coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

वैकल्पिक राजनीतिका चुनौती

पहिलो चरणको स्थानीय चुनाव सकियो। अन्तिम परिणाम घोषणा नहुँदै पनि यसपालि मतदाताको छनोट कस्तो रहेछ भन्ने स्पस्ट भइसक्यो भन्दा हुन्छ। यसपालि जो जो निर्वाचित भएका छन् (वा हुँदैछन्) ती साँच्चै नै स्थानीय सरकारका कार्यकारी बन्दैछन्। त्यसैले पहिले पहिलेका स्थानीय निकायको तुलनामा उनीहरूको काँधमा अभूतपूर्व जिम्मेवारी थपिएको छ। संघीयताको अवधारणा साँच्चै नै जनताको खुसी, समृद्धि, सुस्वास्थ्य र सुन्दर जीवनमा अनुदित हुन्छ कि हुँदैन, एक वर्षभित्रैमा यसको छनक देखिनुपर्ने हुन्छ। यस्तो सकारात्मक परिवर्तन देखिनका निम्ति कर्ताहरूमा सकारात्मक सोच, विवेक, ज्ञान, सिप, सिक्ने चाहना र सुन्ने कला नभई हुँदैन। यी सद्गुण व्यक्तिबाटै उद्घाटित हुने भए तापनि केही अपवादबाहेक अधिकांशमा आफ्नो पार्टीभित्रको संस्कार, वातावरण र सम्बन्धको प्रभाव परेकै हुन्छ। त्यसैले यसपालिको स्थानीय निर्वाचनमा निर्वाचित स्थानीय जनप्रतिनिधिले के गर्छन् भन्ने कुराले संघीयताको औचित्यमात्रै हैन, हाम्रो लोकतान्त्रिक यात्रामा कति परिपक्वता प्राप्त गर्‍र्यौ भन्ने कुरा पनि देखाउनेछ। त्यो परिपक्वताको एउटा महत्वपूर्ण मापक हरेक पार्टीभित्रको संस्कार हो।

आफ्नो स्थापनाकालमा अदम्य साहसका साथ सिंगै देशको उज्यालो भविष्यका निम्ति बलिदान गरेका असल मानिसले बनेका पार्टीहरू पनि जति ठूला हुँदै गए, त्यति नै विचारको स्खलन हुँदै गयो, समस्या झन् झन् चर्को हुँदै गए।

यो स्थानीय चुनावमा भर्खरै बनेका वा बन्दै गरेका नयाँ पार्टी सहभागी भएका छन्। वैकल्पिक राजनीति र वैकल्पिक दलहरूबारे केहीअघिदेखि नै अनेक विचार विमर्श हुन थालिसकेको भए तापनि यो चुनाव भने यी वैकल्पिक शक्तिका निम्ति अझ धेरै ध्यानाकर्षण गर्ने अवसर पनि बन्यो। 'नयाँ खेलाडीको आगमन' मात्रै नभएर यिनको उपस्थितिले सबै पार्टीभित्रको संस्कारबारे नजानिँदो किसिमले प्रश्न उठाइदिएको छ। यी प्रश्न पुराना पार्टीका निम्ति मात्रै नभएर नयाँ पार्टीका निम्ति पनि अन्तर्दृष्टि र आत्मसमीक्षाका साधन बनेका छन्। 

