१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'मन्त्रीले मसँग एक करोड घुस मागे'

काठमाडौं- सिँचाइ मन्त्रालयका सहसचिव सागरकुमार राईले यसै साता बाहिरिएका पूर्वमन्त्री उमेशकुमार यादवले आफूसँग एक करोड रुपैयाँ घुस मागेको खुलासा गरेका छन्। सिँचाइ विभागको महानिर्देशक बनाउन मन्त्रीले उक्त रकम माग गरेको राईले आरोप लगाए।

'मन्त्रीले आफ्ना सहयोगीमार्फत रकम माग गरेका हुन्, मैले दिन नसक्ने जनाएपछि मलाई नियुक्त गरेनन्,' उनले नागरिकसँग भने। राईले मन्त्रीका लागि घुस मागिदिने ती सहयोगीको नाउँ भने खुलाउन चाहेनन्।

स्रोतका अनुसार पहिलो वरीयतामा रहेका राईलाई पन्छाएर मन्त्रीले तेस्रो नम्बरका सुशीलचन्द्र तिवारीलाई यसै साता विभागको महानिर्देशक नियुक्त गरेका थिए। पूर्वमन्त्री यादव भने आफूले कानुनबमोजिम नै नियुक्ति गरेको दाबी गर्दै घुस लिएको भए प्रमाणित गरेर देखाउन चुनौती दिइरहेछन्। 'मैले घुस लिएको छैन न त कसैसँग मागेको छु,' शुक्रबार सप्तरीमा रहेका उनले टेलिफोनमा नागरिकसँग भने, 'सबै नियुक्ति कानुनबमोजिम नै गरिएका छन्।' 

सुरुमा सिँचाइ विभाग र त्यसपछि जल–उत्पन्न प्रकोप नियन्त्रण विभागमा नियुक्ति गर्ने बेला पनि मन्त्रीले आफूसँग मोटो रकम आस गरेको सहसचिव राईले बताए। उनका अनुसार मन्त्रीले यसअघि रकम आस गरेको खुलेरै बताउने गरे पनि यसपालि सहयोगीमार्फत माग गरेका हुन्।

मन्त्रीले आफूलाई निराश बनाएको भन्दै राईले मंगलबार न्याय माग्दै सामान्य प्रशासन मन्त्रालयमा निवेदन दर्ता गराएका छन्। यसबारे मुख्य सचिव सोमलाल सुवेदीलाई पनि जानकारी गराएको उनले बताए।

मन्त्री यादवले पार्टी सरकारबाट बाहिरिने घोषणा गरेकै दिन तीन दिनपछि अनिवार्य अवकाश पाउने क्रममा रहेका जल–उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरञ्जनदेव पाण्डेलाई मन्त्रालय सरुवा गरी उनको ठाउँमा राईभन्दा वरीयताक्रमले १२औं स्थान तलका मधुकरप्रसाद राजभण्डारीलाई नियुक्त गरेका छन्।

मन्त्रीले निजामती सेवा ऐनमा उल्लेख अनिवार्य अवकाश हुनुभन्दा ६ महिनापहिले सरुवा गर्न नमिल्ने प्रावधान नाघेर राजभण्डारीलाई नियुक्त गरेको सिँचाइ मन्त्रालयका कर्मचारी बताउँछन्।

राईले तत्कालीन मन्त्री यादवको कामकारबाहीविरुद्ध निवेदन दर्ता गराएको सामान्यका सचिव टंकमणि शर्माले पुष्टि गरेका छन्। 'त्यसरी कुनै निकायको प्रमुख नियुक्ति गर्दा सामान्यको सहमति अनिवार्य चाहिन्छ तर त्यस्तो सहमति भने दिइएको छैन,' उनले भने, 'यसबारे हामीले हेरेर केही निर्णय लिनेछौं।'

राजभण्डारी महानिर्देशक तोकिएपछि विभागकै उपमहानिर्देशक कृष्ण बेल्बासे आफूभन्दा कनिष्ठको मातहत बसेर काम गर्न नसकिने भन्दै सरुवा मागेर विभाग गइसकेका छन्। बेल्बासेले पनि सामान्य प्रशासन मन्त्रालयमा निवेदन हालेका छन्।

पूर्वमन्त्री यादवले विवादास्पद निर्णय गर्ने क्रममा सुपरिटेन्डेन्ट इन्जिनियर तथा सहसचिव कौशलकिशोर झालाई समुदाय व्यवस्थित सिञ्चित कृषिक्षेत्र आयोजनाबाट हटाएर सिनियर डिभिजनल इन्जिनियर अर्थात् उपसचिवस्तरका कर्मचारी राजनारायण साहलाई नियुक्त गरेको पाइएको छ। झाको पदावधि बाँकी हुँदै मन्त्रीले सामान्यको सहमतिबेगर उक्त निर्णय गरेका हुन्।

यादवले वरिष्ठलाई जिम्मेवारीविहीन बनाएर तल्लो तहका कर्मचारी नियुक्त गरेका उदाहरण अरू पनि थुप्रै छन्। उनले यसअघिका सचिव अनुपकुमार उपाध्याय सुदूरपश्चिममा आयोजनाक्रममै रहेका बेला मन्त्रिपरिषद्बाट सरुवा गराई उनको ठाउँमा गजेन्द्रकुमार ठाकुरलाई ल्याए। उपाध्यायलाई मन्त्रालयबाट बिदाइ हुन पनि नदिई जान बाध्य पार्ने गरी ठाकुर पहिले नै आएर हाजिर गरेका थिए। मन्त्रीले सिँचाइ विभागका पूर्वमहानिर्देशक बेल्बासेलाई मन्त्रालय सरुवा गरेपछि उनी त्यहाँ बस्न नसकी सरुवा मागेर जल तथा ऊर्जा आयोग पुगेका छन्।

प्रकाशित: ३ श्रावण २०७३ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App