४ वैशाख २०८१ मंगलबार
विचार

प्रदूषित नदी संस्कृति

केही दिन अघि मात्र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष ई. किशोर शाक्यले चाँडै नै बागमतीलाई प्रदूषणमुक्त मात्र होइन, बागमतीको दुवै किनारामा नदीलाई नियन्त्रण गरेपछि खाली हुन आउने जमिनमा सबैले घुम्न, बालबालिकालाई खेल्न हरियाली क्षेत्र र पार्कहरु निर्माण गर्ने कुरा राखेका थिए। यी कुरा त्यस समितिले आफ्ना विभिन्न गोष्ठी र बैठकहरुमा पनि राख्दै आएको हो। आशा छ, समितिले आफ्ना सबै क्रियाकलापलाई यसै दिशातर्फ अग्रसर गराउने छ।

बागमतीको प्रदूषण नदीको मात्र प्रदूषण होइन, यो त संस्कृति र सभ्यताकै प्रदूषण हो। बागमतीको प्रदूषणले हाम्रो आस्थामाथि ठूलो चोट पुर्‍याइरहेको छ।

मलाई याद छ, २०३०/२०३२ सालसम्म बागमती र उपत्यकाका अन्य नदी प्रदूषणरहित थिए। गोकर्ण, गुहेश्वरी, सूर्यघाट, आर्यघाटमा नदीबाट सिधा पानी झिकी पिउन सकिने अवस्था थियो। त्यस बखत गुहेश्वरी र सूर्यघाटमा मात्र होइन, शंखमूल, पचली, टेकु आदिका नदी किनारमा चाँदीजस्तै टल्कने असला माछा खेलिरहेका हुन्थे। साँच्चै भनौं भने २०३६ सालदेखि हाम्रा नदीमा प्रदूषण बढ्न थाल्यो। २०४६/२०४७ सालसम्म आइपुग्दा हाम्रा नदी यति धेरै प्रदूषित भए कि छुनसम्म पनि डराउनु पर्ने अवस्था आयो। २०४८ सालमा मेरा बुबाको स्वर्गारोहण हुँदा आर्यघाटमा नुहाउनुको सट्टा म घाटमा जडान गरिएको कलधारामा नुहाउन बाध्य भएँ।

बागमतीलाई स्वच्छ, निर्मल र प्रदूषणरहित बनाउन, धेरै योजना बने, केही योजना कार्यान्वयन पनि भए तर समस्या आर्यघाटसम्म आइपुगेर पनि अधुरै रहे। हाम्रा प्रदूषित नदी सँगसँगै चराचुरुङ्गी, जलचर आदि बाँच्न र हुर्कने वातावरण नै रहेन। फलस्वरुप ती सबै हाम्रा नदीहरुबाट एकपछि अर्को गर्दै हराउन थाले। यति मात्र होइन, प्रदूषित नदीले हाम्रो जीवन र समाजमा नै धेरै परिवर्तन ल्याइदिएको छ। हाम्रो धर्म, परम्परा र संस्कृतिलाई नै प्रदूषित गर्नुका साथै लोपोन्मुख बनाइदिएको छ।

आमाको दुई धारा दूधले झैं बागमती र विष्णुमती नदीले नेपाल–मण्डल (काठमाडौं उपत्यका) लाई सभ्यताको सुरुवातदेखि नै अमृत समानका स्तनपान गराई हुर्काइ बढाइ आज यहाँसम्म ल्याइपुर्‍याएको छ। नेपाल–मण्डलका बासिन्दाको जीवनमा जन्मेदेखि मृत्यु र मृत्युपर्यान्त पनि आफ्ना सन्तान भएसम्म पितृहरुको कुनै पनि श्राद्ध गर्दा यी नदीहरुकै शरणमा पुगिन्छ। उपत्यकाभित्र मनाइने सबैजसो ठूला र महŒवपूर्ण चाडपर्व, जात्रा, उत्सव, मेला आदिको पनि यी नदीसँग गहिरो सम्बन्ध गाँसिएको छ। जबसम्म यी नदीको पानी स्वच्छ र निर्मल थियो, काठमाडौं उपत्यकाबासी प्रत्येक संक्रान्ति, एकादशी, औँसी र अन्य पर्वको सखारै स्नान गरी आत्मा र शरीर शुद्ध र स्वच्छ बनाउँथे। विगत चार दशकदेखि यी नदी प्रदूषित भएकाले काठमाडौंका बासिन्दाहरुले अब यी विशेष तिथि र पर्वहरुमा समेत स्नान गर्न छाडिसकेका छन्।

जबसम्म नदीहरु स्वच्छ र निर्मल थिए, मानिसले वर्षभरि कुनै पनि पावन दिनमा जस्तै सूर्यग्रहण, चन्द्रग्रहण, शिवरात्रि, एकादशी, पूर्णिमा, तिज, गौरापर्व, छठपर्व आदि दिनहरुमा दान, दक्षिणा र स्नान गर्नेहरुको भीड हुन्थ्यो। हाल पशुपति आर्यघाटमा बाहेक अन्य घाटमा श्रद्धालुहरुले स्नान, दान, धर्म, पूजाआजा गर्ने चलन प्राय हराइसकेको छ।

