coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चावहिल-साँखु सडक : असारे खेत

काठमाडौं- फराकिलो, चार लेनको सडक। सडकको दुवैतिर सफा फुटपाथ। न कतै जाम, न कतै खाल्डा नै। २०७२ सालमा चावहिल–साँखुको १२ किमि सडकको यस्तै परिकल्पना गरिएको थियो।

विडम्बना! परिकल्पना वास्तविकता बन्न सकेन नै, भएकै सडक पनि मर्मत गरिएन जसले गर्दा यति बेला चावहिल–साँखु सडकमा हिँडिनसक्नु छ। जाम उत्तिकै हुन्छ। सडक पनि हिलाम्मे छ। असारको खेतजस्तै बनेको छ चावहिल–साँखु सडक खण्ड।

सडक पूरै हिलाम्य पोखरी बनेको छ। लाग्छ, सवारीसाधन गुडाउने सडक नभएर धान रोप्न तयार पारेको खेत हो।

चावहिल–चुच्चेपाटी, टुसाल चोक–जोरपाटी चोक, नारायणटार–वागमती पुल, दक्षिणढोका–नर्लिङ रिसोर्ट, मूलपानी जाने बाटो–गोकर्ण रिसोर्ट गेट, कागेश्वरी मनोहरा नगरपालिका कार्यालय (डाँछी चोक)–इन्द्रयणीको सडक पूरै पोखरीजस्तो छ। यी ठाउँमा देख्दा लाग्छ, सवारीसाधन गुडाउने सडक नभएर धान रोप्न तयार पारेको खेत हो।

यो सडकको अवस्था यस्तो भएको यसपटक मात्रै होइन। गत वर्ष पनि सडकको अवस्था अहिलेको जस्तै थियो। ‘तीन वर्षदेखि सडक बिग्रिएको हो,’ जोरपाटीका नारायण पौडेलले भने, ‘हिउँदभरि धुलाम्मे हुन्छ। वर्ष लागेसँगै खेतजस्तै हुन्छ।’ उनका अनुसार वर्षौंदेखि सडक हिँडिनसक्नु अवस्थाको हुँदा पनि सरोकारवाला निकायले केही गरेका छैनन्। सडकमा परेका ठूलाठूला खाल्डामा भरिएको पानीले गर्दा गाडी गुडाउन सकस भएको चालक मीनबहादुर बुढाथोकीले बताए।

सडकको बिग्रँदो अवस्थाका कारण घन्टौं जामसमेत हुने गरेको छ। स्थानीयका अनुसार चावहिल–जोरपाटी खण्डमा अत्यधिक जाम हुन थालेको छ। सबैभन्दा बढी यही खण्डमा सडक बिग्रिएको स्थानीयले बताए। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपसमेत यही खण्डमा पर्छ। विश्व सम्पदा घुम्न आउने देशीविदेशी पर्यटकले पनि सडकका कारण सास्ती खेप्दै आएका छन्।

किन भएन मर्मतसम्भार

चावहिल–साँखु १२ किलोमिटर सडक विस्तारको क्रममा छ। सडक विस्तार आयोजनाले अहिले भइरहेको सडकको चौडाइ विस्तार गरेर २२ मिटर बनाउन २०७२ असोज १३ गते ४ वटा प्याकेजमा ठेकेदार कम्पनीसँग सम्झौता गरिसकेको छ। सम्झौताअनुसार यति बेला विस्तारको काम धमधम हुनुपर्ने हो तर अहिलेसम्म काम अघि बढ्नै नसकेको सडक विस्तार आयोजना प्रमुख दीपक केसीले स्विकारे।

‘हामीले काम थाल्नुअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड मिचेर बनाएका संरचना भत्काउनुपर्छ,’ आयोजना प्रमुख केसीले भने, ‘यस्ता संरचना पन्छाउन नसक्दा विस्तारको काम अघि बढ्न नसकेको हो।’ मापदण्डविपरीत बनेका संरचना भत्काएर बाधा हटाउने हो भने आयोजना काम गर्न तयार रहेको उनले बताए। आयोजनाका कारण ढिलाइ नभएको केसीको दाबी छ।

भइरहेको सडकको मर्मत सम्भार नहुनुमा भने आयोजनाको कमजोरी रहेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले स्विकारे। ‘सडक विस्तार धमाधम भइहाल्छ भनेर सोही अनुसार ठेक्का आह्वान गर्‍यौं,’ उनले भने, ‘सोचेजसरी विस्तार कार्य अघि बढ्न सकेन।’

