८ वैशाख २०८१ शनिबार
विचार

अर्बुद रोगको वर्तमान

वैज्ञानिक अनुसन्धान दिनानुदिन परिस्कृत हुँदै जान्छन्। उपलब्ध जानकारीका भरमा ठहर भएका निष्कर्षलाई नवीन सूचनाका आधारमा परिमार्जन गर्नु वैज्ञानिक मर्म हो। आजभन्दा भोलि अझ सत्यपरक परिणाम ल्याउनु नै अनुसन्धानको निचोड हो। उदाहरणका लागि २० वर्षअगाडि भित्रिएका भन्दा हाल बजारमा उपलब्ध टेलिभिजन सेट निकै परिस्कृत छन् तर सुधारको क्रम निरन्तर चलिरहन्छ। वर्तमानमा भन्दा भविष्यमा अझ असल परिणाम ल्याउनु रिसर्चको धर्म हो। सन् १९२३ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक रवर्ट मिलिकनले तत्वमा रहने सूक्ष्म कण 'इलेक्ट्रोन' को विद्युतीय चार्जको परिणाम एकिन गरेबापत नोवल पुरस्कार पाए। त्यसबखत उपलव्ध वैज्ञानिक उपकरणलाई उपयोग गर्दै प्राध्यापक मिलिकनले ठहर गरेको आकडा आधुनिक औजारको आविष्कारसँगै केही परिवर्तन भयो, गणितीय अंक फेरिए। तर त्यसको मतलव उनले गरेको अनुसन्धान गलत थियो भन्ने होइन बरु सूक्ष्म वैज्ञानिक उत्खननले प्राध्यापक मिलिकनको तथ्यांकलाई अझ शुध्द बनायो। विगतको भन्दा अझ असल भौतिक वस्तु तथा सुविधाको उपलब्धता विज्ञानको देन हो। रोग निदानका लागि विगतका भन्दा परिस्कृत औषधि बजारमा आउनु आयुर्विज्ञानको क्षेत्रमा भएको उत्खननको परिणाम हो। स्थापित मान्यताहरूलाई उपलब्ध वैज्ञानिक आकडाका आधारमा सुधार गर्नु अनि सर्वसाधारणलाई यथार्थपरक जानकारी दिनुसमेत विज्ञानकै अधिकार क्षेत्रमा पर्छ।

जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ।

संसारमा प्रत्यक परिवारमा क्यान्सरका कारण सदस्य मरेका छन्। मानिसमा अन्तरनिहित अणुवांशिक पदार्थ 'डिएनए' मा आउने विकृतिले गर्दा मानिसमा अर्बुद रोग लाग्ने हो। तर डिएनएमा विकृति आउने मुख्य कारण के हो भन्ने सम्बन्धमा वैज्ञानिक एक मत थिएनन्। दूषित खानेकुरा तथा वातावरणीय प्रदूषणले अर्बुद रोगीको संख्या बढ्यो भन्ने एक पक्षको राय थियो भने आमाबाबुबाट सन्ततिमा सर्ने डिएनएमा अन्तरनिहित खोटका कारण नै अधिकांश मानिसमा क्यान्सर रोग लाग्छ भन्ने अर्को पक्षको ठहर थियो। तर गत हप्ता प्रकाशित एक अनुसन्धानात्मक निष्कर्षले मानिसमा किन क्यान्सर लाग्छ भन्ने परम्परागत मान्यतालाई गलत सावित गर्‍यो। यस पंक्तिकारले डिएनएको खराबी तथा मरमतको क्षेत्रमा हासिल गरेको अनुुसन्धानात्मक अनुभव तथा क्यान्सरको कारकका सम्बन्धमा प्रकाशित अनुसन्धानका आधारमा यो आलेख तयार गरिएको यथार्थ जानकारी गराउन चाहन्छु।

प्रत्येक वर्ष लाखौँ वैज्ञानिकले गरेको अनुसन्धानको निचोड नेपाललगायत विश्वका विभिन्न साइन्स जर्नलमा प्रकाशित हुन्छन्। तर ती सबै पत्रिकामा प्रकाशित हुने लेखको स्तर फरक फरक हुन्छ। नेपाल केमिकल सोसाइटीको जर्नलमा छापिने आलेख र अमेरिकन केमिकल सोसाइटीको पत्रिकामा प्रकाशित रचनाको तौल समान हुन सक्दैन। पत्रिकाको विगत तथा आधिकारिकताका आधारमा संसारका जर्नललाई विभिन्न स्तरमा वर्गीकरण गरिन्छ। कुनै पत्रिका विश्वासै गर्न नसकिने कमसल छन् भने कुनै जर्नलको धरातल निकै उच्च स्थानमा देखियो। बेलायतबाट प्रकाशित हुने 'नेचर' र संयुक्त राज्य अमेरिकामा प्रकाशित हुने 'साइन्स' विज्ञानको क्षेत्रमा भएका उत्कृष्टतम अनुसन्धान छापिने पत्रिका हुन्। अधिकांश नोबल पुरस्कार पाउने वैज्ञानिक आलेख ती दुई जर्नलमा छापिने इतिहास स्थापित भएकाले त्यहाँ प्रकाशित अनुसन्धानले वैज्ञानिक क्षेत्रमा हलचल ल्याउँछन्।

