८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विद्यार्थीले झोला बोक्न नपर्ने

नयाँदिल्ली – भारतको उत्तरी राज्य उत्तर प्रदेशको सरकारले शनिबार विद्यार्थीलाई झोला बोक्न नपर्ने नियमको सुरुवात गरेको छ । 

राज्यमा रहेका सम्पूर्ण सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमा रमाइला गतिविधि सहितका अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उघेश्यले शनिबार ‘झोला बिनाको विद्यालय’ बनाउने घोषणा उत्तर प्रदेशको राज्य सरकारले गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

राज्य सरकारले गरेको निर्णयले उत्तर प्रदेशमा अध्ययनरत विद्यार्थीलाई शनिबार कुनैपनि शैक्षिक गतिविधि संचालन नगरी अतिरिक्त क्रियाकलापमा मात्रै सहभागी गराइने बताइएको छ ।

उत्तर प्रदेशका सहायक मुख्यमन्त्री दिनेश शर्माको उपस्थितिमा शुक्रबार बसेको राज्य सरकारको शिक्षा विभागको उच्चस्तरीय बैठकले विद्यार्थीलाई हप्तामा एकदिन फरक क्रियाकलापमा संलग्न गराई उनीहरुको दिमागलाई ताजा पार्न नयाँ निर्णय गरेको विभागको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।  ‘राज्य सरकारको निर्णयअनुसार अब छिट्टै विद्यार्थीले हप्तामा एकदिन विद्यालयमा झोलाको बोझबिना नै उपस्थिति हुन पाउनेछन्,’ विभागको एक उच्च अधिकारीले बताए । 
यस निर्णयले विद्यार्थी र शिक्षकबीचको पारस्परिक सम्बन्धलाई बलियो पार्नुका साथै विद्यार्थीको व्यक्तित्व विकासमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको विभागको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

भारतको सबैभन्दा धेरै जनसंख्या रहेको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (बिजेपी)का नेता योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारले गरेको पछिल्लो यस निर्णयले राज्यमा नयाँ खालको अभ्यासको प्रारम्भ भएको भारतीय सञ्चारमाध्यमको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । 

उत्तर प्रदेशमा बिजेपी दुई महिना अघि राज्य सरकारको नेतृत्वमा आएको थियो भने सत्तामा आएलगत्तै राज्यको शैक्षिक प्रणालीमा सुधार ल्याउने जनाएको थियो । 

उत्तर प्रदेशमा यस्तो खालको निर्णय हुनुभन्द केही दिनअघि भारतको अर्को राज्य महाराष्ट्रले राज्यभित्र रहेका विद्यालयलाई ‘जंक फुड’बाट स्वतन्त्र बनाउने पहलस्वरुप सम्पूर्ण विद्यालयको चमेना गृहबाट ‘जंक फुड’ बिक्री गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

प्रकाशित: ३१ वैशाख २०७४ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App