७ वैशाख २०८१ शुक्रबार
कला

फेसन डिजाइनिङकी गुरुआमा सुचिता

काठमाडौं- डेढ दशकअघि नेपालमा फेसन डिजाइनप्रति खासै आकर्षण वा रुचि थिएन। यद्यपि फेसन गर्नेहरूको संख्यामा भने कुनै कमी  थिएन। फेसन डिजाइन भनेको कुनै साधारण तालिम, मोडलिङ, ब्युटिसियन, बुटिकको काम गर्ने पेसा हो भन्ने आम बुझाइ थियो। फेसन डिजाइनको बृहत् क्षेत्र र बहुआयामिक अवसरबारे पर्याप्त चर्चा नहुने सन् २००० को पूर्वाद्धमा सुचिता सची यस क्षेत्रमै सम्भावना खोज्दै भारतबाट नेपाल आएकी थिइन्।

भारतको पुनेस्थित ओरेकल इन्ष्टिच्युट अफ फेसन डिजाइनिङबाट सन् २००२ मा फेसन डिजाइनिङमा ग्रयाजुएसन सकेपछि सची अवसर खोज्दै नेपाल आएकी थिइन्। तर, नेपाल आउनुअघि उनले रामगोपाल बर्माको फिल्म 'जंगल' मा अभिनेत्री उर्मीला मतोंडकरका लागि ड्रेस डिजाइन गरिसकेकी थिइन्। त्यतिमात्र होइन, मिस इन्डियामा ट्यालेन्ट अवार्ड पाएकी गोहर खानले उनको डिजाइनमा तयार भएको पहिरनको फोटो 'टाइम्स अफ इन्डिया'मा देखिएपछि सचीको डिजाइनले धेरैको ध्यान तानेकोे थियो। तर, फेसन डिजाइनिङबाहेकका सबै शिक्षादिक्षा नेपालमै प्राप्त गरेकी सची आफ्नै देशमा केही गर्नुपर्ने भावनाले प्रेरित थिइन्। 'आलोकाँचो उमेर थियो। घरिघरि फेसन डिजाइनिङमा भारतको ठूलो क्षितिज र त्यसभित्रको अपार सम्भावनाले मलाई निम्तो दिइरहेको थियो, अर्कोतिर घर फर्केर केही फरक गरुँ भन्ने चाहना  पनि थियो ,' उनले भनिन्, 'अन्ततः मेरो रोजाइमा आफ्नो देश नै पर्‍यो।'

सन् २००२ लगत्तै नेपाल फर्केकी सचीले आफ्नो गृहनगर जनकपुरमा फेसन डिजाइनिङको सम्भावना ठम्याउन सकिनन्। उनी पोखरातर्फ लागिन्। जहाँ उनी फेसन डिजाइनिङको पठनपाठन हुने आइएफडीमा टेक्सटाइल फ्याक्लटीको कोर्डिनेटर भएर काम गरिन्। नयाँनयाँ पहिरन र त्यसको उपयोगमा पोखरा र धरान निकै अगाडि थिए। त्यसैले सम्पूर्ण रूपमा फेसन डिजाइनिङको महत्व यी सहरले नबुझे पनि पहिरन अभ्यासकै कारण फेसनप्रति सचेत भने थिए। तर, 'गन्तव्य पोखरा' लाई उनले लामो समय तन्काउन सकिनन्। उनी फेसन डिजाइनिङलाई 'एकेडमिक' विषयवस्तुको रूपमा  स्वीकारिएकोे देख्न चाहान्थिन्। त्यसताक नै काठमाडौंमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मणिपाल सिक्किम युनिभर्सिटीको सम्बन्धनमा फेसन डिजाइनिङको कोर्स सुरु गर्ने योजना  गरिरहेको थियो। उनी काठमाडौं आइन्। यहीँबाट सुरु भयो उनको फेसन डिजाइनिङको एकेडमिक कोर्स पढाउने र व्यवस्थापन गर्ने यात्रा। अहिले यो यात्राको झन्डै १५ वर्ष पूरा भएको छ। फाउन्डेसनका मुखिया पंकज जालान र उनी एउटै सहर जनकपुरका हुन्। उमेरमा केही वर्षको अन्तराल छ। तर, फाउन्डेसनमा पढाउन मन गरेर राजधानी आएको बेला सची अन्तर्वार्ता दिँदै थिइन् र जालान अन्तर्वार्ता लिँदै। अहिले तस्बिर फरक भएको छ। सयजनाभन्दा बढी व्यावसायिक र सफल फेसन डिजाइनर उत्पादन गर्नुको जस आफ्नो टिमसँगै जालान र कलेजको फेसन डिजाइनिङ डिपार्टमेन्टका प्रमुख सची दुवैले बाँडेका छन्। कलेजबाट उत्पादित जनशक्ति अहिले नेपाल र देशबाहिर पनि आफ्नो अपूर्व र उतम डिजाइनका लागि चर्चित छन्।

'फ्रिलान्सर, फेसन म्यानेजर, स्टाइलिस्ट, टेक्सटाइल म्यानेजर आदि सबै रूपमा हाम्रा जनशक्तिले स्थान पाएको छ। फेसनप्रति समाजको स्वीकारोक्ति हो यो। यसले यसको 'एकेडमिक' सम्भावना उजिल्याएको छ,' उनले नागरिकसँग सुनाइन्।

नेपालका थुप्रै सेलिब्रिटी डिजाइनर सचीको रेखदेखमै फेसन डिजाइनिङको कोर्स पूरा गरेका हुन्। शुभेच्छा भडेल, सौरभ आचार्य, अलिसा खड्गी, उत्तरा आचार्य उनकै उत्पादन हुन्। तर, फेसन डिजाइनरको गुरुआमा बनिरहँदा उनले गुमाएको पाटो पनि छ। एउटा डिजाइनरको रूपमा प्रत्यक्ष ढंगले गर्न सक्ने धेरै काम उनले गर्न सकेनन्। कुनै बेला रामगोपाल बर्माकै एउटा फिल्ममा सहायक डिजाइनरको रूपमा अनुबन्धित भएर पनि बीचमै काम छाडेर देश फर्केकी उनी फेसन शो, प्रदर्शनी र प्रस्तुतिमा आफ्नो भूमिकालाई मुख्यतया पार्श्वमै राखिन्। 'तर, मलाई सन्तोक छ। विद्यार्थीका लागि पाठ्यक्रम योजना बुन्दा होस् वा उनीहरूलाई केन्द्रमा राखेर प्रयोगात्मक /प्रदर्शनात्मक योजना बनाउँदा म उनीहरूको क्यारिअरमा फेसन इन्डष्ट्रीको सुनौलो भविष्य खोजिरहेको हुन्छु,' सचीले बिट मार्दै भनिन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App