उच्चस्तरीय प्रकाशकीय मापदण्ड तथा भिन्न चरणको आधिकारिक जाँचपछि मात्र लेखहरू छापिने भएकाले ती पत्रिकामा आउने खबरहरूको उच्च मूल्यांकन हुन्छ। गत हप्ता संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापकद्वय क्रिस्टियन टोमासेटी र बर्ट भोगेल्स्टेनको अनुसन्धान समूहले अधिकांश मानिसमा लाग्ने क्यान्सरको प्रमुख कारण विगतमा सोचिएझैँ दूषित वातावरण तथा पैत्रिक आणुवंशिक त्रुटि होइन बरु व्यक्तिको खराब भाग्य रहेको ठहर गर्दै एक अनुसन्धानात्मक लेख छापे पत्रिका साइन्समा। त्यसो त त्यही समूहले दुई वर्षअघि पनि त्यस्तै आशयको एक अनुसन्धान छापेको थियो 'साइन्स' मै। कुनै पनि समूहले विश्वका भिन्न स्थानका बासिन्दामा लाग्ने क्यान्सरको चिरफार गरेर उच्चस्तरीय पत्रिकामा अनुसन्धानात्मक लेख छाप्छ भने उक्त विषयमा सबैको चासो हुनु अस्वाभाविक रहेन। त्यसमाथि समाजका हरतप्काका व्यक्ति अर्बुद रोगको सिकार भएको अवस्थामा यस्ता अनुसन्धानको चर्चा सान्दर्भिक देखिन्छ।

संसार अति प्रदूषित स्थान तथा दूषित खानेकुरा खान बाध्य भएका गरिबदेखि विकसित तथा स्वच्छ नगरीमा बस्ने मानिसलाई मात्र उनीहरूले आफ्नो अनुसन्धानमा सामेल गरेनन् बरु परिवारका धेरै सदस्य भिन्न अर्बुद रोगबाट मृत्यु भएका बिरामीका सन्तान पनि जन्स हप्किन्सको रिसर्चमा परे। उदाहरणका लागि संसारभरकै आकडा हेर्दा पाचन प्रणालीअन्तर्गत नै पर्ने भए पनि सानो आन्द्रामा भन्दा ठूलो आन्द्रामा क्यान्सरको संक्रमण झण्डै १० गुणा अधिक भएको देखियो। बाह्य खराब खाद्यान्नको प्रभाव उत्ति नै पर्ने भए पनि ठूलो आन्द्रामा क्यान्सरको संक्रमण सानो आन्द्रा भन्दा अत्यधिक देखिनुले वातावरणीय प्रभावले क्यान्सरलाई निर्देशित नगरेको देखायो उक्त रिसर्चले। ठूलो जनसंख्या समेटेर विभिन्न १९ किसिमका क्यान्सर लागेका संसारका ६९ देशका बासिन्दाको सूक्ष्म अध्ययन गर्दासमेत व्यक्तिलाई लाग्ने क्यान्सरमा उक्त बिरामीको स्थानीय वातावरणीय तथा अनुवांशिक प्रभावको भूमिका अति न्यून रहने उनीहरूले ठहर गरे। धेरै धूमपान गर्ने व्यक्तिलाई फोक्सोको अनि सूर्यको नाड्गो प्रभावमा रहने व्यक्तिलाई छालाको क्यान्सर अलि बढी लागेको देखे पनि त्यसले अर्बुद रोगको भौगोलिक वितरणलाई उल्लेख्य असर नपारेको ठहर गरे उनीहरूले। आखिर अर्बुद रोग किन लाग्छ त भन्ने जिज्ञासाको खोजीमा लाग्दा उनीहरूले अनौठो संयोग देखे।