विश्व रङ्गमञ्चमा एउटा राष्ट्रका रूपमा हामी जति पछि परेका छौं, त्यसले गर्दा हामीलाई समयको ठूलो चाप छ। जहिले पनि सिक्दै जाने त हो तर हाम्रा निम्ति भने 'सिक्ने' र 'गर्ने' छुट्टाछुट्टै समय नै छैन। दशकौंदेखि गर्न नसकेर थाक लागेका पुराना कार्यभारको पहाडै बनिसकेको छ। जनजीवनका दैनिकीमा नै नभई नहुने धेरै कुराको बन्दोबस्त हामीले गर्न सकेका छैनौं। त्यसमाथि अनेक किसिमका नयाँ चुनौती थपिएको थपियै छन्। एउटा आवश्यकता पूरा गर्न खोज्दा अर्कोतिर नयाँ समस्या देखिने क्रम टुटेकै छैन। बेलाबेलामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको आवश्यकताले मात्रै पो हाम्रो अस्तित्व रक्षाको निर्धारण गरेको हो कि जस्तो देखिन्छ। यो यथार्थ हेर्दा राजनीतिक नेतृत्व, कार्यकर्ता र राज्यको हरेक तहमा ज्ञान, क्षमता, दिशाको सुस्पष्टतालगायत सद्गुणको आवश्यकता पहिलेभन्दा ह्वात्तै बढेको छ। तर केही समयदेखि देशको सारथिको अभिभारा बोकेका स्थापित पार्टीहरूमा ठ्याक्कै यिनै सद्गुणहरूको झन् झन् ह्रास हुँदै गएको छ। आफ्नो स्थापनाकालमा अदम्य साहसका साथ सिंगै देशको उज्यालो भविष्यका निम्ति बलिदान गरेका असल मानिसले बनेका पार्टीहरू पनि जति ठूला हुँदै गए, त्यति नै विचारको स्खलन हुँदै गयो, समस्या झन् झन् चर्को हुँदै गए। यस्ता पार्टी स्थापनाकालमा र स्थापना उप्रान्त पनि उल्लेख्य समयसम्म भूमिगत अवस्थामा रहनुपर्दा संगठनको आदर्श, कार्यकर्ताहरूको गुणवेत्ता, अनुशासन, मूल्य/मान्यता आदि कायम राख्ने बाध्यता थियो र सम्भव पनि थियो। तर खुला वातावरणमा अरुसँगको प्रत्यक्ष र 'शान्तिपूर्ण' प्रतिस्पर्धामा आउनेबित्तिकै नयाँ चुनौतीलाई उचित तरिकाले सम्बोधन गर्न नजान्दा र नसक्दा ती सबैमा ह्रास आयो। विचार खिइँंदै गएर कर्मकाण्डमा परिणत भयो र कालान्तरमा त्यही कर्मकाण्ड पनि बाँकी रहेन। कुनै पार्टीको विशिष्टता बाँकी रहेन, सबै नै क्लबमा परिणत भए र यी क्लबहरूको उद्देश्य नै निर्वाचन नामको सत्ताखेलको म्याचमा जितेर देखाउनु भयो। उनीहरू हरेकले भन्ने गरेको विचार त खेलाडीको जर्सी जस्तो मात्रै बन्यो। क्रान्तिकारीका निम्ति सत्ता त साधन हुनुपर्ने तर वैचारिक स्खलनसँगै सत्ता साधनबाट साध्य बन्न पुग्यो।

पुराना स्थापित पार्टीहरूमा आएको यो परिवर्तनकै कारण अहिले देखा पर्न थालेका नयाँ पार्टीहरू 'वैकल्पिक' भइदिउन् भन्ने जनताको चाहना देखापरेको हो। साझा र विवेकशील जस्ता कलिला पार्टीलाई राजधानीमा जनताले जसरी भोट दिए, त्यसबाट जनताको त्यही चाहना प्रकट हुन्छ। जनताको त्यो चाहनाप्रति समर्पित हुने हो भने साँच्चैको वैकल्पिक शक्ति बन्न सक्नुपर्ने हुन्छ। र, साँच्चै वैकल्पिक शक्ति बन्नका निम्ति पुरानाको कमजोरीमा मात्र भर परेर पुग्दैन। वैकल्पिक राजनीतिक संस्कार नभएको वैकल्पिक शक्ति हुन सक्दैन र त्यस्तो संस्कार सिर्जना गर्न नयाँ दलका प्रत्येक सदस्यको सोच र व्यवहार स्वस्थ र सम्यक हुनुपर्छ। परम्परागत राजनीतिकै विकल्प दिने आँट गरेका नयाँ पार्टीहरूमा निरन्तर अनुशीलन र अध्ययन नहुने हो भने यिनमा पनि स्खलन त्यत्तिकै सजिलो गरी हुन सक्छ। एकपछि अर्को चुनावमा फाल हान्नुपर्ने बाध्यताका बीच पार्टीभित्र अनुशीलन, गम्भीर अध्ययन, सञ्जाल निर्माण र विस्तार जस्ता कामलाई अघि बढाउन निश्चय नै धेरै मेहनत गर्नुपर्ने हुन्छ। नयाँ पार्टीहरूका निम्ति यो महत्वपूर्ण चुनौती हो।

साझा र विवेकशील जस्ता वैकल्पिक पार्टीबीच सहकार्य हुन नसकेकामा धेरैको चित्त दुखेको छ। कतिले असन्तुष्टिमात्रै हैन, आक्रोश नै पोखेका छन्। जनताको यस्तो अभिव्यक्तिलाई स्वाभाविक मात्रै हैन, एउटा अति महत्वपूर्ण अन्तर्य लुकेको सकारात्मक प्रतिक्रियाका रूपमा लिनुपर्छ।

