७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विश्वभरीका ९९ देशमा साइबर आक्रमण

वासिङटन –  विश्वभरीका ९९ देशका सयौं संघसंस्थामाथि श्रृंखलाबद्ध साइबर आक्रमण भएका छन् । 

आतंककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्प्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

र्यानसमवयर नामक भाइरस आक्रमणका कारण अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । जसका कारण यी देशका कयौं कम्पनी तथा संघसंस्थाका कम्प्युटरले काम गर्न छोडेको बताइएको छ । 

साइबर हमला गर्ने ह्याकरहरुले कम्प्युटरले पुन काम गर्न लायक बनाउनका लागि तीन सय अमेरिकी डलर माग गरेको बिबिसीले जनाएको छ । 

र्यानसमवयर नामक उक्त भाइरसले ९९ देशका करिब एक लाख भन्दा बढी कम्प्युटर प्रणालीका डाटा खराब बनाइदिएको पनि बिबिसीले जनाएको छ । 

माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो । 

विश्वभर साइबर हमला भएपछि युरोपेली संघको कानुन लागू गर्ने संस्था युरोपोलले जटिल प्रकारको अन्तर्राष्ट्रिय अनुसन्धान आवश्यक रहेको बताउँदै साइबर हमलामा संलग्न दोषीको पहिचान गर्न आवश्यक रहेको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ । 

यस साइबर हमलाका कारण रुस पनि नराम्ररी प्रभावित भएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमको भनाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ । 

साइबर हमला तीब्र गतिमा फैलिरहेको भएपनि ‘वानाक्राई’ र त्यसका विविध खालका नाम रहेका भाइरसको आक्रमणमा केही कमी आएको छ तर चुनौति अझै अन्त्य नभइसकेको बताइएको छ । 

युरोपोलले आफ्नो साइबर अपराधसम्बन्धी समूह ‘इसी थ्री’ ले यस आक्रमणबाट प्रभावित देशका यस्तै खालको समूहसँग मिलेर चुनौतिलाई कम शिथिल गर्न र पीडितलाई सहयोग गर्न काम गरिरहेको बताएको छ । 

बेलायत र स्कटल्यान्डमा साइबर आक्रमणले प्रभावित भएका ४५ एनएचएस संगठनको प्रणाली पुर्नस्थापना गर्न विज्ञको टोली अहोरात्र खटिरहेको बेलायतको साइबर सुरक्षासम्बन्धी एजेन्सीको प्रमुखले बताए । 

साइबर आक्रमणका कारण केही अस्पतालका जिपिएस प्रणालीले काम नगर्दा विरामीको तथ्यांकको पहुँचमा पनि समस्या भएको बताइएको छ । जसका कारण विभिन्न अस्पतालमा पूर्व निर्धारित शल्यक्रियालगायतका विभिन्न चिकित्सकीय भेटघाट खारेज गरिएको बिबिसीले जनाएको छ । 

साइबर हमलाबारे प्रकाशित रिर्पोटले आक्रमणमा रुस सबैभन्दा बढी प्रभावित भएको छ । रुसका घरेलु बैंक, आन्तरिक तथा स्वास्थ्य मन्त्रालय, राज्य संचालित रुसी रेल सेवा र दोस्रो ठूलो मोबाइल सेवा प्रदायक बढि प्रभावित भएको बताइएको छ । 

रुसको आन्तरिक मन्त्रालयका अनुसार उसको एक हजार कम्प्युटर उक्त साइबर हमलाबाट प्रभावित भएका छन् । उसले भाइरस समाधान गरिएको र मन्त्रालयको संवेदनशील तथ्यांक जोगिएको पनि जनाएको छ । 

युरोपेली मुलुक स्पेनको ठूलो मोबाइल सेवा प्रदायक कम्पनी टेलिफोनिका, ऊर्जा कम्पनी इबरड्रोलालगायत कयौं ठूला कम्पनी पनि साइबर आक्रमणको शिकार भएको बिबिसीले जनाएको छ । स्पेनमा सबै कम्पनीका कर्मचारीलाई कम्प्युटर बन्द गर्न निर्देशन दिइएको पनि बिबिसीले जनाएको छ । 

साइबर हमलामा परेका विश्वका विभिन्न देशका प्रभावित नागरिकले आफ्नो आक्रमणमा प्रभावित आफ्नो कम्प्युटरको फोटो ट्विट गरेका छन् । जसमा जर्मनीमा रहेको एक रेलसेवाको टिकट मेसिन र इटालीको विश्वविद्यालयको कम्प्युटर प्रयोगशालाको प्रभावित कम्प्युटरका फोटापनि रहेका छन् । 

फ्रान्सको कार बनाउने कम्पनी रेनाउल्टले साइबर हमलाका कारण फ्रान्स र स्लोभेनियामा रहेको आफ्नो कारखानाबाट केही उत्पादन बन्द गर्न बाध्य भएको बिबिसीले जनाएको छ । 

त्यसैगरी पोर्चुगलको टेलिकम, अमेरिकी डेलिभरी कम्पनी फेडेक्स र स्विडेनको स्थानीय प्रशासनपनि उक्त साइबर हमलामा प्रभावित भएको बिबिसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले भने यस हमलाले आफूलाई के–कस्तो प्रभाव पर्याे भन्ने बारेमा हालसम्म कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ । तर सामाजिक सञ्जालमा आएका विवरण अनुसार चीनका विश्वविद्यालयका कम्प्युटर प्रयोगशाला भने यस हमलाबाट प्रभावित भएको बताइएको छ।

शुक्रबारबाट विश्वको आर्थिक प्रणालीमा साइबर हमलाको चुनौतिका विषयमा छलफल गर्न भन्दै विश्वका सात धनी राष्ट्र समूहका विदेशमन्त्रीको बैठक भइरहेकै बेला विश्वमा यस्ता खालको साइबर हमला भएको बिबिसीले जनाएको छ । 

साइबर हमला शुक्रबार विश्वभर तीब्र गतिमा फैलिएको थियो । जसमा बेलायतका मेडिकल स्टाफले एक एक गरी कम्प्युटर काम नलाग्ने गरी देखेको जनाएका थिए । 

एनएचएसका कर्मचारीले साइबर हमलामा परेका कम्प्युटर बनाउन तीन सय डलर माग गरेको वानाक्राई प्रोग्रामको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गरेका थिए । 

प्रभावित भएका संस्थाहरुले कम्प्युटर बन्द भएको र बिटकन माग गर्ने स्क्रिनसट्स सामाजिक सञ्जालमा राखेका छन् ।

कम्प्युटर खोल्नेबित्तिकै फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने सन्देश देखिने गरेको प्रभावितहरुले बताएका छन् । कतिपयमा सबै फाइल ध्वस्त पार्ने धम्की आएको छ । त्यसबाट जोगिने हो भने पैसा तिर्नुपर्ने शर्त राखिएको छ ।

फिरौती तिरेमा भाइरस निष्प्रभावी बनाइने शर्त ह्याकरले राखेको पनि बिबिसीले जनाएको छ । 

प्रकाशित: ३१ वैशाख २०७४ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App