मानवीय तन्तुका कोशहरू मरणशील हुनाले त्यसको परिपूर्तिका लागि पुरानो कोश विभाजन भएर नवीन कोश बन्नु आवश्यक भयो। डिएनए कोशको महत्वपूर्ण तत्व हो। आणुवांशिक वस्तु भएकाले कोशले पूर्णाकार लिनका लागि डिएनएको निर्माण अपरिहार्य हुन्छ। मानव डिएनए निकै क्लिष्ट पदार्थ होे र निर्माणका लागि दुई अरब एकाइ नियन्त्रितरूपमा एकीकृत हुन आवश्यक हुन्छ। जटिल विधि भए पनि उक्त निर्माण पूर्णरूपले त्रुटिरहित हुनुपर्छ। कुनै पनि भागमा खोट देखिएमा उक्त खराबीले क्यान्सर रोग निम्त्याउन सक्ने भएकाले डिएनएको निर्माण कार्य अति नै नियोजित छ। तर जतिसुकै निष्ठावान भए पनि पटकपटक त्यही काम गर्दा कहिलेकाहीँ त्रुटि हुनु अस्वाभाविक होइन र नचाहँदा नचाहँदै हाम्रो शरीरका डिएनएमा खराबी आउँछ।

मानवका प्रत्येक तन्तुमा नवीन कोशको आवश्यकता समानरूपले हँुदैन। त्यसैले सबै अड्गमा कोशको निर्माण रफ्तार पनि फरकफरक हुन्छ। कुनै अड्गमा नवीन कोशको आवश्यकता अत्यधिक हुन्छ भने कहीँ एकदमै कम। अत्यधिक नवीन कोश आवश्यक पर्ने शरीरको भागमा डिएनएको निर्माण पनि धेरै हुन्छ। अत्यधिक निर्माणले त्रुटिपूर्ण आणुवंशिक पदार्थको सम्भाव्यता ल्याउँछ। तसर्थ, शरीरको कुनै पनि भागमा जति धेरै कोशको विभाजन हुन्छ उक्त अड्गमा क्यान्सर लाग्ने सम्भाव्यता धेरै रहन्छ। मानव शरीरको बनोटका कारण ठूलो आन्द्रामा कोशको विभाजन सानो आन्द्राभन्दा अधिक हुने भएकाले ठूलो आन्द्राको क्यान्सर संसारको जुनसुकै कुनामा बस्ने मानिसमा अधिक देखिन्छ। त्यस्तै मानिसको उमेर जति जति पाको हँुदै गर्छ उसको कोशको विभाजन स्वभावैले धेरै पटक हुन्छ, अनि खराब डिएनए बन्ने सम्भावना पनि उत्तिकै रहन्छ। तसर्थ, वृद्धावस्थामा अर्बुद रोग लाग्नु अन्यथा होइन तर त्यसको मतलब के भर्खरको लक्का जवानलाई क्यान्सर लाग्दै नलाग्ने त हँुदैन नि? अब त्यसको पर्याय उदाहरण हेरौँ।

जतिसुकै सावधानी अपनाए पनि छोटो दूरी तय गर्ने चालक भन्दा लामो यात्रा तय गर्ने ड्राइभरले हाँकेको सवारी साधन दुर्घटनामा पर्ने सम्भावना अत्यधिक हुन्छ। सधैँ गाडी हाँकिरहनुपर्ने भएकाले पेशेवर ड्राइभरको गाडी क्षतिमा पर्ने जोखिम धेरै हुन्छ। त्यसको मतलव थोरै समय गाडी हाँक्दा एक्सिडेन्ट नहुने होइन तर सम्भाव्यता कम हुन्छ। समान सावधानी अपनाएको अवस्थामा छोटो दूरीको चालकको गाडी दुर्घटनामा पर्‍यो भने त्यसलाई खराब भाग्यभन्दा अन्यथा के भन्ने? जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ तर त्यसले कति भूमिका खेल्छ, त्यो भने आफ्नै ठाउँमा छ।

क्यान्सरका कारण आफन्त गुमाएका व्यक्तिलाई कतिपय अवस्थामा आत्मग्लानि भएको देखिन्छ। आफूले समयमै फलानो परेज गरेको भए उक्त रोग लाग्ने थिएन, आफन्त स्वस्थ हुन्थ्यो भन्ने मनमा लाग्नु अन्यथा होइन। तर जोन्स हप्किन्सका प्राध्यापकहरूको वर्तमान अनुसन्धानले क्यान्सर लाग्नुमा आफ्नो भाग्यलाई भन्दा अन्य धेरै पक्षलाई दोष दिने ठाउँ देखिन्न। विज्ञानका अनुसन्धान परिवर्तनशील रहने भएकाले भविष्यमा अर्को निचोड ननिस्केला भन्ने त छैन तर वर्तमान अवस्थामा क्यान्सरको कारक आफ्नो खोटो भाग्य मान्दा अन्यथा नहोला। आखिर विज्ञान पनि त भाग्यमा आएर अडिएको देखियो।

प्रकाशित: १५ चैत्र २०७३ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App