coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नुनबहादुरहरू जिन्दाबाद!

हिजोआज नुनको भाउ बढेको छ। नुनमा शरीरलाई अत्यावश्यक आयोडिन र अन्य पदार्थ मिसाएर समेत बेचिने भएकाले हो या महँगीले अचेल यसको भाउ छोइनसक्नु छ। त्यहीं महँगो नुन खाएका केही नुनबहादुर भने अचेल देशलाई सखाप पार्ने खेलमा मस्त छन्। हिजोआज सहरभित्र र बाहिर जताततै नुनबहादुरहरूकै बोलवाला छ। स्वस्थानी कथाको महिना सकिँदै गर्दा यहाँ अत्यन्त शक्तिशाली, भ्रष्ट र राष्ट्रघाती नुनबहादुरहरूको महिमा बुझ्नैपर्ने देखिन्छ।

एकाथरि नुनबहादुर छन्, जो देशभित्र बस्दैनन् किन्तु परदेशमा बसेर विभाजन, विखण्डन र उपद्रो मच्चाउन तल्लिन छन्। अनि यिनै बहादुर बेलाबेलामा अन्तर्राष्ट्रिय संस्थाको निगाहामा दैनिक ५० हजारदेखि २–३ लाखसम्म ‘परामर्श’ खर्च भरेर काठमाडौँका तारे होटलमा ठूला गफ दिएर फेरि फर्कन्छन्, अर्को गफको प्रतीक्षामा।

आवाज सुनिन थालेका छन् :  खसआर्य अस्ति भर्खर आएर यहाँका रैथानेलाई शोषण गरेर बसेका हुन्। पृथ्वीनारायणले युद्धमा मानवअधिकारको उल्लंघन गरे। निकै हास्यास्पद तर्क छन् यी।

विदेशमै बस्ने यही झुण्ड फेरि मिथक, इतिहास र तथ्य कथेर दौडधुप गरी ‘देश त बाहुनले खाएर ध्वस्त पार्‍यो’ भनेर अर्को हौवा फिँजाउन व्यस्त हुन्छन्। लाग्छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले बोल्ने झूट यी नुनबहादुहरूको कथाभन्दा धेरै मत्थर छ।

यिनै नुनबहादुर फेरि विविध अन्तर्राष्ट्रिय संस्थाको घोडा चढेर बढाइचढाइ गरी अनेकन ‘रिपोर्ट’ तयार पारी त्यसकै आडमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार लेखेर अर्को हौवा फैलाउँछन्। संविधानको खाका तयार हुँदै गर्दा नेपाली कांग्रेसका एक उच्च तहका नेताले भनेको आज पनि उत्तिकै समयसापेक्ष लाग्छ, ‘यो देशमा विदेशी हुण्डी नखाई संविधानका विषयमा प्राज्ञिक ज्ञान लिने मान्छे नै पाइएनन्!’

विडम्बना छ। नुनलाई नुन भन्नै सक्तैनन्, नुनबहादुरहरू। भारतीय नाकाबन्दीलाई यी नुनबहादुरहरूले कहिल्यै 'भारतीय नाकाबन्दी' भन्न सकेनन्। भारत सरकारको जुन तर्क थियो, त्यही थियो, यी नुनबहादुहरूको तर्क त्यसताका।

हिटलरले आफ्नो राजनीतिक भाग्य बढ्दै गर्दा तत्कालीन जर्मनीको सम्पूर्ण समस्याको जरो यहुदीलाई ठानियो। उनीहरूलाई देशबाट लखेट्नु पर्छ र तिनले सञ्चालन गरेका उद्योगधन्दा खोसेर अन्य जर्मन नागरिकलाई चलाउनुपर्छ भन्ने अभियानको अन्त्यमा ६० लाख यहुदीको नरसंहार भयो। त्यसपछि मात्र जर्मनी होशबाट ब्युँझियो।

आज शंका र डर दुवै छन्। कतै नुनबहादुरहरू त्यही बाटोमा त लागेका छैनन्? आवाज सुनिन थालेका छन् :  खसआर्य अस्ति भर्खर आएर यहाँका रैथानेलाई शोषण गरेर बसेका हुन्। पृथ्वीनारायण शाहले युद्धमा मानवअधिकारको उल्लंघन गरे।

