८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अवकाश चाँडो नलिएकै राम्रो

६० वर्ष उमेर पुगेपछि सामान्यतः धेरैले अवकाशको जीवन बाँच्छन्। कतिपय अवस्थामा अनिवार्य अवकाशको सीमा पनि यही तोकिएकाले (नेपालमा त ५८ वर्ष) पनि सक्रिय जीवनबाट अवकाश लिने गरिएको छ। तर हालै हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनले अवकाश लिन नहतारिनु नै उचित भएको र लामो समयसम्म सक्रिय जीवन बिताउने व्यक्ति स्वस्थ र खुसी हुने गरेको देखिएको छ।

हार्वर्ड विश्वविद्यालयको अध्ययनलाई न्युयोर्क टाइम्सले उद्धृत गर्दै भनेको छ, ‘कहिलेकाहीँ उमेरका कारण हामीले अनिवार्य अवकाश पाउने गरे पनि त्यसपछिको जीवनलाई सक्रिय बनाउन आंशिक जागिरेजीवन वा स्वयंको व्यवसाय चलाउने उपाय खोज्दा हामी बढी खुसी हुन सक्छौँ ।’

पूर्व शिक्षक मार्क ट्रुइटले निकैअघि अवकाश पाइसकेका हुन् । ७० वर्षको उमेरमा पनि उनी आंशिक शिक्षणमा व्यस्त छन् । उनी भन्छन्, ‘मेरा केही साथीहरु पनि मजस्तै थोरबहुत सक्रिय हुने प्रयासमा छन्। उनीहरुमध्ये जो सक्रिय रुपमा शिक्षणमा छन् वा आंशिक रुपमा सक्रिय छन्, तिनीहरुको तुलनामा सक्रिय नहुने दुःखी छन्, रोगी छन् ।’

‘ज्येष्ठ नागरिक भइसकेपछि पनि यसरी सक्रिय रहँदा मानिसले जीवनको उद्देश्य फेला पार्छ, जीवनको एउटा नियमितता हुन्छ,’ सेन्टर फर द स्टडी अफ मार्केट रिफर्म अफ एजुकेसनमा कार्यरत ग्याब्रियल हेलर सल्ग्रेन भन्छन्, ‘तपाईंले काम गरुञ्जेल एउटा सामाजिक सञ्जालमा हुनुहुन्छ, एक किसिमको वातावरणमा हुनुहुन्छ अनि जसै तपाईंले काम छाड्नु हुन्छ, सुरुमा त तपाईंलाई छुट्टीजस्तो महसुस हुन्छ र रमाउन थाल्नु हुन्छ । केही समयपछि तपाईंले कुनै उद्देश्य फेला पार्न सक्नु भएन भने समय व्यतीत गर्न गाह्रो हुन थाल्नेछ ।’

हुन पनि कुनै काममा व्यस्त रहँदा त्यो कामसँगै धेरै कुरा तपाईंसँग जोडिन आइपुग्छ । समस्या आउँछन्, समस्या समाधानतर्फ तपाईंको ध्यान केन्द्रित हुन्छ र नकारात्मक सोचलाई तपाईंले कामबाटै जित्नु हुन्छ।

यसको अर्थ नमरुञ्जेल सबै जना काममा जोतिनुपर्छ भन्ने पनि होइन । सक्रिय हुने चाहना राख्ने सक्रिय भएकै राम्रो र जो आराम गर्न चाहन्छ– उसले वास्तविक रुपमा अवकाशपूर्ण जीवनको रमाइलो भोग्नुपर्छ । तर जो स्वस्थ छ, जसलाई फुर्सदमा बस्न मन लाग्दैन र केही न केहीमा संलग्न भइरहन मन लाग्छ, त्यस्ता व्यक्तिले चाहिँ अवकाशको जीवन रोज्नु रोग निम्त्याउनुसरह हुन पुग्छ ।

ग्याब्रियलले अवकाश–जीवनमाथि पिएचडी शोध गरिरहेका छन् । उनको शोधले देखाउँछ, जुन व्यक्तिले मनले नचाही अवकाशको जीवन बाँचेका छन्, तिनीहरुको जीवनशैली र स्वास्थ्यमा केही वर्षपछि प्रभाव देखापर्न थाल्छ । यस किसिमको प्रभाव चाहे स्त्री होऊन् या पुरुष, जुनसुकै जाति र धर्मका भए पनि त्यो कुप्रभावबाट जोगिन सक्तैनन् ।

७२ वर्षीय विलियम वेल्स जुनियर अझै पनि साताको २० घण्टा काम गर्छन् । उनकी नातिनी जन्मिएपछि उनले काममा निकै कटौती गरे तर पनि सातामा १० घण्टाले आफ्नो जीवन सन्तुलित हुन्छ भन्ने ठानेका छन् । उनी व्यापार–कन्सल्टेन्ट हुन् । ‘सामाजिक रुपमा सक्रिय रहन, भेटघाट गर्न र व्यापारका लागि सघाउ पु¥याउन म सातामा १० घण्टा कम्तीमा काम गर्छु,’ विलियम भन्छन्, ‘यसो गर्दा म समाजबाट बाहिरिएको अनुभव गर्दिनँ । घरैमा बस्ने हो भने त म टिक्न सक्तिनँ होला !’

त्यस्तै स्यारोन विल्स उमेरले ६५ कटिन्। उनी कामका लागि जुन कार्यालय छिरेकी थिइन्, त्यहीँ अझै पनि काम गरिरहेकी नै छिन्। ‘मैले कहिल्यै पनि घरमा राम्रो काम गर्न सकिनँ,’ उनको भनाइ छ, ‘अब यो उमेरमा गएर त झन् के नै गरूँली !’ उनी सन् २०११ मै अवकाश पाइसकेकी थिइन् र एक वर्ष अवकाशपूर्ण जीवन बिताएर हेरिन् पनि। एक वर्षपछि उनले काम गरेकै कम्पनीले पुनः काममा इच्छुक छन् कि भनी जिस्क्यायो। उनी तत्काल तयार भइन् ।

यसको अर्थ सबै बूढाबूढी उमेर घर्किसकेपछि यत्तिकै सक्रिय र सशक्त हुन्छन् भन्ने होइन। कतिपयले त बूढाबूढी हुँदै गएपछि जागिरबाट कम पैसा पाउन थाल्छन् । त्यो झन् पीडादायी हुन्छ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App