४ वैशाख २०८१ मंगलबार
राजनीति

मतदाता शिक्षा प्रभावकारी बनाइँदै

इलाम- पहिलो चरणको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर भएको तथ्यांक सार्वजनिक भएपछि दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय लागिपरेको छ । गत वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तह निर्वाचनमा बदर मतको प्रतिशत ठूलो देखिएपछि सदर मत बढाउन मतदाता शिक्षामा जोड दिइएको हो । 

असार १४ का लागि तोकिएको स्थानीय तह निर्वाचन नजिकिएसँगै जिल्लाका गाउँ–गाउँमा फेरि मतदाता शिक्षा सुरु गरिएको छ । अघिल्लो पटक घोषित मितिमै देशभर निर्वाचन हुने भएपछि मतदाता शिक्षा त्यतिबेलै सुरु गरिएको थियो । तर, निर्वाचनको मिति महिना दिनपछिलाई सरेपछि मतदाता शिक्षा पनि स्थगित थियो । अहिले निर्वाचन कार्यालयले घर–घरमै पुगेर मतदाता शिक्षा दिन सहजकर्तालाई निर्देशन दिएको छ । यसअघि स्थानीयलाई कुनै पायक पर्ने ठाउँमा भेला गरी भोट हाल्न सिकाइँदै थियो । ‘अघिल्लो निर्वाचनको अनुभवका आधारमा आउँदो निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षामा जोड दिएका छौं,’ जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले भने, ‘सहजकर्ताहरू मतदाता शिक्षा दिन मतदाताको घर–घरमा पुगेको अनुगमनसमेत गरिँदैछ ।’ 

मतदाता शिक्षाका लागि प्रत्येक मतदानस्थलमा स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालक खटाइएको छ । सम्बन्धित गाउँ र नगरपालिका प्रमुख तथा वडा कार्यालयका सचिवले मतदाता शिक्षाको अनुगमन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । ‘अब मतदाता शिक्षा दिने सहजकर्ता मतदाताको घरमै पुगेर भरसक सबै परिवारलाई नभए घरमुलीलाई भेट्नै पर्नेछ,’ उनले भने, ‘टोल वा समूहमा भेला गराएर भोट हाल्न सिकाएर मात्र मत सदर नहुने भएकाले यसमा कडाइ गरिएको हो ।’ उनले अहिले जिल्लाका सबै मतदानस्थलमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको बताए । 

स्थानीय जनप्रतिनिधिको निर्वाचन नभएको लामो समय भइसकेकाले पनि यो पटक मतदाता शिक्षा दिन अलि बढी मेहनत गर्नुपरेको उनले सुनाए । ‘३५ वर्ष पुगेको व्यक्तिले समेत अहिलेसम्म स्थानीय निकाय वा तहको मतदान गर्न पाएको छैन,’ उनले भने, ‘बेला–बेला निर्वाचन हुँदा चाहिँ मतदाता शिक्षा छोटो समयमै प्रभावकारी हुनेरहेछ ।’ 

कार्यालयले मतदाता शिक्षाकै लागि विभिन्न स्थानमा ‘नमूना मतदान’ पनि गराइरहेको छ । इलाम नगरपालिका ५ बरबोटे र इलाम नपाकै वडा ८ मा गरिएको नमूना मतदानमा स्थानीयले मतदान गरेका थिए ।  ‘नमूना मतदानमा चाहिँ हामीले सदर वा बदर मत भनेर छुट्याएनौं, अलि बढी शिक्षामूलक ग¥यौं,’ उनले भने, ‘तर, ‘मतदानको तरिका सबैलाई सिकाउनु नै आवश्यक देखियो ।’ उनले जिल्लाका अन्य स्थानमा पनि नमूना मतदान गर्न लगाउने बताए ।

कार्यालयका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लाको मतदाता संख्या १ लाख ८९ हजार २ सय ७४ छ । ९६ हजार ६ सय ७१ पुरुष, ९२ हजार ६ सय १ महिला र २ तेस्रो लिङ्गी मतदाता रहेको कार्यायलयको तथ्यांक छ । जिल्लामा १ सय ४४ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा, नेकपा मालेलगायतका दल चुनाव लड्दैछन् ।  स्थानीय तह निर्वाचनमा जिल्लाका ४ सय २५ उम्मेदवार निर्वाचित हुनेछन् । ४ नपामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायबाट ३–३ तथा ६ गाउँपालिकाबाट २–२ जना मनोनित हुँदा जिल्लामा जम्मा जनप्रतिनिधिको संख्या ४ सय ४९ हुनेछ ।

प्रकाशित: १९ जेष्ठ २०७४ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App