८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय तहकाे संरचनाअनुसार साइनबोर्ड, लेटरप्याड र छाप फेरिँदै

इलास्थित जिल्ला समन्वय समितिको कार्यालय । तस्बिरः भीम चापागाईं

इलाम– सरकारले स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’मा परिवर्तन गरिएको छ। 

‘हामीले राजपत्रमा सूचना प्रकाशित भएपछि आइतबार नै साइनबोर्ड परिवर्तन ग¥यौं,’ योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले भने, ‘कार्यालयको लेटरप्याड, छापलगायत पनि परिवर्तन भइसक्यो ।’ उनले कार्यालयको बैंक खाताको नाम परिवर्तनका लागि सोमबार नै पत्र पठाएको बताए । ‘नाम परिवर्तनप्रक्रियामा बैंक खाता केही दिन रोक्का हुन्छ, त्यसपछि नयाँ नामअनुसार चालू हुन्छ,’ उनले सुनाए । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश–२०७३’ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन् । जिविससहित जिल्लाका नगरपालिका र गाउँपालिकाले पनि धमाधम साइनबोर्ड, लेटरप्याड, छाप र बैंक खाताको नाम परिवर्तन भइरहेको जनाएका छन् । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिको साइनबोर्ड सोमबार दिउँसोसम्म परिवर्तन गरिएको छैन । तर, कार्यालयले लेटरप्याड र छाप भने परिवर्तन गरिसकेको शाखा अधिकृत रामकुमार साहले बताए । पुनर्संरचना गर्दा इलाम नगरपालिकामा वरिपरिका १० गाविसमध्ये कुनैको पूरै र कुनैको केही अंश गाभिएको छ ।     नगरपालिकाको नाम परिवर्तन नभएपनि मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश–२०७३’ अनुसार यसको नाम भने ‘इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय’ रहने छ । ‘नयाँ नामअनुसार साइनबोर्ड लेख्न दिएका छौं,’ साहले भने, ‘छाप र लेटरप्याड नयाँ नामअनुसार नै चलिरहेको छ ।’ सूर्याेदय नगरपालिकाले पनि लेटरप्याड र छाप परिवर्तन गरिसकेको छ । ‘साइनबोर्डमा नगरपालिकाको नामपछि २०७३ साल थपियो, अरू परिवर्तन गर्नुपर्दैन,’ कार्यालयका कर्मचारी हरि गुरागाईंले भने । उनले लेटरप्याड र छाप परिवर्तन गरी ‘सूर्याेदय नगरपालिका, नगर कार्यपालिकाको कार्यालय’ राखेको जानकारी दिए । 

जिल्ला समन्वय समितिका अनुसार जिल्लाका १० वटै नयाँ स्थानीय तहको केन्द्रका कार्यालयको नाम परिवर्तन भइरहेको छ । ‘भौगोलिक रूपले सदरमुकामभन्दा टाढाका गाउँ र नगरपालिकाको साइनबोर्ड, लेटरप्याड र छाप परिवर्तन गर्न केही समय लागिरहेको छ,’ समितिका प्रशासकीय अधिकृत खतिवडाले सोमबार दिउँसो भने, ‘आज–भोलितिर सबै स्थानीय तहको साइनबोर्ड, लेटरप्याड र छाप परिवर्तन भइसक्छ ।’ 

नयाँ संरचनाअनुसार जिल्लामा ४ नगर र ६ गाउँपालिका कार्यान्वयन भएका छन् । इलाम, सूर्याेदय र देउमाई नगरपालिकालाई केही गाविस गाभेर विस्तार गरिएको छ भने माई नगरपालिका थप गरिएको छ । जिल्लामा फाकफोकथुम, चुलाचुली, माइजोगमाई र माङ्सेबुङ गाउँपालिका घोषणा गरिएको छ । 

 

प्रकाशित: ३० फाल्गुन २०७३ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App