७ वैशाख २०८१ शुक्रबार
विचार

एउटा असाधारण मित्रताको २०० वर्ष

 भूगोल, संस्कृति र सभ्यता हरदृष्टिले आनका तान फरक पृष्ठभूमिका दुई मुलुक बेलायत र नेपालबीचको दुई सय वर्ष पूरा गरिसक्दा पनि कायम रहेको मैत्री सम्बन्धलाई कमसेकम असाधारण त भन्नैपर्छ। दुई सय वर्ष कुनै पनि मानेमा एउटा धेरै लामो कालखण्ड हो। यसबीचमा संसारमा ठूलठूला कायापलट भएका छन् तर एउटा असामान्य अवस्थामा सुरु भएको यो असाधारण मैत्रीमा भने खासै परिवर्तन भएको छैन । त्यस कुराको ज्वलन्त उदाहरण हो– यो मित्रताको २ सय वर्ष पूरा भएको अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले भव्य र शानदार उत्सव आयोजना गर्नु । र, त्यसमा सरिक हुने निम्तोलाई सहर्ष स्वीकार गर्दै एक मित्रको घरमा आएझैं राजकुमार हेनरी अफ वेल्स ( राजकुमार ह्यारी ) आफ्नी हजुरआमा बेलायतकी महारानी एलिजावेथ द्वितियाको शुभेच्छा लिएर आउनु । यो नै नेपाल–ब्रिटेन मैत्रीको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवको चरमोत्कर्ष थियो ।

                आतिथेय राष्ट्रका राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खाहरूबाट सुदृढ मित्रताको कडी दुई देशका सर्वसाधारण नागरिकसम्म प्रगाढरूपमा रहेको चर्चा गर्दै महारानी एलिजावेथको राज्यरोहणकै दिन २ जुन १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपल्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको खबर महारानीसमक्ष उपहारका रूपमा टक्र्याएका प्रसंग उल्लेख गरे ।

                राजकुमार ह्यारीलाई नेपाली हिमशृंखला र प्राकृतिक सौन्दर्यले मुग्ध तुल्याएका रहेछन् र उनले अरुलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरे । नेपालमा पछिल्लो पटकको भूकम्पबाट उत्पन्न विषम परिस्थितिमा पनि नेपालीको धैर्य र पुनर्निर्माणप्रतिको संकल्प र साहसबाट प्रभावित भएको बताउने राजकुमार ह्यारीले एउटा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा आफ्नो नियमित भ्रमण अवधि लम्ब्याउंदै ढुंगामाटो बोकी श्रमदान गरेर नेपाली जनमानसमा एकजना दयालु राजकुमारको अमीट स्थान बनाएका छन् ।

                राजकुमार ह्यारीले नेपाली जनता र खासगरी गोर्खाहरूको ब्रिटिस जनता र मेरो परिवारको हृदयमा विशेष स्थान छ भन्नु अत्युक्ति नहोला भन्दै २ सय वर्ष पुरानो हाम्रो मित्रता अरु सैयौं वर्षसम्म बनिरहोस् भन्ने कामना गर्दै नेपाल–ब्रिटेन मैत्रीको गाँठो अरु मजबुत तुल्याएका थिए । त्यस अवसरमा उनले बेलायतमा अदम्य साहस र बहादुरीका लागि प्रदान गरिने सबभन्दा उच्च सम्मान भिक्टोरिया क्रस पाएका १३ जना गोर्खाको भित्तेचित्र राजदूतावासको मुख्य हलमा अनावरण गरे ।

                त्यसैगरी सो द्विशतवार्षिकी सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन भने १४ मार्चमा ब्रिटिस राजपरिवारको प्रतिनिधित्व गर्दै ड्युक अफ् ग्लस्टर र  नेपालकी सांसद डा. आरजु देउवाबाट भएको थियो। ड्युक अफ ग्लस्टरले आफ्नो नेपाल भ्रमणको सुखद् संस्मरण गर्दै नेपाल अत्यन्त सुन्दर राष्ट् र नेपाली जनतालाई अत्यन्तै सहृदयी पाएको बताए । डा. आरजु देउवाले नेपालले दौत्य सम्बन्ध स्थापना गरेको पहिलो मुलुक बेलायत भएको उल्लेख गरिन् भने राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खा सैनिक दुई देशबीच                            सम्बन्धको सबैभन्दा बलियो कडी हुन् भन्दै नेपालको पूर्वाधार, स्वास्थ्य, शिक्षा र दूरसञ्चार जस्ता क्षेत्रमा बेलायतको महत्वपूर्ण सहयोग रहिआएको चर्चा गरे ।   

                सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिनको विषय ‘भिजिट नेपाल युरोप २०१७’ सम्बन्धी प्रस्तुतिका साथै ऐतिहासिक तथा सामाजिक महत्वका सय वर्षभन्दा पुराना फोटोचित्र तथा हिमाल शृंखलाका कलाकृतिको प्रदर्शनी उद्घाटन भयो । त्यसको भोलिपल्ट नेपाल–ब्रिटेन सम्बन्धका दुई सय वर्ष विषयक अन्तरक्रिया कार्यक्रम भयो जसमा प्राज्ञिक व्यक्तित्वहरूले सम्बन्धका विविध पक्षमाथि प्रकाश पारेका थिए । चौथो दिनको कार्यक्रम भने साहित्यिक माहौलमा सम्पन्न भयो । नेपालबाहिर पहिलोपल्ट साझा प्रकाशनका पुस्तक प्रदर्शनी भयो, बेलायतमा नेपाली कवि र कविता (डा. दुवसु क्षत्रीद्वारा सम्पादित कविता संग्रह) लोकार्पण भयो, दर्जनौं कविले रचना पाठ गरे भने धेरैले झण्डै आधा रातसम्म बसेर जीगिषा नाटक हेरे ।

                १८ मार्च भने दिनभरि नै भनेजस्तो स्वादिष्ट नेपाली खाना र कर्णिप्रय गानाहरूको संगीतमय वातावरणमा बितेको थियो जसमा सुप्रसिध्द गायिका मीरा राणादेखि १८ वर्षे स्थानीय किशोर कलाकारले समेत सुमधुर गायनद्वारा अतिथिहरूको भरपूर मनोरञ्जन गरेका थिए । त्यसको भोलिपल्ट व्यापार मेला र नेपालमा व्यापार तथा लगानीका अवसरबारे चर्चा चलेको थियो जसमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले केही जिज्ञासाको जवाफमा नेपालमा व्यापार तथा लगानीका लागि वातावरण अनुकूल रहेको बताएका थिए।

यसरी बेलायतस्थित नेपाली राजदूतावासले विभिन्न विषय केन्द्रित गरेर आयोजना गरेको सातदिने कार्यक्रम अति प्रभावकारी, सुव्यवस्थित, भव्य रह्यो । सबै कार्यक्रममा सम्बन्धित क्षेत्रका निम्तालुको बाक्लो उपस्थिति  देखिन्थ्यो । नेपालको हितमा सान्दर्भिक विविध प्रसंगमा रोचक प्रस्तुति तथा चर्चा भए । कार्यक्रममा बेलायती राजपरिवारका सदस्यका साथै बेलायत तथा नेपालका मन्त्री, सांसद, विभिन्न देशका राजदूत, विज्ञ र विशिष्ट व्यक्तिको उपस्थितिले बेलायत र विश्वमै समेत नेपाल र नेपालीको छवि उज्ज्वल हुनुका साथै सम्मान वृद्धि भयो । बेलायतबाट प्रकाशित हुने नेपाली समाचारपत्र र विद्युतीय सञ्चारमाध्यमका साथै बेलायती मूलधारका समाचारमाध्यमले पनि यो कार्यक्रमलाई महत्वका साथ स्थान दिए ।

       त्यति विविध र विस्तृत कार्यक्रम शतप्रतिशत निष्कण्टक र त्रुटिरहित हुन सक्तैन । यसमा पनि एकाध मानवीय भूलचूक र प्राविधिक त्रुटि नभएका होइनन् । तर तिनले यो कार्यक्रमको ओज र गरिमामा कुनै आँच पु¥याउन भने सकेनन् । लगातार सात दिनसम्म यति उच्चस्तरको कार्यक्रमको परिकल्पना, संयोजन, समन्वय र कार्यान्वयन  गर्नु धेरै ठूलो काम हो । यो पक्षको प्रशंसा धेरैबाट भयो पनि । ती सारा सफलताको जस बेलायतका लागि नेपाली राजदूत र राजदूतावास परिवारलाई जान्छ जसले ठूलो लगन, जाँगर र परिश्रम लगाएर नेपाल–ब्रिटेन सम्बन्धको दुई सय वर्ष पूरा भएको उत्सव सभ्य र भव्य तुल्याए ।

बिबिसी नेपाली सेवाका पूर्वप्रमुख

प्रकाशित: १६ चैत्र २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App