coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

लागोस – इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ । 

लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताए। 

सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना बालिका केहीदिन अघि अपहरणमुक्त भएका हुन् । 

नाइजेरियाको राजधानी सहर अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले ती सबै बालिकालाई मनोचिकित्सकीय उपचार र पुनःताजकिकरण सम्वन्धि शिक्षा दिइएको बताए। 

उनीहरु अपहरणमुक्त भएको बारेमा जानकारी दिन उनीहरुका बाबुआमालाई उनीहरुको फोटो पठाइएको उनले जानकारी दिए । कतिपय बालिकाको नाम पनि उही भएकाले पहिचानका लागि पनि फोटो पठाइएको उनले स्पष्ट पारे । 

“आमाबावुलाई उनीहरुका छोरीलाई भेट्न नदिइएको भन्ने कुरा सत्य होइन, हामी उनीहरुलाई भेट्न दिन्छौँ, तर प्रत्येक दिन होइन,” उनले सम्बाददातालाई भने । 

अधिकांश बालिकालाई सरकारी सेवा सुविधा तथा सहुलियतका लागि सिफारिस गरिएको उनले बताए। 
उनले आउँदो सेप्टेम्बरदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा मात्रै ती बालिकालाई अध्ययनको निरन्तरताका लागि विद्यालय पठाइने र त्योभन्दा अगाडि अन्य सीपहरु सिकाइने जानकारी दिए । 

नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिकाबीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तरराष्ट्रिय मध्यस्तकर्ताहरुको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो । 

रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तरराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकाहरुलाई सुरक्षितरुपमा रिहा गराई छाड्ने अघिल्लो महिना बताएका थिए । 

उनले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गरेका छन् । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो । 

सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ सर्वसाधारण विस्थापित भएका छन् । 

प्रकाशित: २९ वैशाख २०७४ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App