकमा कसले भित्र्यायो त ?

संघीयता मधेस आन्दोलनले ल्याएको हो ।

अब तपाईंहरूको माग देउवा सरकारबाट पूरा होला त ?

बिल्कुल हुँदैन ।

कहिल्यै पूरा नहुने माग पनि राख्ने हो त ?

यो राजपाको मात्रै माग होइन, आदिवासी, जनजाति मधेसी, थारू सबैको माग हो । यो राज्यको संरचना बदल्ने कुरा हो । त्यसैले यो माग होइन, दाबी हो ।

तत्काल माग पूरा भएन भने प्रदेश नम्बर २ को चुनाव के हुन्छ ?

प्रदेश नम्बर २ को चुनाव कठिन त छ तर सरकारले चाहे भने हुन्छ । सत्यचाहिँ के हो भने सरकार चुनाव गराउन भन्दा संविधान कार्यान्वयन गराउन खोजिरहेको छ । यसमा कांग्रेस, एमाले र माओवादी मिलेका छन् भने विजय गच्छदार र उपेन्द्रजीको पार्टी टाँसिन पुगेका हुन् । उनीहरूको हैसियत कैफियतमात्रै हो ।

विजय गच्छदार, उपेन्द्र यादव, कांग्रेस, एमाले र माओवादीभित्रका मधेसी नेता चुनावमा जान हुने, राजपालाई मात्रै केको आपत्ति ?

संविधान संशोधनको मुद्दा र स्थानीय तहको संरचनाप्रति राजपाको फरक मतमात्रै छैन, त्यसलाई मान्यता पनि दिएका नै छैनाँै । पुनर्संरचना आयोगले पनि १३ जिल्लामा राय संकलन गर्न सकेनौं भनेर निर्णय गर्ने जिम्मा सरकारलाई छाडेर विवादित छ भनेको थियो । त्यसैकारण संरिक्षत क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्र बनाउन नसकेको हो ।

दुवै पक्षले विवादित भनेकाले मान्यता नदिइएको हो र ?

तराईमा ५१ प्रतिशत जनसंख्याको बसोबास छ तर स्थानीय तह ३२ प्रतिशतमात्रै छ । मेरै गाउँपालिकामा करिव ५० हजार जनसंख्या छ र मेरै जिल्लामा डाँडा काट्ने बित्तिकै ३३ हजारमा नगरपालिका बनाइएको छ। अनि कसरी चित्त बुझाउनु ? त्यसैलेनिर्वाचनमा भाग लिनु भनेको त्यो बनावटलाई मान्यता दिनु हो । हामी सिद्धान्तको लडाइँ लडिरहेका छौँ भनेको पनि यसै कारण हो ।

भनेपछि सिद्धान्ततः लडाइँका कारण चुनावमा भाग लिनुभएन ?

हो नै त्यही ।

मधेस आन्दोलनको नेतृत्व गर्ने उपेन्द्र यादव होस् वा कांग्रेस छाडेर मधेसका लागि राजनीति गर्ने विजय गच्छदारले भाग लिएपछि त चुनाव उसै वैधानिक भएन र ?

यो निर्वाचनमा संवैधानिक वैधानिकताको प्रश्न छैन । पञ्चायती संविधान पनि वैधानिक थियो, वैधानिकरूपले पञ्चायत गएको पनि होइन । ती सबै जनविद्रोह र जनआन्दोलनबाट गएका हुन् ।

निर्वाचनलाई उपयोग गर्न त सकिन्थ्यो नि, जसरी कांग्रेस र एमालेले पञ्चायतकालमा गरेका थिए...

मलाई लाग्छ, चुनावको उपयोग गरिएको छैन, उपभोग गरिएको छ ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधीले भनेजस्तै राजपासँग चुनावका लागि उम्मेदवार पनि छैन, जित्न सक्ने अवस्था पनि छैन भन्ने अवस्था नै हो ?

एकातिर राजपाले भएभरकालाई स्वतन्त्र उम्मेदवार उठाइदियो भन्ने अर्कोतिर उनीहरूसँग उम्मेदवार नै छैनन् भन्ने ? निधीको त्यो निष्कर्ष हो भने उहाँले कांग्रेस छिट्टै डुबाउनुहुन्छ भन्ने बुझे हुन्छ ।

उहाँ त कांग्रेसलाई झन् बलियो बनाउन लागिरहनुभएको छ । कसरी डुब्छ ?

गलत निष्कर्ष निकाल्न थाल्नुभयो भने डुबिहाल्छ नि । विचरा कांग्रेसले आफैँलाई बचाउन सुरु गरे हुन्छ ।

यसो भन्दैमा कांग्रेस कसरी डुब्छ ?