हिन्दु धर्म, संस्कृति र परम्परामा जन्मदेखि मरणसम्म सनातन रुपमा नेपाली जाति र खासगरी राजधानीबासीको दैनिक निष्ठा, कर्म, पाठपूजा, व्रत, श्राद्ध, तर्पणादी, स्नान, नित्यकर्म विधि व्यवहारका लागि भगवान श्री पशुपतिनाथ र गुहेश्वरी माईको पावन पाउ स्पर्श गरेर बग्ने बागमतीको पानीको स्पर्शले मात्रै जीवन धन्य हुने र यी नदीहरुको तिरमा बनेका ब्रह्मनालमा पार्थिव शरीर बिसाउन पाए स्वर्गको बाटो खुल्ने हिन्दुहरुको मान्यता छ तर प्रदूषणका कारणले क्रमशः यी विश्वास धर्मराउँदै जान थालेका छन्। सायदै कोही मरेपछि यहाँको फोहोरमा आफ्नो शरीरमा बिसाउन चाहन्छ।

बागमतीको महŒव र महिमालाई ध्यानमा राखी बागमतीको तीर्थयात्रा गर्ने प्रचलनको इतिहास निकै प्राचीन मानिन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिनदेखि वैशाख शुक्ल पूर्णिमाका दिन समापन गरिने बागमती तीर्थयात्रा २०४३/२०४४ सम्म येनकेन चलिरहेकोमा हाल बन्द भैसकेको छ। बागमतीको तीर्थयात्रा गर्ने चलनको इतिहासबारे हिमवत् खण्ड नेपाल महात्म्य र पशुपति पुराण आदिमा वर्णन पाइन्छ। यसै तीर्थयात्राबाट विरुपाक्षले मातृसंभोग जस्तो जधन्य अपराधबाट दोषमुक्त भएका थिए भन्ने घटनालाई स्मृति गर्दै तीर्थ जानेहरुले पनि आफूले गरेका पापहरुका साथै पितापुर्खाले जानी–नजानी गरेका ज्ञात–अज्ञात दोष–पापको मोचनका लागि बागमती तीर्थयात्रा गर्दै आएका थिए। उपत्यकाका तीनै सहरका बासिन्दाका लागि माघ महिना अति नै महŒवको थियो र छ। यो महिनाभर टोल, टोलका युवा तथा बूढापाकाहरु भजन गाई, शिवको जय जकार गरी धार्मिक झण्डाहरु हल्लाई, शंखनाद गर्दै आ–आफ्ना टोलका नजिकैको घाटमा गई नुहाई, धुवाई गरी पूजापाठ गरी लावा लस्करका साथ पहिलेझैँ भजन गाई शिवको जयजयकार र शंखनाथ गरी टोलमा जहाँबाट जम्मा भइगएका थिए त्यही फर्की विर्सजन गर्ने र अन्तिम दिन विभिन्न धार्मिक ग्रन्थ र कथाहरुमा आधारित दृश्य सजिव प्रस्तुत गर्न जीवित व्यक्तिहरु राखी खटयात्रा गर्ने चलन आज आएर सबै टोलहरुबाट हराइसकेको छ तर काठमाडौं महानगरपालिका र सरकारी कोषको सहायतामा वटु टोलबाट मात्र यस्तो खट यात्रा गर्ने चलन केही वर्ष अघिसम्म चलिनैरहेको थियो। त्यसरी नै नवरात्री अर्थात् दसैंका नौ दिन नै बागमतीका विभिन्न तीर्थ गई स्नान गर्ने चलन प्रायः हराइसकेको छ। काठमाडौं उपत्यकाका बौद्धमार्गीहरुले नेवारी महिनाको नवौं महिनामा महिनाभर मनाउने ‘गँुला’ पर्वमा महिनाभर नै धर्मभिरु महिला नदीमा आई बालुवा वा भातको मिसावट गरी स–साना चैत्य बनाई पूजाआजा गरी नदीको दोभानमा गई बगाउने चलन पनि प्रायः हराइसकेको छ।

बागमतीको पानी प्रदूषित भएकै कारण केही दशकदेखि पशुपतिनाथलाई दैनिक स्नान गराउन पनि पञ्च देवल नजिकैको इनारबाट पानी ल्याउने गरिएको छ। हाम्रा पवित्र नदी प्रदूषित हुनाको मुख्य कारण काठमाडौं उपत्यकामा दिनानुदिन बढेको जनघनत्व हो। मृत्युपछि दाहसंस्कार गर्ने हाम्रो चलनले गर्दा पशुपति आर्यघाट, भश्मेश्वरघाट लगायत बागमती र विष्णुमतीका सबैजसो घाट र नदी किनारमा खरानीलाई वर्षामा बाहेक अन्य समयमा बगाउने क्षमता हुँदैन। त्यो फोहोर नदीभित्र फ्याँकिन्छ र प्रदूषित हुन्छ। प्रदूषणको अर्को कारण सहरको चारैतिरका बस्तीबाट घरघरको फोहोर र ढल नदीमा मिसाउनु हो। जनघनत्वका कारणले फोहोर ढलको परिमाण पनि यति धेरै छ कि पशुपतिदेखि नै बागमतीको पानी कालो, गन्हाउने र ढलको रुपमा बगिरहेको छ। यो पानी यति दूषित छ कि, छुनासाथ हात चिलाउन थाल्छ। उपत्यकाबासीहरुको मृत्यु संस्कारका विभिन्न विधिहरु यी नदीहरुमा गई गर्नुपर्ने भए पनि धेरै कुराहरु प्रदूषणको कारणले हराइसकेको छ। तसर्थ प्रदूषणका कारण उपत्यकाबासीको सांस्कृतिक परम्परा र रीतिरिवाजमा ह्रास आउनु स्वभाविकै भए पनि नेपालभरबाट आउने धार्मिक श्रद्धालु भक्तजनहरुलाई पनि यी प्रदूषित नदीले धार्मिक आस्था र विश्वासमा समेत चोट पुर्‍याइरहेको छ। 

प्रकाशित: १० चैत्र २०७३ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App