प्रकृतिमा हरेक साना ठूला वस्तुको आआफ्नै वैशिष्ट्य हुन्छ। समाजका हरेक व्यक्तिको आआफ्नै विशिष्टता, व्यक्तित्व र अहंको घेरा हुन्छ। हरेक वस्तुबीचको भिन्नता सजिलै देखिन्छ। कुनै पनि व्यक्ति, संगठन, संरचना, आदिबीच के भिन्नता छ भनेर पत्ता लगाउन खासै मेहनत गर्नै पर्दैन। तर कुनै दुईबीच मात्रै पनि के समानता छ भनेर खोज्न भने निकै मेहनत गर्नुपर्छ। मानिसको सभ्यताको विकास नै विविधताबीच समानताको खोजीबाट सम्भव भएको हो। नत्र आज पनि एउटा टोलको साँढेले अर्को टोलको साँढेलाई गर्ने व्यवहार, एउटा गोलोको कमिलाले अर्को गोलाकोलाई गर्ने व्यवहार जस्तै कबिलाको लडाइँमै मानव जाति रहिरहन्थ्यो होला। पुराना पार्टीलाई नियालेर हेर्ने हो भने बेलाबेलामा यस्ता असभ्य व्यवहार नदेखिने हैन। तर नयाँ वैकल्पिक राजनीतिको अभ्यास गर्ने पार्टीहरू यो रोगबाट मुक्त रहनुपर्ने हुन्छ। नयाँ पार्टीहरूले आआफ्ना विशिष्टताबारे स्पष्ट हुनैपर्छ। नत्र पुराना पार्टीहरूझैं सत्ताखेलको म्याचमा भिडेका क्लबमात्र बन्न पुग्नेछन्। निश्चय नै हरेकले आफ्ना विशिष्टतालाई देख्न सक्नुपर्छ। आफ्नैबारे थाहा नपाउने कसरी अघि बढ्न सक्छ र? तर विविधता र भिन्नताभित्र समानताको खोजी गर्न झन् सक्षम र सिपालु हुन सक्नुपर्छ। यो नसक्ने हो भने त झन् पूरै असफल हुने खतरा रहन्छ। अरुको दानवीकरण गरेर आफ्नो पार्टीभित्र एकता र सुदृढीकरण खोज्नु भनेको परम्परागत राजनीतिको रोग हो। तर यो यस्तो रोग हो, जो सजिलै जुनसुकै पार्टीमा सर्न सक्छ– नयाँ वैकल्पिक पार्टीमा समेत। अरु वैकल्पिक शक्तिबीचको सहकार्यबारे जनताका चासो त्यति नसुनिनु तर साझा र विवेकशील – यी दुई पार्टीकै बीच सहकार्यका बारेमा जनताको ठूलै पंक्तिको भावुकता र संवेगसहितको अभिव्यक्ति यसरी आउनुलाई दुवैले जनताको असीम मायाका रूपमा ग्रहण गर्न सक्नुपर्छ।

दुई दशकभन्दा बढी समयदेखि आवश्यकताबोध भएको वैकल्पिक राजनीति यथार्थमै परिणत हुने सम्भावनालाई पानीको फोका बन्न दिनुहुँदैन। र, त्यसो नहोस् भन्नाका खातिर सजिलो बाटोबाट छिपछिपे बुझाइका भरमा हिँडेर हुँदैन। भ्रष्टाचार र परनिर्भरताबाट कसरी मुक्त हुने? बजार अर्थतन्त्रको महासागरमा सम्पूर्ण विश्व तैरिइरहेको बेला समान अवसर र सामाजिक न्यायलाई कसरी प्रत्याभूत गराउने? मौलिक अधिकार भनिएको स्वास्थ्य अधिकारलाई विनिमयको वस्तु हुन दिइरहने कि केही गर्ने? समृद्धिको नारा हरेक मानिसको जीवनमा अनुदित कसरी हुन्छ?... यस्ता अनगिन्ती प्रश्नले उत्तर खोजिरहेका छन्। वैकल्पिक राजनीति गर्न भनेर अस्तित्वमा आएका पार्टीहरूलाई यी प्रश्नको टाकटुके उत्तर दिएर उम्कने स्वतन्त्रता छैन।

आशा गरौं, यी चुनौती स्वीकार गर्दै, आआफ्नो वैशिष्ट्य कायम राख्दै, राष्ट्र र जनताको बृहत्तर हितका निम्ति विविधताबीच पनि समानता पहिल्याउँदै, छिपछिपे अभिव्यक्तिको सुविधा छाडेर गहिरो अध्ययन, अनुसन्धान, अनुशीलन र सम्यक व्यवहारको बाटोमा अघि बढ्न नयाँ उदाएका पार्टी सफल हुनेछन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App