६ वैशाख २०८१ बिहीबार
समाज

सिरहामा अनियन्त्रित उत्खनन

धनगढीमाई (सिरहा)- सिरहाको धनगढीमाई नगरपालिकामा लस्करै सञ्चालित करिब आधादर्जन खानीले मापदण्डविपरीत ढुंगा, गिटी र बालुवा उत्खनन तीव्र्र पारेका छन्। असार अन्त्यमा ग्राभेलको माग बढेपछि खानी सञ्चालकले अनियन्त्रित उत्खनन तीव्र पारेका हुन्।

सिरहाको कसहा क्षेत्रमा हाइटेन्सन लाइन प्रसारण हुने खम्बा ढल्नेगरी बस्तीको बीचमै आधादर्जन खानीले अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गर्दै आएका छन्।

जिल्ला समन्वय समितिले निजी खानी सञ्चालन गर्ने कार्यविधि उल्लंघन हुनेगरी अनुमति दिएका कम्पनीले हाइटेन्सन लाइन प्रसारण हुने खम्बा र बस्तीलाई नै खतरामा पार्र्दै उत्खनन कार्य गर्दै आएका छन्। समितिले स्थानीय  तिरुपति कन्सट्रक्सनका प्रोपाइटर राजेन्द्र यादव, राजु कन्सट्रक्सनका प्रोपाइटर पवन यादव र उपेन्द्र यादवलाई निजी खानी सञ्चालन गर्ने अनुमति दिएको छ।

निजी खानी सञ्चालन कार्यविधिअनुरूप ती कम्पनीलाई उत्खनन अनुमति दिएको स्थानीय विकास अधिकारी सुरेश राउतले बताए। उनले खानी सञ्चालन भइरहेको क्षेत्रमा आफू अहिलेसम्म नपुगेको जनाए।

राजमार्गबाट सय मिटर तथा घनाबस्ती र वनबाट सय मिटरभन्दा बढी दूरीमा, हाइटेन्सन लाइनबाट ५० मिटर टाढा उत्खनन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

निजी खानी सञ्चालनका लागि तत्कालीन जिल्ला विकास समितिले निर्धारण गरेको मापदण्डअनुसार ०.२५ वर्गकिलोमिटरभन्दा बढी जग्गा चाहिन्छ। आधा दर्जन स्काभेटरले लस्करै बस्तीको बीच भागमा हाइटेन्सन लाइनको पोल ढाल्ने गरी उत्खनन तीव्र बनाए पनि जिल्ला समन्वय समिति कानमा तेल हालेर बसेको कसहाका राजेन्द्र यादवले गुनासो गरे।

बस्तीको बीचमा स्काभेटरमार्फत खनिएको गहिरो खाल्डोमा खसेर दुई चौपायाको मृत्यु भइसकेको यादवले बताए। बस्तीकै बीचमा उत्खनन गरी ढुंगा, गिटी र बालुवा निकाले पछि बस्तीमा खानेपानीको स्रोत सुक्न थालेको उनले सुनाए। 'बस्तीको बीचभागमा खानी सञ्चालन गर्ने अनुमति दिएर हामीलाई बर्बादै बनायो,’ उनले भने, 'बस्तीको बीच भागमा उत्खनन हुँदा खानेपानीको संकट निम्तिएको छ।’

उत्खननमा संलग्न भएकालाई अनुमति दिने समिति, प्रहरी र प्रशासनको संरक्षण भएको स्थानीयको भनाइ छ। उनीहरूको बलमिच्याइँका अगाडि आफूहरूको आवाज ओझेलमा परेको स्थानीयले बताए। 'प्रहरी र प्रशासनलाई धेरैपटक गुहारें तर सुनुवाइचाहिँ कतैबाट भएन,' यादवले भने।

 खानीस्थलमा भेटिएका सञ्चालकका सहयोगी देवनाथ यादवले मेसिनले खन्दा नापतौल नहुने भएकाले अनियन्त्रित उत्खननजस्तो देखिएको बताए। 'हातले गर्नुपर्ने भए मिलाएर खन्ने काम हुन सक्थ्यो,’ उनले भने। खानीस्थलमा समितिका कर्मचारी महेन्द्र यादव कहिलेकाहीं आउने र धेरै गहिरो खनेको गुनासो गर्दै फर्कने गरेको देवनाथले बताए।

निजी खानीले मनपरी उत्खनन गर्दा वातावरणीय समस्या बढाएको स्थानीयको भनाइ छ। वनक्षेत्र, बस्ती र हाइटेन्सन लाइन नजिक तीव्र्र उत्खनन भइरहँदा नियामक निकाय कानमा तेल हालेर बसेको उनीहरूको गुनासो छ।

 यहाँका हाइटेन्सन लाइनको जग नै हल्लिने गरी स्काभेटरबाट उत्खनन भएपछि खम्बा जोगाउन समस्या परेको छ। तारजालीमा ढुंगा हालेर जेनतेन खम्बालाई सुरक्षित पार्ने कार्य गरिएको छ। उत्खननले हाइटेन्सन खम्बाको चारैतिर गहिरो खाल्डो बनेको छ जसमा वर्षाको पानी जमेको छ।

हाइटेन्सन लाइनको खम्बा ढल्नै लाग्दा उत्खनन कार्य त्यहाँबाट केही पर सारिएको छ। तर, अहिलेको उत्खनन स्थल पनि हाइटेन्सन लाइनबाट टाढा छैन। यहाँ सञ्चालित चारवटा खानीका बीच पनि खासै दूरी छैन। जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख इन्जिनियर पशुपति साहले निजी खानीले गरिरहेको उत्खनन कार्यविधिविपरीत नरहेको दाबी गरे।

प्रकाशित: २० असार २०७४ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App