७ वैशाख २०८१ शुक्रबार
ब्लग

'कांग्रेसले एमालेसँगको सम्बन्ध किन तोड्यो?'

कार्यक्रममा सहभागी हुँदै नेता पाैडेल।

लन्डन—राष्ट्रवाद भनेको हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्ने सोच हो। तराईमूलका नागरिकलाई तिमीहरु विखण्डनकारी हौ भन्दै झन उता धकेल्नु भनेको राष्ट्रघात हो। कांगे्रस, एमाले र माओवादी भएर संविधान जारी भयो तर मधेश सन्तुष्ट छैन। त्यसलाई छोड्न हुँदैन, कांगे्रस, एमाले र माओवादी गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ।

यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो। एमाले त्यागेर मधेशसँग नजिँकिँदा केही सकरात्मक परिणाम देखियो। संसद छोडेर गएका, मतदान गर्न आए, अहिले वार्तामा छन्। म केही समय अघि वीरगन्जदेखि जनकपुरसम्म गएको थिएँ। धेरै समयपछि तराईमा कांगे्रसको झन्डा जतासुकै फराइएको थियो। मधेश आन्दोलनमा दबिएर बसेका हाम्रा साथीहरुले राहतको अनुभव गरे।

कांग्रेस, एमाले गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ। यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो।

माधव नेपाल जन्मे हुर्केको र चुनाव जितेको ठाउँ गौरमा उहाँ १० मिनेट बस्न सक्नु भएको छैन। म त्यहीँ बास बसेँ। भोलिपल्ट बिहान चिया नास्ता गर्दै निस्केँ। माधव नेपाल र रामचन्द्र पौडेलमा किन फरक भयो? माधव नेपाल र रामचन्द्र पौडेलकोे मधेशी जनतालाई हेर्ने दृष्टिकोण फरक भयो। मधेशी जनता नेपाली दाजुभाई हुन्।

उनीहरुलाई साथै लिएर देश बनाउनुपर्छ भन्दै म गएँ। यिनीहरुले देश विखण्डन गर्छन भनेर आग्रह राखेपछि मधेशी जनताले उनलाई स्वागत गर्न सकेनन्। त्यो कुराको आत्मसमीक्षा एमाले साथीहरुले गर्नुहोस् भनेर मैले भनेँ। म पनि यो संविधान जारी गर्ने मान्छे हुँ, एमालेलाई किन त्यस्तो व्यवहार, मलाई यस्तो व्यवहार किन? आत्मसमीक्षा गर्नुहोस् भनेँ।

एमालेका साथीहरुले मधेशमा अभियान चलाउने भन्नुभएको छ। राजमार्गमाथि पहाडिया बस्ती भएको ठाउँ, पूर्वमा झापा, मोरङ, धरान र पश्चिममा पनि पहाडी समुदायको बस्ती भएको ठाउँमा मात्र अभियान चलाउँदै हुुनुहुन्छ। मधेशको मुख्य भागमा अहिले पनि एमाले जान सकेको छैन। एमाले आफैँले खाडी निर्माण गरेको हो।

नेपाल भनेको विविधतामा एकता हो, मधेशी, थारु, मुस्लिम, जनजाति, महिला, दलितलगायतको विविधतालाई एकतामा ल्याउने हो। नेपालको राष्ट्रिय राजनीति भनेकै विविधतालाई एकतामा परिणत गर्ने हो। सामान्ती युगमा भेदभाव थियो। जातिपातीको भेदभावलाई मेटाएर लैजानुपर्ने ठाउँमा जातीय नारा उरालेर नेपाली दाजुभाइबीचमा झगडा गराउनेहरुलाई के भन्ने ? अहिले अफ्रिकाको कतिपय मुलुकमा के हालत छ?

देशमा जातीयताको विष फैलाउने काम ज–जसले गरे, त्यसका पछाडि ठूलो षड्यन्त्र छ, डिजाइन छ। यो डिजाइनबाट पनि हामीले देश बचाउनु छ। हाम्रो पार्टीभित्रै पनि डिजाइन छ। भाषण राम्रा गर्छन् तर त्यो कुनै डिजाइनबाट सञ्चालित छ। बीपी र गिरिजाबाबुले ग्रान्ड डिजाइन भन्नुहुन्थ्यो। त्यो ग्राण्डडिजाइनका खलपात्रहरु कति छन् हाम्रो पार्टीभित्र। त्यसलाई पनि बुझ्न जरुरी छ।