निकै हास्यास्पद तर्क छन् यी। तत्कालीन शासकहरूमा आफ्नो राज्य विस्तार गर्ने विश्वव्यापी अभियान थियो। युरोपमा ठूला शासक आफ्नो राज्य बढाउन विभिन्न युद्धमा होमिए। फ्रान्सका सम्राट नेपोलियनले कति लाख मान्छे मारे होलान्, कति सर्वसाधारण मानिसले अनाहकमा मृत्युवरण गर्नुपर्‍यो होला? आज आएर नेपोलियनलाई हिटलरसँग दाँज्न मिल्छ? पृथ्वीनारायण शाहलाई गाली गर्न मिल्छ? उनले युद्ध जिते, आफ्नो राज्य विस्तार गरे।

नुनबहादुहरूको अर्को जत्था देशभित्रै छ। यी बहादुरको तर्क छ– नेपालभित्रका विशेष जातिलाई खसआर्यले शोषण गरेर राखेका थिए। तत्कालीन शासक नेपालभित्र मगर, यादव, नेवार, क्षत्री आदि थिए। समय चक्रमा विभिन्न समूहले विभिन्न स्थानमा राज्य गरे र अन्यलाई शोषण गरे। त्यहाँ कुनै जात विशेषले अर्को जात/समूहलाई हिटलरी पारामा नरसंहार र निकाला गरेको इतिहास छैन।

जुम्लाको बाहुन र रौतहटको साह त्यत्तिकै पीडित थिए। आज जाजरकोटको ‘शोषक बाहुन’को अवस्था सप्तरीको दलितको भन्दा कुनै हिसाबले राम्रो छैन। आज किन सुदूरपश्चिमका अधिकांश जिल्ला मानव विकास सूचकांको पुछारमा छन्? त्यहाँका ‘खसआर्य शोषक’सँग त अनगिन्ती सम्पत्ति र सुविधा हुनुपर्ने किन हरेक वर्ष भोकमरी टार्न विश्व खाद्य संगठनले बाँड्ने चामल कुनुपर्ने लाजमर्दो विवशतामा हामी बाँचिरहेका छौँ?

अर्कोथरि नुनबहादुरहरू छन् यहाँ, जो हरदिन समाजलाई भड्काउन, चोइट्याउन र बिगार्न उद्यत छन्। अनि त्यही बहादुर कुनै अन्तर्राष्ट्रिय संस्थामा ‘परामर्शदाता’ बन्छ अनि समाज यसरी बिग्रियो, यसरी बनाउनुपर्छ भनेर आफ्नो ‘बौद्धिकता’ प्रदर्शन गर्छ। त्यही बहादुर मौका पर्‍यो भने आफैँले लेखेको समस्या र समाधान लिएर अर्को ‘प्रोजेक्ट’ बनाउँछ र पैसा लिएर एक साता गाउँ जान्छ। दुईचार जनालाई नमस्कार गर्छ, फोटोलाई फेसबुक र टुइटरमा हाल्छ। एकछिन ‘काठमाडौँका नश्लवादी बाहुनक्षत्री’लाई गाली गर्छ, बस् २–४ करोड त आइहाल्यो! देश त भड्खालोमा जाकियोस्, के मतलब!

देशमा विभेदमा छ त सरकारी तहमा अनेकन् आरक्षणका व्यवस्था गरिएका छन्। त्यो राज्यले स्वीकारेको यथार्थ के हो भने– राज्य सञ्चालकहरूले कुनै समयमा विभिन्न जाति, समुदायलाई विविध सुविधाबाट वञ्चित गरेका थिए। र, आज हामी ती ऐतिहासिक गल्ती सच्याउने प्रयासमा छौँ तर त्यसको मतलब यो पनि हैन कि आजका खसआर्यले ती परापूर्वकालका शोषणको जिम्मेवारी लिऊन्। नुनबहादुर भने त्यही चाहन्छन्।

नुनबहादुरलाई देशको ठूलै चिन्ता छ। यो देश विकास भयो भने यहाँका नागरिकले सुख पाउँछन्, राम्रो शिक्षादीक्षा पाउँछन्, स्वास्थ्य आदिमा सबैको पहुँच हुन्छ। जनता काममा लागेपछि यी बहादुरका पछाडि अन्धाधुन्द कुद्ने ‘मुर्गा’ पाउँदैनन्। अनि यिनीहरूको भ्रमको खेतीपाती सकिन्छ। यसैले यो देश विकास होला र अघि बढ्ला भनेर खुबै चिन्तित छन् नुनबहादुरहरू।