कांग्रेसबाट प्रतिनिधित्व गर्ने २ नम्बर प्रदेशका ३२ जना सांसद र ८ जना जिल्ला सभापतिले यथास्थितिमा चुनाव सम्भवः छैन भन्नुभएको थियो । कसलाई देखेर यसो भन्नुभएको थियो त ? तर निधीजी आँखा चिम्लिनुभएछ । ठीकै छ ।

यसरी चुनाव बहिष्कार गर्दै गएपछि राजपाको पकड क्षेत्र गुम्दै जाला नि ?

पकड क्षेत्र कतै कसैसँग हुन्न, त्यो लामो समयसम्म रहनु पनि हुन्न ।

राजपाको माग पूरा नगरी प्रदेश नम्बर २ मा चुनाव भएन भने स्थिति के हुन्छ ?

त्यसको निर्णय अध्यक्षमण्डलले अवश्य लिनेछ ।

राजपाको अध्यक्षमण्डलका शरदसिंह भण्डारी र महेन्द्र रायलगायतले चुनाव उपयोग गर्नुपर्छ भने तर अरु अध्यक्षले मानेनन् भन्ने हो ?

म त अध्यक्षमण्डलमा छैन तर पनि उहाँहरूले त्यस्तो भनेजस्तो लाग्दैन ।

चुनाव भएपछि के समीक्षा गरिरहनुभएको छ ?

मधेसमा चुनावको मुखमा अचानक कांग्रेस विरोधी सेन्टिमेन्ट देखा परेकाले पनि एमालेले जित्ने आधार बन्यो । क्षणिक र स्थानीय प्रतिक्रियाले पनि काम गरेको देखिन्छ ।

अध्यक्ष महन्थ ठाकुरले पहिला आक्रोश एमालेतिर थियो, अहिले कांग्रेसतिर स¥यो भन्नुभयो । स्थिति कोल्टे फेरेकै हो र ?

त्यो सही हो । जुन तरिका देउवा सरकारले ग¥यो, त्यो पुरै मधेस विरोधी छ, त्यो व्यवहारमा पनि देखियो। जस्तो कि महन्थ ठाकुर उपस्थित रहेको सभामा नै नग्न ढंगले आक्रामण गरियो । अश्रुग्यास हानियो ।

अश्रुग्यासले आक्रोश कांग्रेसतिर स¥यो ?

त्यो पनि एउटा कारण हो, मुख्यतः व्यवहारका कारण हो । उनीहरूको व्यवहारकै कारण एमालेको मत आएको देखेर कांग्रेस आफैँ आतंकित छन् ।

अझै पनि आतंकित छन् त ?

एकदम । त्यसैले अब पनि राजापाले चुनावमा भाग लिइदिएन भने कांग्रेस पहिलो पार्टी हुनेछ, नत्र हँुदैन भनेर दाउ कुरेर बसिरहेका छन् ।

भनेपछि नियोजितरूपमा नै राजपालाई चुनावबाहिर राखियो, राखिँदैछ ?

यो चरणमा पनि कांग्रेसले नियोजितरूपमा राजपालाई बाहिर राखेकै हो ।

भोट पकेट क्षेत्र एउटै भएकाले यसो गरिएको हो कि ?

यो सबैलाई थाहा छ । पहाडमा एमाले बलियो मात्रै होइन, निकै बलियो रहेछ भनेर देखिइसक्यो । कांग्रेसको आधारभूमि मधेस नै हो । कांग्रेसलाई जोगाइदिने मधेस नै भएकाले यस्तो स्थिति सिर्जना गरिएको हो । हिजो पनि त कृष्णप्रसाद भट्टराई पनि पहाडमा जित्न नसकेर पर्सा आउनुपरेको हो नि ।

भनेपछि कांग्रेसलाई एमालेभन्दा पनि राजपासँग बढी डर भयो हैन त ?

डरभन्दा पनि राजपा चुनावमा भाग नलिइदिए भाग बढ्थ्यो भन्ने मानसिकताले काम गर्‍यो ।

त्यसरी दाउ हानेर बसिरहने कांग्रेसलाई नै राजपाले बढी विश्वास गर्नुपर्नाको कारण के हो ?

कुरालाई विश्वास गर्ने हो । लिखितमलाई नै विश्वास गर्ने हो । निधारमा यो ठगै हो भनेर लेखिएको हुन्न । तर ठग सावित भए साथीहरू ।

उसो भए देउवा सरकारलाई दिएको समर्थन फिर्ता कहिले फिर्ता हुन्छ ?

चाँडै लिनुपर्छ । जनता यही कुरिरहेका छन् ।

समर्थन फिर्ता लिएपछि जाने कहाँ त ?

यो त पहिलो कदम हो, अरु त निर्णय हुँदै जान्छ नि ।

एमालेसँग सहकार्य हुँदैछ भन्ने खबर पनि आएका छन् नि ?

समर्थन फिर्ता लिने कुरा सुनेपछि एमालेलाई काउकुती लागेको हुनसक्छ ।त् योभन्दा बढी केही होइन ।

एमालेलाई निषेध नगरी सहमत गराउनतिर लागेको भए धेरै माग पूरा भइसक्थ्यो कि ?

