८ वैशाख २०८१ शनिबार
समाज

नारायणगढ–मुग्लिन सडकमा बढ्दै छन् दुर्घटना

चितवन- चितवन जिल्लाभित्रका नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी दुर्घटना र मान्छेको ज्यानै जाने घटना पछिल्लो समय धेरै बढेको छ। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस आर्थिक वर्षको असार २० सम्म यो सडक खण्डमा ४७ जनाले ज्यान गुमाएका छन् । जिल्लाको अन्य सडक सञ्जालमध्ये दुर्घटनाका कारण सबैभन्दा बढी ज्यान लिने सडकमा नारायणगढ–मुग्लिन सडक खण्ड रहेको ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए ।

चितवनमा राजमार्गको कुल लम्बाइ ८३ किलोमिटर छ जसमध्ये नारायणगढ–मुग्लिन सडकखण्ड ३६ किलोमिटर छ । यो नै जिल्लाका अन्य सडक खण्डभन्दा बढी जोखिमपूर्ण रहेको प्रहरीको भनाइ छ । सडकबाट खसे सीधै त्रिशूली नदीमा पुगेर हराउने खतरा छ । २०७१ साल चैतयता नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार सुरु भएको हो । त्यसयता हालसम्म भएका विभिन्न सडक दुर्घटनामा परेर ७२ जनाको निधन भएको ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सो सडक खण्डमा दुर्घटनामा परेका १४ जना बेपत्ता छन् । वर्षैपिच्छे मृतकको संख्या बढ्दो छ । गत वर्षभन्दा यो वर्ष यो सडक खण्डमा तीन गुणा बढी मानिसको ज्यान गएको उनले बताए ।

‘अघिल्लो वर्षमा नारायणगढ–मुग्लिन सडक खण्डमा भएको दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका थिए । यो आर्थिक वर्षको अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ । त्यसैले अवस्था जटिल छ भन्ने देखिन्छ,’ प्रहरी निरीक्षक पन्तले भने । २०७१ चैतदेखि ०७२ असारसम्म ११ जनाको निधन भएको थियो । सो सडक खण्डको कालीखोलामा गत वर्ष भदौ १० गते २२ जनाको ज्यान जाने गरेर यात्रु बस दुर्घटना भएको थियो । यस्तै सडक विस्तारका लागि पहाड काटेको ठाउँ घुमाउनेमा सुक्खा पहिरो जाँदा गत चैत २१ मा दुईजना यात्रुको ज्यान गयो । त्यस्तै असार ९ गते कालीखोलामा पहिरो जाँदा चारजना प्रहरी चढेको भ्यान पहिरोले बगायो । तीनजना प्रहरीको शव फेला प¥यो । एकजना प्रहरी र भ्यान हराइरहेको छ । ‘घुमाउनेको सुक्खा पहिरो र कालीखोलाको पहिरो सडक विस्तारसँग जोडिएको प्रत्यक्ष  कारणले भएका दुर्घटना हुन््,’ प्रहरी निरीक्षक पन्तले भने ।

‘सडकको अवस्था जोखिमपूर्ण छँदैछ त्यसमाथि चालकको लापरबाही कम छैन । दुर्घटना हुनुमा चालकको लापरबाही नै मुख्य हो’, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले भने । पछिल्लो समय पैदल यात्रीसमेत सजग भएर नहिँड्दा लगातार तीनजना व्यक्ति सडकबाट तल नदीमा खसेका छन् ।

जुगेडीदेखि मुग्लिनसम्म २२ किलोमिटर दुरीमा ३२ वटा दुर्घटनाग्रस्त क्षेत्र रहेको अध्ययन प्रतिवेदनले देखाएको थियो । त्यहीअनुसार सजग हुन यात्रु र सडक आयोजनाका अधिकारीलाई अनुरोध गरिएको थियो।

‘मुग्लिनदेखि अढाइ किलोमिटर परको कालीखोलादेखि पाँच किलो भन्ने ठाउँसम्मको क्षेत्र पहिरोदेखि अन्य दुर्घटनाका हिसाबले पनि धेरै जोखिमयुक्त छ । पहिरो झर्नेदेखि बस झर्नेसम्मका घटना यही क्षेत्रमा धेरै भएका छन् । त्यसैले यो क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ,’ प्रहरी निरीक्षक हमालले भने ।

निर्माणाधीन सडकमा १३९ पटक पहिरो

आयोजना सुरु भएयता अहिलेसम्म निर्माणधीन नारायणगढ–मुग्लिन सडक खण्डमा १३९ वटा पहिरो गएको नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले जानकारी दिएको छ । ती पहिरो दुई सय ५० घनमिटरभन्दा ठूलो रहेको कार्यालयको भनाइ छ । गत शुक्रबार दिउँसो कालीखोलामा एकै ठाउँ आठ हजार घनमिटर पहिरो खस्दा ३४ घन्टा बाटो बन्द भयो ।

अहिलेसम्म खसेका पहिरो सफा गर्न तीन सय ६० घन्टा समय खर्च भएको आयोजनाले जनाएको छ । पहिरो सफा गरेपछि जाममा रहेका गाडी पार हुन अढाइ गुणा बढी समय लाग्छ । अर्थात् पहिरोका कारण एक घन्टा सडक बन्द भयो भने यात्रु तीन घन्टा २५ मिनेट जाममा समय कटाउनुपर्ने आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरोपछि सडक खुल्दा चालकले लेन अनुशासन कायम नगर्दा जाम हुने गरेको खनालले बताए  । जामको ८० प्रतिशत कारण लेन अनुशान कायम नहुनु रहेको खनालको अनुभव छ । लेन अनुशासन कायम नभए दुर्घटना पनि बढ्ने ट्राफिक प्रहरी निरीक्षक पन्त बताउँछन् ।

बस दुर्घटना, तीनजनाको मृत्यु 

मंगलबार बिहान पौने तीन बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा पाँचजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भएर सडकछेउको नालामा पल्टेको थियो । मृत्यु हुनेमा बसका चालक कैलालीका दिनेश रानामगर रहेको चितवन जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बर्दिया मगरागढी–६ का २६ वर्षीय राजकुमार थारू र उनकी तीन महिनाकी छोरीको पनि निधन भएको छ। राजकुमार र उनकी छोरीको घटनास्थलमा र चालकको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

 

घाइतेमध्ये बर्दियाकी ३० वर्षीया लीला थारू, कैलाली टीकापुर–७ की ४० वर्षीया धनकला तमन्ना, धनगढी–२ की ४७ वर्षीया राधी डगौरा र कैलालीकै ६० वर्षीया डिलादेवी साहको अवस्था सामान्य छ ।

 

नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा गत भदौमा भएको बस दुर्घटना । फाइल तस्बिर

 

प्रकाशित: २१ असार २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App