coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

शेरबहादुरको सिंहदरबार पुनरागमन

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा चौथो पटक देशको प्रमुख कार्यकारी अधिकृत (प्रधानमन्त्री) हुनै लागेका छन्। आउँदा तीन–चार दिनभित्र राष्ट्रिय राजनीतिको मण्डीमा ज्यादै नै ठूलो लेनादेना र उथलपुथल भएन भने सुदूरपश्चिम नेपालको रमणीय जिल्ला डडेलधुराका यी कांग्रेसी नेताले सर्वाधिक पटक देशको प्रधानमन्त्री बन्ने दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाले राखेको कीर्तिमानको झण्डै बराबरी गर्नेछन्। पछिल्लो पटक वि.सं. २०६१ सालमा अहिले अपदस्थ गरिएका तत्कालीन राजा ज्ञानेन्› शाहको अवाञ्छित महत्वाकांक्षाको वेदीमा यिनको प्रधानमन्त्रीको पद बलि चढेको पनि एक जुग भइसकेको छ। यस पटक यिनी प्रधानमन्त्री भएपछि यिनका हकमा १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली भनाइ चरितार्थ भएको मानिनेछ। साथै नेपाली राजनीतिको शीर्ष पंक्तिमा टिकिरहन यिनले गरेको लगनशील प्रयत्न पुरस्कृत भएको क्षण पनि हुनेछ त्यो।

शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्।

कतिपय कारणले देउवाको सिंहदरबार पुनरागमनलाई नेपाली जनताले धेरै उत्साहका साथ भने लिएका छैनन्। देउवाका लागि यो गहिरो चिन्ताको विषय हुनुपर्छ। यिनलाई परीक्षण गरिसकेका नेता र यथास्थितिको प्रतिनिधिमूलक पात्र मान्नेहरूकै संख्या बढी छ तथाकथित जानिफकारहरूको जमातमा। नेपालले अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्रमा आधारित प्रणालीले जनताका मनमा आकांक्षाको ठूलो उफान पैदा गरेको छ। त्यस उफानले कुनै पनि नेतालाई जनताको नजरमा सधैँ आकर्षक बनिरहन दिँदैन। जनता तुरुन्तै नतिजा खोज्छ र त्यस मेसोमा चरम प्रतिगामी तत्वदेखि केही समयमात्र पहिले आफूमाथि चरम हिंसाचार गर्ने आततायी जमातसम्मका हातमा आफ्नो भविष्य र जीवन रक्षाको जिम्मेवारी सुम्पनसमेत तयार हुन्छ। हामीकहाँ यस्तो परम्परा नै बसेको छ। जनताको यस्तो सामूहिक समर्पणवाद भनौँ कि मूर्खताका आलोकमा देउवा जस्ता मध्यमार्गी र अनाक्रमक नेताले आफूतिर आमजनतालाई तानिरहन सजिलो छैन। अहिले चौथो पटक प्रधानमन्त्री बन्न लागेका देउवाप्रति जनताको उदासीन प्रतिक्रियाको एकमात्र कारण त्यही हो।

जनताको असीमित आकांक्षा र व्यावहारिक सम्भाव्यताबीच सन्तुलन कायम गर्दै आजको नेपालका जटिल राजनीतिक, नैतिक र आर्थिक समस्याको भरपर्दो समाधान खोज्नु प्रधानमन्त्रीका रूपमा देउवाका सामुन्ने उभिएको सबैभन्दा ठूलो चुनौती हुनेछ। यसबाहेक मुलुक गणतन्त्र बनेदेखि यता कतिपय कारणले देउवाको पार्टी नेपाली कांग्रेसको शाख लगातार खस्किँदो छ। केही दिनपहिले भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले एमालेका हातबाट पराजय भोगेको छ। कार्यकर्ता यसको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न गरिरहेका छन्। पार्टी सभापति र हुन लागेका प्रम देउवाले यी प्रश्नको समुचित उत्तर खोज्नेमात्र होइन, पार्टीको ओरालो लागेको छविलाई पनि पुरानैरूपमा फर्काउन सक्नैपर्छ। त्यसो गर्न सकेनन् भने उनको राजनीतिक भविष्य सुरक्षित रहने छैन। विरोधीहरूले भन्ने गरेझैँ ऐतिहासिक पार्टी नेपाली कांग्रेसले विस्तारै विस्तारै आफ्नो प्रासंगिकता गुमाउन थाल्नेछ।

शेरबहादुर देउवाले पाँच दशक लामो राजनीतिक जीवन यात्रामा आरोह/अवरोहको लामो शृंखला पार गरेका छन्। प्रतिपक्षी राजनीतिक दलको पहिले कार्यकर्ता र पछि नेताका रूपमा लगातार सक्रिय रहेका उनले जेलनेल त भोगेका छन् नै, लामो अवधिसम्म सत्ता सुखमा रमाउने बिरलाकोटी अवसर पनि पाएका छन्। पछिल्लो समयमा आएर कुशल संगठनकर्ताका रूपमा आफूलाई स्थापित गरेर उनले पार्टीमा आफ्नो पकड मजबुत बनाएका छन्। नेपाली कांग्रेसको इतिहासमा देउवा नै त्यस्तो पहिलो गैरकोइराला व्यक्ति बन्न पुगेका छन् जसले पार्टी र सरकारको बागडोर सँगसँगै सम्हाल्ने अवसर पाएको छ। यसरी दोहोरो जिम्मेवारी पाएपछि उनको महत्ता मात्र बढ्दैन, चुनौती पनि दोहोरो नै हुनेछ। दोहोरो सत्तामाथि हालीमुहाली भएपछि कहाँ के भइरहेको छ समयमै खुट्याउन गाह्रो हुनसक्छ एकातिर भने अर्कोतिर निकटस्थहरूले उनको सत्ताको आफ्नो निहित स्वार्थका लागि दुरुपयोग गर्ने सम्भावना पनि ह्वात्तै बढ्न सक्छ। यी सब अप्ठ्यारा परिसूचक हुँदाहुँदै पनि यो देश, लोकतान्त्रिक प्रणाली र देशको अन्यतम् प्रजातान्त्रिक राजनीतिक शक्ति नेपाली कांग्रेसको भलो चाहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइका तर्फबाट यो लेखक देउवाले आफूले पाएको यो ऐतिहासिक अवसर खेर फाल्ने छैनन् भन्ने कामना अन्तरहृदयदेखि नै गर्न चाहन्छ।

शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्। उनी जुन सामाजिक परिवेशबाट आएका हुन् त्यो जर्जर सामन्ती ढाँचाको र चेतनाका हिसावले साह्रै साँघुरो थियो। त्यस परिवेशमा हुर्केका उनले आज जुन उचाइमा आफूलाई पुर्‍याएका छन् त्यसलाई अद्भूत मान्नुपर्छ। डडेलधुराबाट उच्च शिक्षाका लागि राजधानी आएपछि उनले आफ्नो जीवनको लामो अवधि नेपाली कांग्रेसले सञ्चालन गरेको विपक्षी राजनीतिक आन्दोलनमा बिताए। झण्डै तीन दशक लामो त्यस अवधिमा देउवाले आफूमा प्रजातन्त्रप्रतिको निष्ठा र समर्पणभाव त प्रचुर मात्रामा विकसित गरे तर आधुनिक व्यवस्थापनका विषयमा चिन्तन गर्ने, जान्ने र बु‰ने न कहिल्यै अवसर नै पाए न त त्यसप्रति आफूमा अभिरूचि नै पैदा गर्न सके। स्थापना कालदेखि नै कुशाग्र मेधायुक्त बिपी कोइरालाको नेतृत्वमा चलेर आएको नेतामुखी संगठन नेपाली कांग्रेसको कार्यकर्ता भएकाले देउवामात्र होइन, उनका दौँतरी कुनै पनि कांग्रेसी नेता/कार्यकर्ताले आफ्नो वैयक्तिक योग्यता र क्षमता बढाउने चेष्टा नै गरेनन्। हुन सक्छ, तिनीहरूले भविष्यमा कुनै दिन अनेक समस्याले जेलिएको संसारको यस दरि›तम् मुलुकको राजकाज सञ्चालन गर्नुपर्नेछ भन्ने कल्पना नै गरेका थिएनन्। कांग्रेसका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला आदि प्रमुख नेताहरूले पनि आफूपछिका नेतालाई नेता बन्न त सिकाए, मुलुक चलाउन आवश्यक पर्ने न्यूनतम् सिप सिकाउने झन्झट भने गरेनछन् जस्तो बुझिन्छ।

शेरबहादुर देउवाले आफूमाथि आलोचनाका छिटाछिटी परिरहेको समयमा सत्ता सम्हाल्दैछन्। उनको पार्टी सभापतिका रूपमा बितेको १६ महिनाको कार्यकाल लगभग बिर्सनलायक रहेको छ। सत्ताको सबैभन्दा ठूलो साझेदार दलको नेताका रूपमा अहिले कामचलाउ भएको सरकारका केही गम्भीर त्रुटिपूर्ण निर्णयका लागि समेत उनलाई जिम्मेवार ठहर्‍याउने प्रयास भइरहेको छ। खासगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाउने प्रयास भएको र हाल फिर्ता लिइएको महाभियोग प्रस्तावका प्रसंगमा कांग्रेसबाट भयंकर भूल भएकै हो। यो लेखक आशा गर्छ, भावी प्रधानमन्त्री देउवाले एकजना असल र इमान्दार व्यक्तिका रूपमा आफूबाट भएका भूलहरू स्वीकार्ने र भविष्यमा तिनलाई दोहोरिन नदिने संकल्प गर्नेछन्। प्रधानमन्त्रीका रूपमा उनको सफलताका सूत्रहरू भने सामान्य हुनेछन्– योग्य सहायकहरूको छनोट, मन्त्रीहरूको कामको निरन्तर निगरानी र नियन्त्रण, लोभलालचको साङ्लोबाट आफू र निकटस्थलाई टाढा राख्ने आँट, विचौलियाहरूलाई बालुवाटारमा प्रवेश निषेध। यसबाहेक शेरबहादुर देउवामाथि लाग्ने गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीयतावादको जुन आरोप छ, त्यसमा सत्यांश छ कि छैन यसको गम्भीर विश्लेषण गर्न जरूरी छ उनले। चार पटकसम्म सम्पूर्ण देशको प्रशासन हाँक्ने अवसर पाएको व्यक्ति एउटा प्रदेशप्रति बढी कृपालु कसरी हुन सक्छ?

देउवाका लागिमात्र होइन, सम्भवतः वयोवृद्ध प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेसका लागि पनि उनको यो सत्तारोहण अस्तित्व रक्षाको अन्तिम मौका हो। सबैका कुरा सुन्ने धैर्य भएको, समन्वय र सहकार्यमा विश्वास गर्ने र दिलैदेखि उदार र आँटिला नेता देउवाले सम्हाल्न सक्छन् र उनको कार्यकालमा बाँकी निर्वाचन भएर नयाँ संविधान लागु गर्ने महत्वपूर्ण कार्य पूरा हुनेछ भन्ने जुन विश्वास सबैले लिन खोजेका छन् देउवाका पक्षबाट त्यसमा कुनै कमी आउने छैन भन्ने कुरामा यो लेखक भरोसा गर्न चाहन्छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App