coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवालविरुद्ध मुद्दा दायर

नयाँ दिल्ली – आम आदमी पार्टीका तर्फबाट भारतको नयाँ दिल्लीका मुख्यमन्त्री रहेका अरबिन्द केजरीवाललगायत अन्य नेताविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा तीनवटा भ्रष्टाचारसम्बन्धी मुद्धा दायर गरिएको छ ।  
 
आम आदमी पार्टी (आप)का संस्थापक सदस्य कपिल मिश्राले आइतबार आफूले अरबिन्द केजरीवालले स्वास्थ्य मन्त्री सत्येन्द्र जैनसँग गत शुक्रबार दुई करोड लिएको देखेको बताएपछि दिल्ली सरकारको मन्त्रीपदबाट हटाइएका मिश्राले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायत पार्टीका अन्य नेताविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)मा मुद्धा दायर गरेको ‘द टाइम्स अफ इन्डिया’ले जनाएको छ । 

सोमबार एसीबी ट्यांकर घाटासम्बन्धी प्रमाण प्रस्तुत गरेका कपिल मिश्रा मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को कार्यालय पुगी उक्त मुद्धा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिबिआईमा मुद्धा दायर गर्नु अघि उनले पार्टी अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई एउटा खुलापत्र लेखेका छन् । खुला पत्रमा उनले केजरीवाललाई चुनौती दिँदै उनीविरुद्ध जहाँकहींबाट चुनाव लड्न आफू तयार रहेको बताएका छन् । उनले आफ्नो पत्रमा आफूले भ्रष्टाचारविरुद्ध लड्न सिकेको गुरुविरुद्धै आफ्नो जिन्दगीको सबैभन्दा ठूलो युद्ध लड्न गइरहेको जनाएका छन् । 

मंगलबार दिउँसो कपिल मिश्रा सिबिआई कार्यालय पुगेर अरबिन्द केजरीवालका साथै स्वास्थ्य मन्त्री सत्येन्द्र जैनविरुद्धसमेत एफआइआर दर्ता गराएका छन् । समाजसेवी अन्ना हजारेलेसमेत दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि लगाइएका आरोपको छानबिन हुनुपर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

कपिल मिश्राले लगाएका आरोपबारे दुई दिनसम्म कुनै प्रतिक्रिया व्यक्त नगरेका केजरीवालले सोमबार राति ट्विट गर्दै सत्यको जित हुने बताएका थिए । उनले मंगलबार दिल्ली विधानसभामा आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन लागेको र त्यहीँबाट सत्यको जितको प्रक्रिया सुरु हुने बताएका थिए । 

केजरीवालको ट्विटभन्दा केही घन्टा पहिले आम आदमी पार्टीका नेता सञ्जय सिंहले एउटा ट्विट गरेका थिए । मुख्यमन्त्री केजरीवालको प्रतिरक्षा गर्दै कपिल मिश्रालाई मानवताको पाठ पढाउन खोजिएको उनको ट्विटमा लेखिएको थियो ।  

उता कपिल मिश्राले भ्रष्टाचार प्रकरणमा केजरीवालसँग जोडेर चर्चा गर्ने गरेका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले कपिल मिश्राविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने बताएका छन् । कपिल मिश्राले आरोप लगाएजस्तो आफूले केजरीवाललाई दुई करोड रुपैयाँ नदिएको बताउँदै उनले गत शुक्रबार आफू मुख्यमन्त्रीको निवासमा जाँदै नगएको दाबीसमेत गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०७४ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App