ठेकेदारसँग सडक विस्तारको मात्रै सम्झौता भएको हुँदा मर्मत गर्न समस्या भएको हो। उनका अनुसार ठेक्का सम्झौता गर्दा मर्मतको पाटो समावेश गरिएको थिएन। ‘विस्तारको जिम्मा लिएको ठेकेदारसँग मर्मतका लागि कुनै सम्झौता गरिएको छैन,’ उनले भने, ‘जसले गर्दा अर्को एउटा ठेकेदारले जिम्मा लिएको सडकमा मर्मतका लागि अर्को ठेक्का आह्वान गर्न समस्या भइरहेको छ।’

अहिलेसम्म विस्तारकै जिम्मा लिएको ठेकेदारलाई अनुरोध गरेर सामान्य मर्मत गर्न लगाएको उनले बताए। उनले भने, ‘सडकको अवस्था खत्तम भएकाले सामान्य मर्मत गरेर मात्र हुने देखिँदैन, त्यसैले बजेटको व्यवस्था गरी ठेक्का आह्वान गरेर मर्मत गर्नेबारे गृहकार्य गरिरहेका छौं।’

मुद्दाले रोक्यो काम

चावहिल–साँखु सडक विस्तारपछि २२ मिटर फराकिलो बन्नेछ। यसका लागि अहिले भइरहेको सडक केन्द्रविन्दुबाट ११–११ मिटर क्षेत्रफल खाली गर्नुपर्ने मापदण्ड छ। कतिपय ठाउँमा सडक केन्द्रविन्दुबाट ११ मिटरभित्रै संरचना बनेका छन्। यस्ता संरचना हटाएर सडक खाली गराउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणको हो। ‘हामीले मापदण्ड मिचेर बनेका संरचना हटाउने प्रयास गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘स्थानीयकै विरोधले गर्दा समस्या आइरहेको छ।’ कतिपय स्थानीयले प्राधिकरणको अनुरोध स्विकारेर संरचना भत्काइरहेका छन् भने कतिपयले आनाकानी गरिरहेका छन्। ‘आफैं भत्काउन चाहनेलाई भत्काउने समय दिनुपर्छ,’ उनले भने, ‘धेरैजसोले आफैं भत्काइरहेका छन्, केही भने अन्याय भयो भन्दै अदालत गएका छन्।’ उनका अनुसार चावहिल–साँखु खण्डमा करिब २० वटा मुद्दा परेका छन्। कतिपय मुद्दामा फैसला भइसकेको छ भने कतिपय प्रक्रियामा रहेको उनले बताए। दुईचार ठाउँमा भने अदालतको अन्तरिम आदेशका कारण संरचना भत्काउन नसकिएको तिवारीको भनाइ छ। उनका अनुसार सबैभन्दा बढी मुद्दा चावहिल–जोरपाटी खण्डमा छन्। यसै कारणले गर्दा पहिलो प्याकेजअन्तर्गतको कार्य प्रगति शून्य भएको उनले बताए।

मुद्दा परेका घर फैसलापछि मात्रै भत्काउन मिल्ने हुँदा अदालतको आदेश पर्खिनुपर्ने बाध्यता प्राधिकरणलाई छ। फैसलापछि पनि घर भत्काउन घरबेटी स्वयंले चाहेमा समय दिनुपर्ने हुन्छ। यसले पनि यो सडक कहिलेसम्म विस्तार भइसक्ला, यकिन गर्न नसकिने विज्ञको अनुमान छ। यसै कारण पनि सडक मर्मत गरिहाल्नुपर्ने स्थानीय बताउँछन्। ‘विस्तारका लागि उल्झनैउल्झन देखिन्छ,’ बौद्धकी छेल्हमु शेर्पाले भनिन्, ‘विस्तार कहिले भइसक्ने हो पत्तै छैन। सडक भत्किएर हिँड्नै  नसकिने भइसक्यो। त्यसैले मर्मत चाँडोभन्दा चाँडो गर्नुपर्ने देखिन्छ।’ सडक समयमै मर्मत नगरेमा जाम अत्यधिक हुनुका साथै सवारी दुघर्टना समेत बढ्ने उनको अनुमान छ।

प्रकाशित: २० असार २०७४ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App