८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा उम्मेदवार छान्न समय थप

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार छनोट गर्न पार्टीका तल्ला निकायलाई वैशाख १२ गतेसम्म समय दिएको छ। संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउने दलीय प्रयास जारी रहेका बेला कांग्रेसले उम्मेदवार छनोटका लागि तल्लो तहलाई थप समय दिने निष्कर्ष निकालेको हो।

चैत १५ मा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले वैशाख ७ गतेभित्र उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, रामशरण महत, मीनेन्द्र रिजालसहितको छलफलमा उम्मेदवार छान्न थप समय दिने समझदारी भएको हो। शुक्रबार बिहान पदाधिकारी, पूर्वपदाधिकारीको बैठक बसी सोहीअनुसारको परिपत्र जिल्ला, क्षेत्रसहित मातहतको निकायलाई पठाइने भएको छ।

नेता रामशरण महतले वैशाख ११/१२ गतेसम्म उम्मेदवार छान्न तल्लो तहलाई समय दिएको जानकारी दिए। ‘हतारमा उम्मेदवार तोक्नुभन्दा बृहत् छलफल गरेर नाम तय गर्नु राम्रो हुन्छ,' महतले नागरिकसँग भने, ‘सोहीअनुसार पार्टी छलफल र तयारीमा जुटेको छ।'

चैत १५ मा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले वैशाख ७ गतेभित्र उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो। जिल्ला र क्षेत्रलाई उम्मेदवार छनोटको अधिकार दिँदै कांग्रेसले जिल्ला र क्षेत्रीय सभापतिको संयोजकत्वमा उम्मेदवार छनोट संयन्त्र गठन गर्न पनि परिपत्र गरेको थियो। सोही परिपत्रअनुसार तल्लो तहबाटै उम्मेदवार छनोट र सिफारिसमा नेताहरू जुटे पनि आकांक्षीको संख्या धेरै हुँदा कतै पनि नाम टुंगो लागेको छैन।

त्यस्तै, पौडेल पक्षको असन्तुष्टिपछि उम्मेदवार मनोनयनपत्रमा हस्ताक्षरका लागि जिल्ला खटाइएका केन्द्रीय प्रतिनिधिमा  हेरफेर भएको छ। सभापतिले आफू निकट नेतालाई मात्र ठूलो र प्रभाव पार्ने जिल्लामा खटाएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि केही जिल्लाको नाम परिवर्तन गर्न सभापति तयार भएका हुन्।

खटिएका प्रतिनिधिको अधिकार स्पष्ट नभएकाले शुक्रबार बस्ने पदाधिकारी बैठकले उनीहरूको अधिकार तोक्नेछ। पदाधिकारीले नै उम्मेदवार मनोनयन पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्थाअनुसार सोही हैसीयतमा केन्द्रीय सदस्यलाई जिल्ला पठाउने निर्णय भएको जानकारी महतले दिए। उनले भने, ‘उम्मेदवार मनोनयनपत्रमा हस्ताक्षर गर्ने मात्र केन्द्रीय प्रतिनिधिको अधिकार हो।'

जिल्ला प्रतिनिधिका साथै निर्वाचनको तयारी कसरी गर्ने विषयमा आन्तरिक छलफल गरेको महतले जानकारी दिए।

यसैबीच, कांग्रेसले मधेस केन्द्रित दल निर्वाचनमा आए दुई चरणमा चुनाव गराउन पार्टी तयार रहेको दोहोर्‍याएको छ। प्रदेश नम्बर २ लाई मात्र छाडेर निर्वाचनमा जान नहुने पक्षमा कांग्रेस छ।

‘चुनाव गर्ने हो, यसलाई रोक्ने कुरा छैन,' महतले भने, ‘उनीहरू (मधेसी मोर्चा) चुनावमा आउँछन् भने दुई चरणमा जानुपर्छ।'

प्रकाशित: ८ वैशाख २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App