१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन : पहिलो हुन होड

फाइल फाेटाे

पाँचथर – तत्कालिन गाउँ पञ्चायत तथा जिल्ला पञ्चायतमा स्थानीय स्तरको राजनीतिमा सक्रिय रहदैँ जिम्मेवारी ग्रहण गरेका हिलिहाङ गाउँपालिकाका पदसिंह लिङ्देन ७८ वर्षका भए ।  स्थानीय तहको निर्वाचन हुने भएपछि यो उमेरमा पनि उनी निक्कै हौसिएका छन्। 

पञ्चायत खुस्किएपछि राजनीतिक धार बदलेका लिङदेन गाउँपालिका कार्यन्वयन भएपछि प्रमुखको पद ताक्दैछन्। सोही गाउँपालिकामा पर्ने गोपेटार बजारमा गफिएका लिङ्देनले नागरिकसँग भने, ‘यही ठाँउको सेवामा यत्रो वर्ष बिताइयो, अब पहिला काम गरेका गाउँहरू पनि एउटै भएकाले  प्रमुखको तयारी गर्दैछु।  बुढेशकाल भयो, पहिलो पल्ट गाउँपालिकाको नेत्तृत्व गरौँ भन्ने लागेको छ ।  बैंशदेखि राजनीति गरेर जिल्ला विकास सदस्यसम्म पुगियो। जनताले पनि विश्वास गर्छन् जस्तो लाग्छ।’

नयाँ संरचना आएकाले पहिलो पल्ट प्रमुख हुने दावी आफूको रहेको लिङ्देनको तर्क छ । लिङ्देन जस्ता पुरानो पुस्ता, मध्यम पुस्ता र नयाँ पुस्ताले नगरपालिका तथा गाउँपालिकाको पहिलो प्रमुख हुने उत्कट इच्छा देखाएका छन् । लामो समय पछि हुन लागेको तल्लो तहको निर्वाचनमा नेतृत्वको जामले छनौट कठिनाई त छदैछ पहिलो पल्ट नेतृत्व ऐतिहासिक हुने दाउमा नेताहरू लागेका छन्।

नयाँ संरचनाको अनुभव हासिल गर्ने ध्येय धेरैको छ। पहिलो नेतृत्व लिएर ऐतिहासिक हुने होड गाउँ–गाउँमा पुग्दैँछ । प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष बढिले ताक्दैछन् । प्रमुख राजनीतिक दलहरूमा उम्मेद्वार बन्ने तछाडमाछाड सुरु भएसँगै राजनीतिक रस्साकस्सी निक्कै रोचक बनेको छ। पुराना पुस्ताका नेताहरु एकपल्ट नेतृत्व लिने प्रयासमा छन्। स्थानीय स्तरको निर्वाचन नहुँदा चेपुवामा परेका बीच पुस्ताका नेताहरुपनि लविङमा छन् । विद्यार्थी तथा युवा संगठनका राजनीति सिध्याएका नेताहरू पनि राम्रै पद ताक्दैछन् । अघिल्लो पुस्ताले नयाँ पुस्तालाई केटाकेटी देख्ने र युवाले अघिल्लो पुस्ताबाट काम लिन नसक्ने मानसकिता सजाएका छन्।

संविधानले प्रदान गरेका स्थानीय तहका २२ वटा अधिकार प्रयोग गर्नका लागि नेतृत्व दिने दौडधुप सुरु भएको छ । साविक गाविस अध्यक्ष झैँ मानिने वडा अध्यक्ष देखि सदस्यका लागि समेत लविङ सुरु भएको छ ।

अधिकार सम्पन्न स्थानीय तह बनेपछि नेतृत्वमा आउने इच्छा जनाउने संख्या उलेख्य देखिएको समाजिक अभियान्ता प्रेम ओझा बताउँछन् । गाउँ गाउँमा चुनावी माहोलसँगै नेतृत्वमा कस्ले पहुँच राख्ने सवाल पेचीलो बन्दै गएको ओझाको ठम्याई छ । जनता अत्यन्त उत्साहित देखिएका छन् । आफ्नो शासन आफैँ गर्ने लोकतान्त्रिक पद्दतिको अभ्यास भएकाले यो उत्साह छाएको ओझाको अनुभुति छ । पार्टी पार्टीहरू बीच लविङ गर्ने, छलफल, अन्तक्र्रिया निरन्तर छ। 

फिदिम नगरपालिकामा उम्मेद्वारी छनौट निक्कै पेचिलो हुने विश्लेषण गरिदैँछ। सदरमुकाम भएकाले बढी चर्चाको विषय फिदिम बन्दै छ। २७ हजार मतदाता रहेको फिदिमको वडादेखि नगरप्रमुख हुनेसम्मका दाउ धेरैले बनाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेमा नगरप्रमुखको दाबी गर्नेहरूको संख्या निक्कै ठूलो छ । नगरपालिकावाट ७२ जना निर्वाचित हुन्छन् । फिदिम नगरपालिका झैँ अरु सात गाउँपालिकामा चुनावी रौनक  छ । जिल्लामा ३ सय १६ जनप्रतिनिधि निर्वाचित हुने छन् । व्याक्तिगत प्रभावले पनि स्थानीय तहको निर्वाचनमा प्रभाव पर्ने भएकाले स्थापितहरु लविङमा जुटेका छन् । १ लाख १७ हजार जिल्लामा मतदाता रहेका छन् । एक सय वटा मतदान केन्द्र निर्धारण गरीएको छ।

महिलाहरूमा पनि उत्साह छ। प्रमुख वा उप्रमुख महिला उठाउने पर्ने राजनीतिक दल सम्बन्धि विधयेक पास भइ नसके पनि हुने अनुमानमा महिलाहरू नेतृत्व लिने दौडमा छन् । महिलाहरूको राजनीतिक सचेतना बढेकाले धेरै ठाउँमा आन्तरिक प्रतिस्पर्धा हुने देखिदैछ । वडा तहसम्म महिलाको सहभागिता सुनिश्चित भएपछि उत्साह देखिदैछ । महिलाहरु नेतृत्वको वातावरण बन्दै गएकोमा खुसी बन्दै गएको ओझा बताउँछन्।

सहभागिताका लागि भन्दा पनि नेतृत्वका लागि महिलाहरू उत्साहित भएको अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष मधु जवेगु बताउँछिन् । पहिलो पल्ट हुन लागेको नगरपालिका तथा गाउँपालिकाको चुनावमा नेतृत्वका लागि आकांक्षा राख्नु स्वभाविक रहेको उनको तर्क छ ।

प्रकाशित: १४ चैत्र २०७३ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App