४ वैशाख २०८१ मंगलबार
कला

ज्याज शैलीमा दीपक खरेल

काठमाडौं- गायक दीपक खरेलका सबैभन्दा मन पर्ने गायक थिए, नारायणगोपाल। खरेल एकपटक गजल रेस्टुरेन्ट गएका थिए, त्यहाँ गाउने गायकले धेरै गीत गाए तर नारायणगोपालका गीत गाएनन्। खरेल ती गायकलाई नारायणगोपालको गीत किन नगाएको भन्दै झम्टन गएका थिए।

खरेलको मन पर्ने गायक नारायणगोपाल भएझैं नारायणगोपालका पनि मन पर्ने गायक दीपक खरेल थिए।  पत्नी पेमला गुरुवाचार्यले भन्ने गरेकी थिइन्, 'मेरो बुढापछि मलाई मन पर्ने गायक दीपक खरेल नै हुन्।'

शनिबार लेखक तथा चलचित्रकर्मी प्रकाश सायमीले दीपक खरेलसम्बन्धी यस्ता धेरै रोचक किस्सा सुनाए। उनको गायकीको सुरुवातदेखि उपलब्धिसम्मका चर्चा गरे। तर, यो सबै चर्चाको सन्दर्भ थियो– दीपक खरेलको एकल गायन। दीपक खरेल लामो समयपछि 'विकेन्ड क्लासिक' शीर्षकमा एकल गायनका लागि याक एन्ड यति होटलमा पाँचजनाको ब्याकअप ब्यान्डसहित उपस्थित थिए। प्रकाश सायमीले सूत्रधारको रुपमा दीपक खरेलको गायकीबारे प्रकाश पार्दा छेउमा बसेर सुनिरहेका खरेल माइक आफ्नो हातमा परेपछि भने विनम्र भए। उनले भने, 'प्रकाशजीले अलि धेरै नै बखान गर्नुभयो। त्यति चैं म होइन।' यसपछि माइकमा उनको जादुमय स्वर गुञ्जन थाल्यो। खरेलले वन्दनाबाट आफ्नो गायकीको श्रीगणेश गरे।

उनलाई सुन्न उपस्थित करिब पाँच सय दर्शकलाई लक्षित गर्दै खरेलले पहिलो गीतको रुपमा 'बादल बनाइदेऊ' गुञ्जाए। खरेलसँगै पूरा हल गाउन थाल्यो, 'आकार बदल्न सकुँ...'। यसैबाट थाहा हुन्थ्यो, आजका दिनमा एफएम रेडियोमा नबजे पनि खरेल थुप्रै मानिसको दैनिकीमा गुन्जिरहेका छन्। पहिलो गीत गाएसँगै उनले नयाँ पुस्तासँग सहकार्य गर्ने हेतुले एकल गायनका लागि राजी भएको बताए। 'पुराना मेलोडीलाई नयाँ तरिकाले प्रस्तुत गर्ने प्रयास हो। तपाईंहरुको इमानदार प्रतिक्रिया मेरा लागि महŒवपूर्ण हुनेछ,' दोस्रो गीत सुरु गर्नुअघि उनले भने।

यसपछि उनले दीपक जंगमको संगीत र नरेन्द्रराज प्रसाईंको शब्दमा रेकर्ड भएको 'बिहानी सिरेटोमा' गुञ्जाए।

अर्थ मन्त्रालयबाट हालसालै रिटायर्ड भएका खरेल नारायणगोपाल, माणिकरत्न र प्रेमध्वज प्रधानको जगजगी भएका बेला ०३५ मा गायनमा प्रवेश गरेका थिए। उनले नारायणगोपालको युगमा पनि आफ्नो बेग्लै पहिचान बनाए। उनीसँगै आएका प्रकाश श्रेष्ठ त्यो स्वर्णिम युगको चर्चित गायक थिए।  प्रकाश श्रेष्ठ भने आजभोलि गायनबाट ओझेल भइसकेका छन्। खरेल संगीतमा नयाँ 'इनिङ' खेल्न तयार छन्। शनिबारको एकल साँझ उनको यस्तै 'इनिङ'को शुभारम्भ थियो।  करिब ६६ वर्षीय खरेलले ३० नकटेका युवासँग जोशका साथ गीत गाए। 

