७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फ्रन्समा दुब्ला मोडलमाथि प्रतिबन्ध

पेरिस- फ्रान्समा स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी आफूलाई दुब्लो बनाएका फेसन मोडलको प्रयोगमा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आएको छ।

फ्रान्समा लागू गरिएको उक्त कानुन अनुसार अब फेसन मोडलहरुले आफ्नो शारीरिक स्वास्थ्य समग्रमा ठिक रहेको चिकित्सकद्वारा प्रमाणित कागजपत्र ल्याउनुपर्ने भएको छ।

त्यस्तो कागजपत्रमा 'बडी मास इन्डेक्स' बिएमआई भनिने उचाई अनुसार शरीरको तौल ठिक भए या नभएको कुरा खुलाइएको हुनुपर्ने बिबिसीले जनाएको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले सुन्दरताका अप्ठेरा आदर्श प्राप्त गर्न खानासमेत त्याग्ने व्यवहारलाई नियन्त्रण गर्नु नयाँ कानूनको उद्देश्य भएको बताएको छ।

नयाँ कानुन अन्तर्गत डिजिटल प्रविधिबाट तस्बिरमा गरिएका परिवर्तन फोटोमानै खुलाउनुपर्ने नियम पनि आगामी अक्टोबर १ बाट लागू गरिनेछ।

मोडलको शारीरिक बनावटलाई डिजिटल विधीबाट परिवर्तन गरिएको अवस्थामा त्यसबारे पनि तस्वीरमा उल्लेख गर्नुपर्ने कानुनले व्यवस्था गरेको बिबिसीले जनाएको छ।

यसअघि उक्त कानुनको मस्यौदामा मोडलको उचाई अनुसार न्यूनतम शारिरिक तौलको व्यवस्था गरिएको थियो जसलाई फ्रान्सका मोडलिङ एजेन्सीले विरोध गरेका थिए।

तर सन् २०१५ मा सांसदहरुले अनुमोदन गरेको कानुनको अन्तिम परिमार्जनले मोडलको शरीरको तौल, उमेर र शरीरको आकारलाई हेरेर उनी कति दुब्ली हुन मिल्छ भन्ने निर्धारण गर्ने अधिकार दिएको छ।

उक्त कानून उल्लङ्घन गर्नेलाई बढीमा ७५ हजार युरोसम्मको जरिवाना र ६ महिनासम्म जेल सजाय हुनसक्ने फ्रान्सेली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

युवाहरुले शरीरको कृत्रिम तस्बिर देखाउनाले आफ्नै अवमूल्यन हुनुका साथै आत्मविश्वास समेत कमजोर हुनसक्ने र त्यसले स्वस्थ्यसम्बन्धी व्यवहारमा पनि प्रभाव पार्नसक्ने भएकाले यस्ता खालको कानुन ल्याउनु परेको फ्रान्सकी सामाजिक मामिला तथा स्वास्थ्य मन्त्री मारिसोल टुरेनले बताइन्। कम तौल भएका मोडललाई नियमन गर्ने फ्रान्स पहिलो देश भने होइन। यसअघि इटाली, स्पेन र इजरायलले पनि यस्तै खालका कानुन ल्याइसकेका छन्।

 

प्रकाशित: २६ वैशाख २०७४ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App