८ वैशाख २०८१ शनिबार
समाज

'असईको पेस्तोल भारतीयले लुटे'

पुनर्वास (कञ्चनपुर)- गत बिहीबार आनन्दबजारमा प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको सात राउन्ड गोली लोडेड पेस्तोल भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोल लुटेर लगेको बताए। भारतीय पक्षबाट हानेको इँटा लागेर असई भट्ट ढलेपछि उनको कम्मरमा राखेको पेस्तोल लुटिएको देउजाको भनाइ छ। 'भारतीय सुरक्षा फौजले पेस्तोल लुटेको हो वा भारतिय नागरिकले भन्ने कुरा यकिन हुन सकेको छैन', उनले भने। भारतीय सुरक्षा अधिकारीसँगकोे बैठकमा असईको पेस्तोल लुटेर लगेकाले खोजेर फिर्ता दिन आग्रह गरिएको उनले बताए। 'भारतीय सुरक्षा अधिकारीसँगको काउन्टर पार्ट बैठकमा पेस्तोल लुटिएकाले खोजबिन गरी फिर्ता दिन कुरा राखिसकेका छौं', उनले भने। लुटिएको पेस्तोल फिर्ता आउने उनले बताए।

एसएसबीले समेत प्रतिकारमा उत्रेका स्थानीय बासिन्दालाई ढुंगासमेत हानेको स्थानीय विनोद गौतमले बताए। एसएसबीले बन्दुकको कुन्दाले समेत हानेको उनले बताए। एसएसबीले सात राउन्ड हवाईफायर गरेपछि ठानेदारले पेस्तोलबाट चार राउन्ड फायर गरेको प्रत्यक्षदर्शी पुनर्वासका देवेन्द्र खड्काले बताए। तीन गोली मिस गए पनि चौथो गोली गोविन्दको कम्मरमा लागेको उनले बताए।

पुनर्वास नगरपालिका आनन्दबजार  नजिक नाालामा दुई देशका सुरक्षा अधिकारीको सहमतिबमोजिम बनाइएको कच्ची कल्भर्ट एसएसबीले भत्काएपछि विवाद भएको थियो।  आफ्नो भूमिमा बनाएको कल्भर्ट भत्काएपछि स्थानीय प्रतिकारमा उत्रेका थिए। प्रतिकारमा उत्रेका बेला भारतीय सुरक्षाफौजको गोली लागेर ३० वर्षीय गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए।

प्रकाशित: ३ चैत्र २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App