कार्यक्रममा खरेलले 'मेरो संसार तिमी नै हौ', 'पूर्णिमाको रात पनि', 'तिम्रो हर प्रश्नको जवाफ', 'सम्झनाको गोरेटोले', 'सँगालेका हरेक प्रेमकथाहरु', 'यो हल्लाको परिधिभित्र', 'गरुँ कि मीठो भुल' 'तिम्रो त्यो हँसिलो मुहारको', 'प्रतीक्षा गर मेरी मायालु' र 'सुनसान रात'मा बोलका गीत सुनाए। केही गीतका रचनागर्भ खरेलले बताए भने केही औपचारिक गायन सुरु हुनुअघि नै प्रकाश सायमीले।

'पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो... यो सदावहार अभिनेता भुवन केसीले एक समय अत्यधिक सुन्ने गीत थियो। किनकि यो गीतमा भुवन केसीको पहिलो प्रेमिकाको नाम थियोे,' सायमीले भने।

दीपक खरेलका सबै गीतलाई ज्याज शैलीमा प्रस्तुत गरिएको थियो। बेस गिटारिस्ट रजत राईले खरेलका सबै गीतलाई ज्याज शैलीमा अरेन्जमेन्ट गरेका थिए। यही कारण पुरानै स्वरुपमा गीत सुन्ने अपेक्षा गरेका केही पारखी खल्लो मानिरहेका थिए।  गायन सक्ने हिसाबले माइक थमाउन लागेका खरेललाई पछि यस्तै पारखीले माइक बिसाउन दिएनन्। बिना ज्याज अरेन्जमेन्टका गीत सुन्ने आग्रह गरे। खरेलले दर्शकको आग्रह स्विकारर्दै राष्ट्रिय भावका गीत सुनाए– यो कर्मभूमिको आँगनमा। तैपनि यस्ता दर्शकको मेख मरेन। 'वन्स मोर'को आवाज आइरह्यो। दर्शकले 'प्रतीक्षा गर मेरी मायालु' गाउन आग्रह गरे। दर्शकको अनुरोधमा खरेलले सोही गीत गाएपछि एकल गायनको डेढ घन्टाको समय थाहै नपाई सकियो।

१९७४ एडीका लिड गिटारिस्ट मनोज केसी र मनीष श्रेष्ठको संयोजकत्वमा खरेल एकल गायनमा नयाँ पुस्तासाथ प्रस्तुत भएका हुन्।  नागरिक दैनिक र रोयल ट्रेजरको सहकार्यमा प्रस्तुत कार्यक्रममा खरेललाई काठमाडौं ज्याज कन्जर्भेटरीका सदस्यले ब्याकअप ब्यान्डको रुपमा सघाएका थिए। एकल गायनका लागि खरेललाई गितारमा महेश तन्डुकार, ड्रम्समा निराजन तन्डुकार, पियानोमा डेनियल सुब्बा, बेस गितारमा रजत राई, सेक्सोफोनमा इनप श्रेष्ठ र लिड गितारमा मनोज केसीले साथ दिएका थिए।

आयोजक मनोज केसीले हरेक तीन महिनामा पुराना गायकलाई एकल गायनमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए। उनले आउँदो मार्चमा झम्सिखेलस्थित मोक्षमा पनि खरेललाई नै प्रस्तुत गर्ने योजना रहेको जनाए।

'विस्मृत हुँदै गरेका पुराना गायकलाई  नयाँ पुस्तासँग प्रस्तुत गर्ने आसय हो,' मनोजले भने, 'अवकाश लिन खोजेका संगीतकर्मीलाई पालैसँग प्रस्तुत गर्नेछौं।'

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App