५ वैशाख २०८१ बुधबार
राजनीति

मंसिरमा एमाले सरकार : योगेश भट्टराई

लण्डन- गोर्खा सैनिकले बेलायतलाई ठूलो गुण लगाएका छन्। एउटा देशको नागरिक अर्को देशको सेनामा बसेर तेस्रो देशसँग लड्न जान्छ भने त्योभन्दा ठूलो योगदान अर्को हुनै सक्दैन। त्यसकारण बेलायत सरकारले गोर्खा सैनिकको सम्मान गर्नुपरेको छ। २१औं शताब्दीमा पनि हामी कसैका निम्ति लडिरहेका छौं भने यो भन्दा ठूलो योगदान केही हुँदैन। आजको दिनमा बेलायत सरकारले गोर्खा सैनिकको उचित सम्मान गर्नुपर्छ। नेकपा एमालेले जहिले पनि नेपालस्थित बेलायती दूतावासमा यो कुरा उठाउँदै आएको छ। बेलायत सरकारका प्रतिनिधिहरुको नेपाल भ्रमणका बेला हामीले यो कुरा उठाउँदै आएका छौं। गेसोका साथीहरुसँगको छलफलमा पनि हामीले यो कुरा उठाउँदै आएका छौं। प्रवासी मञ्चको चौथो अधिवेशनको सिलसिलामा पनि यो आन्दोलनप्रति एक्यबद्धता जनाउन चाहन्छु। यो सम्वेदनशीलता बुझ्दै गेसोलगायतका संघसंगठनहरुको मागहरु प्रति सम्वेदनशील हुन र नेपाल र नेपाली जनताको स्वाभिमानप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउँछु।

विभिन्न सिलसिलामा हामी प्रवासमा छौं। बेलायतमा नेपालीहरु प्राज्ञिक र शैक्षिक क्षेत्रको निक्कै माथिल्लो तहमा नेपालीहरु पुगिरहेको समाचार हामीले सुनिरहेका छौं। विश्वविद्यालयको विभिन्न पदाधिकारी लेबलमा साथीहरु हुनुहुन्छ। व्यवसायिक क्षेत्रमा माथिल्लो उचाइ प्राप्त गर्नुभएका साथीहरु हुनुहुन्छ। संघर्ष गर्दै माथिल्लो पदमा पुगेका धेरै साथीभाइको जमघट छ बेलायतमा। अर्थात् ठूलो नेपाली समुदाय बेलायतमा छ।

धेरै क्षमता र योग्यता आर्जन गरेका व्यक्तित्व महामहिम दुर्गाबहादुर सुवेदी बेलायतका राजदूत हुनुहुन्छ। उहाँका कामहरुको हामीले जहिले पनि प्रशंसा गरेका छौं। कुनै पनि अन्तर्राष्ट्रिय नियोगमा उहाँको उपस्थितिले नेपालको गरिमा माथि उठाउन सहयोग पुगेको हामीले सुनेका छौं। सौभाग्यवस पुरानो मित्र बेलायतमा उहाँ नेपालको प्रतिनिधिका रुपमा हुनुहुन्छ। उहाँको कार्यकालमा प्रवासी नेपाली मञ्च, अरु विभिन्न संघ संगठन र एनआरएनलगायत सबै हाम्रा नेपालको सामूहिक प्रयत्नबाट यो देशबाट प्राप्त अनु्भवले नेपाललाई कसरी फाइदा पुग्न सक्छ भन्ने कुरा तपाईंहरुले सोच्नु हुन्छ भन्ने मलाई विश्वास छ। राजदूत सुवेदीले यहाँका समुदायलाई समन्वय गर्नु हुनेछ।

हाम्रो देशमा चलन छ, राजदूत हुनु भनेको आराम गर्नु छुट्टी मनाउन जानु भन्ने ठानिन्छ। मैले धेरै देशको राजदूतावासमा यस्तै देखेको छु। आरामले बसेका छन् राजदूतहरु। के हो भूमिका बुझ्दैनन्। के गर्न आएको भन्ने समेत उनीहरुलाई थाहा छैन।

पछिल्लो कार्यकालमा हामीले राजनीतिक भागवण्डा गरेर राजदूत पठाएका छौं। सायद दोष त्यसमा पनि हुनसक्छ। तर बेलायतका लागि आउनु भएका राजदूत सुवेदी अलग क्षमताका छन् भन्ने मैले बुझेको छु। त्यसकारण उहाँप्रति हामी धेरै आशावादी छौं। यसबाट नेपालले केही उपलब्धी हासिल गर्न सक्छ भन्ने मलाई लाग्छ।

