८ वैशाख २०८१ शनिबार
राजनीति

शान्तिपूर्ण ढंगले निर्वाचन गराउन सरकार तयार : गृहमन्त्री

नेपालगन्जमा सोमबार सुरक्षा गोष्ठी समापन लगत्तै पत्रकारलाई प्रतिक्रिया दिदै गृहमन्त्री जनार्दन शर्मा। तस्बिर : अर्जुन ओली

नेपालगन्ज- दोस्रो चरणको निर्वाचनको समयमा प्रदेश नम्बर ५ का जिल्लामा हुने सुरक्षा चुनौतीका विषयमा सोमबार नेपालगन्जमा छलफल भएको छ। सुरक्षा गोष्ठीमा गृहमन्त्री जनार्दन शर्मासहित गृहमन्त्रालयका अधिकारी, विभिन्न सुरक्षा अंगका प्रमुख, मध्यपश्चिम र विभिन्न जिल्लाका सुरक्षा अंगका प्रमुख सहभागी थिए। 

बर्दिया, बाँके, दाङ, प्यूठान, रोल्पा, रुकुम जिल्लाबाट सहभागी भएका सुरक्षा अंगका प्रमुखले पहाडी क्षेत्रमा नेत्र विक्रम चन्द विप्लप र तराई क्षेत्रमा राष्ट्रिय जनता पार्टीको चुनाव विरोधी गतिविधि प्रमुख चुनौतीको रुपमा रहेको औँल्याएका थिए। गोष्ठीले मध्यपश्चिम क्षेत्र र विभिन्न जिल्लाले बनाएको सुरक्षा योजनालाई परिमार्जन गरेर पारित गरेको गृहमन्त्री शर्माले पत्रकारलाई जानकारी दिए। 

गोष्ठी समापनपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले स्थानीय तहको निर्वाचनमा मतदान गर्न जनता आतुर रहेको भन्दै मुलुक चुनावमा होमिसकेको बताए। ‘चुनावको लागी सम्पूर्ण सुरक्षाको तयारी गरिसकेका छौं, केही सामान्य चुनौती छन्, ती चुनौतीको सामना गरेर शान्तिपूर्ण ढंगले निर्वाचन गराउने सरकारको तयारी छ,’ शर्माले भने।

राष्ट्रिय जनता पार्टी र नेत्र विक्रम चन्द विप्लप समूहले स्वतन्त्र उम्मेदवारी दिइसकेकाले उनीहरु पनि चुनावमा सहभागी भएको बताए। ‘उम्मेदवारी दिएका दलले निर्वाचनमा सहभागी भइसकेपछि निर्वाचन विरोधी गतिविधी गर्दा अनैतिक हुने हुँदा निर्वाचनमा शान्तिपुर्ण सहभागी हुन म आग्रह गर्दछु,’ गृहमन्त्री शर्माले भने।

राजपासँगको छलफलमा दुई नम्बर प्रदेशको चुनाव समय अभावको कारणले असोज २ गते गर्ने र बाँकी चुनावमा सहभागी हुने सहमति भएको जिकिर गर्दै उनले भने,‘दुई नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा असार १४ गते निर्वाचन गर्ने कुरामा राजपासँग सहमति भएको हो।’

माओवादी केन्द्रका नेतासमेत रहेको शर्मा सुरक्षा गोष्ठीपश्चात बाँकेका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन्।

प्रकाशित: ५ असार २०७४ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App