यो समस्या हाम्रो होइन । संविधान संशोधन प्रस्ताव सरकारले ल्याएकाले पारित गराउन पनि ऊ नै लाग्नुपथ्र्यो ।

तैपनि, आफ्नो माग पूरा गराउने मुख्य भूमिका तपाईंहरूकै हुनुपर्ने हैन र ?

यहींनेर मूर्ख बनिरहेका छन् सबै । देश यहीं धोका खाँदैछ । प्र्रस्ताव सरकारको अनि पारित गर्न नसकी निर्लज्ज भएर फिर्ता लिने ? अनि सो प्रस्ताव मधेसीको भनेर प्रचार गर्ने ? यस्तो झुट ?

पास हुन नसकेपछि फिर्ता लिइदिनुहोस् भन्नुभयो रे नि त ?

यस्तो हामीले कहीँकतै भनेका छैनाँै । आन्दोलनबाट जोगिन प्रचण्ड सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लियो र बदनामचाहिँ हामीलाई गराउने काम भयो ।

तपाईंको निष्कर्ष, जसले ल्यायो उसैले राजपालाई बदनाम गराउँदै लग्यो ?

त्यही गराउँदैछ । प्रस्ताव सरकारको, बदनामचाहिँ राजपा हुने ? यस्तै गरिरहेको छ ।

एमालेलाई निषेध नगरी हार्दिकतापूर्वक कुराकानी ग¥यो भने संशोधन सजिलै पास हुन्थ्यो कि ?

नेताहरूसँग व्यक्तिगत सम्बन्ध सबैसँग राम्रो छ । तरराजनीतिमा अन्धराष्ट्रवादको टोपी लगाएर हिँडिरहेको छ, त्यो देशभक्त भने छैन ।

भनेपछि मुलुकलाई राष्ट्रवादीभन्दा देशभक्त समूह चाहिएको छ ?

एकदम ।

प्रसंग बदलौं, मधेस आवाज निरन्तर उठाउने तपाईंले नै राजपामा उचित जिम्मेवारी पाउनुभएन भन्ने छ नि ?

महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादव र शरदसिंह भण्डारीबाहेक सबै मभन्दा कनिष्ठ नेता हुन् । राजेन्द्र महतो र महेन्द्र राय त मेरो सहायक नै थिए, अनिल झा मेरा विद्यार्थी हुन् ।

त्यसैले हो महन्थजीले पनि पार्टीभित्र तपाईंको उचित व्यवस्थापनको आवाज उठाएको ?

मेरो काम थियो– जुटाइदिने । भाग खोज्ने काम पनि थिएन । अध्यक्षमण्डलका नेताहरू कतिपय काममा अनिर्णयको बन्दी बन्नुभएको छ । जुन जोश र ऊर्जाका साथ एकीकरण गरियो, त्यो जोश र ऊर्जा एकीकरणपछि कायम हुन सकेन ।

कनिष्ठलाई नेता मान्नुपर्दा असहज लाग्छ ?

निश्चितरूपमा ।

राजपामा कसरी तपार्इँको व्यवस्थापन हुन सक्छ त ?

उहाँहरूको त्रुटि सच्चाएर गुरु भएर काम गर्छु अब ।

त्रिपाठीजी पार्टी छाड्दै हुनुहुन्छ भन्ने हल्ला पनि आए नि यसबीच ?

त्यस्तो मनस्थिति बनिसकेको छैन ।

भनेपछि विकल्प खोजीमा हुनुहुन्छ ?

म कुनै भगवानको दाजुभाइ त होइन, मान्छे नै हुँ ।

मतलव राजपा गठनपछि आन्तरिकरूपमा कुनै पनि काम अघि बढ्न सकेन ?

यो सत्य हो कि अहिलेसम्म विधान पनि बन्न सकेन, न केन्द्रीय समितिले नै पूर्णता पाउन सक्यो ।

सही व्यक्तिलाई सही जिम्मेवारी नभएर हो ?

यो पार्टी एकीकरणले सबैभन्दा बढी घाटा र नोक्सान तमलोपालाई भयो ।

यसै क्षति स्वीकारेर बस्ने कि उपाय खोज्ने ?

अब कोर्स अघि बढिसकेको छ । दूधभित्र सुरुमा नै घिउ देखिन्न । घिउ बन्न दही बन्नुपर्छ, दही बनेपछि मात्रै नौनी बन्छ । त्यतिमात्रैले घिउ बन्दैन, तताउनुपर्छ । अहिले दही बन्ने क्रममा छ ।

कतै दूध फाटिरहेको अवस्था त होइन ?

 फाट्यो भने छेना निस्केला, एउटै स्थितिमा त रहन्न ।

प्रकाशित: २१ असार २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App