सामाजिक सञ्जालमा हेर्दा विदेशमा बस्ने नेपाली नकरात्मक धारणा राख्छन कि भन्ने मलाई कहिलेकाहिँ लाग्छ। त्यो उहाँहरुको बाध्यता हो, हामीलाई थाहा छ। तपाईंहरु अहिले बेलायतमा हुनुहुन्छ? कुन कठिन मोड पार गरेर यो आधुनिक देश बन्यो? आजको समृद्धि यसले कसरी हासिल गर्‍यो? यी कुरा तपाईंहरुले देख्नु भएको छ, पढ्नु भएको छ। त्यसअर्थमा हामी नेपालमा सिक्दैछौं। साढे दुई सय वर्षअघि डेमोक्रेसीको अभ्यास गरेको यो मुलुक हो। आज पनि यहाँको डेमोक्रेसी, निर्वाचन प्रणाली र प्रतिनिधित्वको बारेमा अनेक प्रश्न होलान्। सिक्नेक्रममा हाम्रा कमजोरी हुनसक्छन्। नेपालका दल र त्यसका नेताहरु राजनीतिक आन्दोलनका विद्यार्थी हुन्। तिनीहरु सिक्दैछन्, पढ्दैछन भन्ने कुरा तपाईंहरुले बुझिदिनुभयो भने नेपालका राजनीतिक दल र तिनका नेतालाई तपाईंहरुले हेर्ने दृष्टिकोण सही ठाउँमा आइपुग्छ। बेलायत र अमेरिकासँग दाँजेर हेरियो भने हामीमा फ्रस्टेसन आउँछ।

एनआरएनका साथीहरु भन्छु, तपाईंहरुसँग कति पैसा छ, नेपालमा लगेर घोप्टाउनुस्। अब नेपाल सुरक्षित छ। सुरक्षा कमजोर छ भनेर नेपालमा लगानी गर्न पछि नहट्नुस्। तपाईंहरुको प्रोजेक्टको सुरक्षाका लागि हामी सेनाको बिर्गेड नै राखिदिन्छौं। गोर्खामा साढे सात सय घर बनाउँदा त्यहाँको समुदायले सहयोग गरिरहेको छ। सानिमाले इलाममा हाइड्रोपावर बनाउँदा स्थानीय मानिसले स्वागत गरेका छन्। विदेशबाट कमाएर ल्याएको पैसाले नेपालमा सञ्चालित प्रोजेक्टमा चन्दा उठान नजानुस् भनेर हामी पार्टीमा सर्कुलर गर्दिन्छौं।

नागरिकताको संवेदनशीलता तपाईंहरुले पनि बुझ्नु भएको छ। नेपालीहरु संसारको जहाँसुकै बसून, म नेपाली हुन्छु अथवा रहिरहन्छु भन्दा हुँदैनस भन्ने राष्ट्रले भन्दैन। सिद्धान्ततः त्यही हो। अमेरिकी वा बेलायती नागरिकता लिएको छ छैन भनेर सोध्दै हिड्नु पर्दैन। अर्को देशको कानुनले तपाईंलाई नागरिक भइरहन दिन्छ कि दिँदैन त्यत्ति मात्र कुरा हो। दिन्छ कि दिँदैन त्यो तपाईंहरुले सोच्नुहोस्, नेपालले सोधिखोजी गर्दैन। बेलायत र अमेरिकाले नागरिकता दिँदा के गर्छ, त्यो हाम्रो चासोको विषय होइन। नेपालको तर्फबाट कुनै समस्या छैन।

हामी निर्वाचनमा गयौं, ४० लाख नेपाली बाहिर छन्। उनीहरुले भोट हाल्न पाएनन्, प्रतिनिधि छान्न पाएनन्। बाहिर बस्न पाउने मानिसको पनि अधिकार हो। बाहिर बस्ने नेपालीहरुले मत दिन पाउँछन् भन्ने अध्ययन गर्न निर्वाचन आयोगको टोलीले केही देशको अध्ययन भ्रमण गरेको थियो। दक्षिण कोरिया गएर झन्डै एक हप्ता बस्नुभयो। अहिलेको आधुनिक युगमा विदेशमा बस्ने नेपाली नागरिकको मतदाता परिचयपत्र छ भने उनीहरुलाई हाम्रो देशको भोटिङ सिस्टममा कसरी सहभागी बनाउने भन्ने विषयमा हामी खोजी गरिरहेका छौं। तर हाम्रो देशको निर्वाचन प्रणाली जटिल छ। मतपत्र पनि नाङलोजत्रो, गन्न पनि एक महिना लाग्छ। यस्तै छ, अब विस्तारै वैज्ञानिक बनाउँदै लैजाउला। प्रत्यक्ष र समानुपाति निर्वाचन प्रणाली छ। बेलायतको दुतावासमा हामीले मतपेटिका राखौंला। कुन कुन निर्वाचन क्षेत्रको राख्ने? दूतावाससँग जनशक्ति पनि छैन।

प्रत्यक्षमा मतदान गर्न नपाए पनि समानुपातिकमा अनलाइन सिस्टम भयो भने भोट हाल्न पाइला। हो, त्यो उपाय खोज भनेर हामीले निर्वाचन आयोगलाई भनेका छौं। यदि सम्भव भयो भने विदेशबाट पनि मतदान गर्न पाइन्छ। आउँदो डेसेम्बर वा जनवरीमा एमालेको सरकार बन्छ, यो काम एमालेले गर्छ। तपाईंले गाउँको प्रतिनिधि छान्न नपाए पनि पार्टीलाई भोट हाल्न पाउनु हुन्छ। 

(बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चको आइतवार सम्पन्न चौथो अधिवेसनमा अभिव्यक्त विचारको सम्पादीत अंश)

प्रकाशित: २० असार २०७४ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App