प्रजातन्त्रको जननी देश बेलायतमा तपाईंहरु बस्नुभएको छ। यहाँबाट नेपालमा रहेका दाजुभाइलाई राम्रो शिक्षा, सन्देश र उदाहरण दिनुहोला भन्ने हामी आशा गर्छौं। यहाँका हाम्रा बुद्धिजीवी साथीहरु, ब्रिटिस गोर्खाका साथीहरु यहाँको प्रभाव उहाँ, उहाँको प्रभाव यहाँ पार्न सक्नुहुन्छ। यत्रो ठूलो जनसंख्या यहाँ बसोबास गरेको छ, त्यसलाई नकरात्मक असर पर्छ कि भनेर सावधान त भइदिनुप¥यो नि। देशमा नराम्रो छाप पर्छ कि भनेर चिन्तित हुनुप¥यो नि। आफूले प्रतिस्पर्धा गर्दा अथवा राजनीति खेल खेल्दा त्यसको असर त्यत्रो ठूलो समुदायमा पर्छ कि भनेर तपाईंहरुले चिन्ता लिइदिनु प¥यो।

हामी संयमित भएर, एकताबद्ध भएर मिलमिलाप गरेर विचार र सिर्जनाको पक्ष तथा रचनात्मक पक्षलाई अगाडि ल्याएर त्यो ठूलो समुदायलाई प्रभावित पार्नुपर्छ भन्ने कर्तव्यप्रति तपाईंहरु सतर्क हुनुहोस भनेर बुद्धिजीवी साथीहरुलाई आग्रह गर्दछु।

नेपालको राजनीति अप्ठ्यारो भएको छ। मंसिरभित्र चुनाव सम्पन्न गर्नुपर्नेछ, पुस लागेपछि चुनाव हुन सक्दैन। तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने, अहिले एउटै चुनाव पनि टुंगो छैन। संविधान संशोधन नगरी हामी चुनाव मान्दैनौं भन्ने मधेशी दलहरु, संविधान संशोधन कुनै हालतमा गर्न दिँदैनौं भन्ने एमाले, मधेशले नमानेसम्म चुनावको घोषणा गर्दिन भन्ने प्रधानमन्त्री प्रचण्ड। यही तीनवटाको माखेसाङ्लोमा नेपालको राजनीति अड्किएको छ । यो गाँठोबाट राजनीति फुकाउनुपर्ने छ ।

संविधान संशोधनको प्रस्ताव हामीले लगिदिएका छौं, टेबुल गर्दिऔं, हामी चुनावमा सहभागी हुन्छौं मधेश केन्द्रित दलहरुले भनेका थिए। टेबुल गरिसक्यो, अगाडि बढिसक्यो, अनुकूल परिस्थितिमा भोलि एमाले र राप्रपालाई सम्झाएर पास गर्ने अवस्थामा पु¥याउँला। अहिले पास गर्न एकतिहाई बहुमत तयार छैन। संविधान संशोधनको कुरा उठाएर चुनावको कुरा रोक्नु भएन। देशलाई चुनावमय बनाउ, संशोधन विधेयक पास गर्नलाई अनुकुल बन्दै जान्छ भनेर मधेशका राजनीतिक दललाई हामी भनिरहेका छौं।

यता एमाले संविधान हामीले जारी गरेको भनेर गर्व गर्ने तर संविधान कार्यान्वयन होस् भनेर एमालेले चिन्ता लिने कि नलिने ? एमालेले अलिकति पछाडि हटेर भए पनि मधेशी जनताको विश्वास जित्न लचकता देखाउने कि नदेखाउने? एमाले र मधेशी मोर्चालाई एउटा ठाउँमा ल्याउने प्रयत्न कांगे्रसले गरिरहेको छ। मुलुकलाई निकास दिनैपर्ने छ। प्रधानमन्त्रीले चुनाव घोषणा गर्न ढिलाई गर्दै जानुभएको छ। यो चिन्ताको विषय हो।

पहिला चैत भनिएको थियो, त्यसपछि बैशाख भनियो, अहिले जेठ भनिएको छ, यसरी चुनाव नै नहुने हो भन्ने आशंका बढदै गएको छ। म आशावादी मात्र कुरा गर्न चाहन्न, यसपटक व्यवस्थाको टुंगो लगाएर छोड्नुपर्छ। विगत ७० वर्षदेखि नेपालमा सिस्टमको टुंगो भएन।

(नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा लण्डनमा आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित: ३ फाल्गुन २०७३ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App