फेरि यहाँ नुनबहादुरको पनि तह छ। अलिअलि पढेका र सहरमा डुलिरहने केही नुनबहादुर देशबाहिर बस्ने नुनबहादुरको ‘परामर्शदाता’ बन्छ। उसले आफ्नो बुद्धि, विवेक, समाज र इतिहास सबै बिर्सन्छ र ठूला नुनबहादुरको आज्ञालाई शिरोपर गर्दै हल्ला मच्चाउँछ। किनकि, उसले देखेको छ, ठूला नुनबहादुरको सहरमा चर्चा छ। ठूलाले उसका कुरा सुनेका छन्। कालान्तरमा त्यो ‘परामर्शदाता’ नुनबहादुर ठूलो नुनबहादुरभन्दा चर्को भएर निस्कन्छ।

संविधान घोषणापश्चातै एकाथरि नुनबहादुर खुबै जंगिए। नेपालको संविधान नश्लीय, पहाडी र मधेसीलाई व्यापक भेदभाव गरेको छ आदिइत्यादि। केही विदेशी र विदेशी मिडियाले पनि हो मा हो मिलाए। त्यसपछि संविधान संशोधनको अहिले चर्को बहसमा यी नुनबहादुरले धम्की दिँदैछन् कि देश टुक्रन्छ।

गज्जब छन् यी नुनबहादुरका तर्क। देश कुनै सानो कम्पनी होइन, यसो २/४ जनताले मिथकका तथ्यमा कुर्लंदैमा टुक्रने। देश कुनै एक विशेष जाति या भूगोलको बिर्ता होइन– हल्लाले टुक्र्याउन। तर टुक्रन्छ या टुक्र्याउन सकिन्छ भन्ने विचार चाहिँ फैलाउने, असफल षडयन्त्र बुनिँदै गर्दा हाम्रा नुनबहादुरहरू मज्जाले प्रयोगमा आइरहेका छन्। नुनको सोझो न गर्ने हुन्, नुनबहादुरहरूले!

आधुनिक नेपाल राज्य विस्तार हुँदै गर्दा आजको हाम्रो समथर तराई–मधेसमा बस्ती समेत नभएको इतिहासकारहरूले लेखेका छन्। तर यी तथ्यलाई बेवास्ता गरेर ‘आन्तरिक उपनिवेश’ थियो भन्ने भ्रम फैलाएर देश टुक्राउन खोज्ने तत्वलाई मलजल गर्दैछन्, हाम्रै नुनबहादुरहरू।

पक्कै पनि इतिहासका बारेमा अनुसन्धान, विमर्श र विश्लेषण हुनुपर्छ। हाम्रो इतिहास धेरैजसो व्यक्ति र सत्ता केन्द्रित छन्। तत्कालीन समाज र त्यसका बारेमा धेरै कम खोजिएका र झनै कम लेखिएका छन्। यसर्थमा पनि विभिन्न रुपका नुनबहादुहरूले खेल्ने मौका पाएका छन्, खेल्दैछन्। तर तथ्य र इतिहासलाई छोपेर, संशोधन गरेर जबरजस्ती मनगढन्ते कथालाई हाम्रो राष्ट्रिय बहस र नीतिनिर्माणमा प्रवेश गराउनु अन्ततोगत्वा घातक हुन जान्छ।

देश, समाज र हाम्रो अर्थतन्त्रका विविधता जोड्ने धागोहरूले मात्र अघि बढ्न सक्छौँ। यसलाई बंग्याएर, छलकपट गरेर कुनै जात या समाज विशेषलाई गाली गरेर हामी टुट्ने मार्गतर्फ मात्र अघि बढ्छौँ।

अर्काको नुनमा डकारेर, मुख नुनिलो पारेर देशलाई सिध्याउने तŒवका मतियार बन्ने यी नुनबहादुरहरू केवल शक्ति दलाल हुन्। यी बहादुरहरूमा आफ्नो तर्क छैन, आफ्नो विवेक प्रयोग तिनले कमै गर्छन् र उक्साहटमा जे पनि गर्न तयार हुन्छन्।

आज यो देशमा अलिकति बुझेको, देखेको र पढेको नागरिक कुनै जाति, क्षेत्र या समाजलाई राज्यले विभेद गरोस् भन्ने चाहँदैन। कुनै जाति या लिङ्ग विशेषलाई मात्र ध्यान दियोस् या अघि बढाओस् भन्नेमा छैन। देश तब मात्र अघि बढ्छ, जब समाजका तप्कातप्कामा नागरिक अघि बढ्न सक्छन्।

नुनबहादुरकै प्रसंगमा हालै एक जना साथीले भने, ‘यहाँ त म नुनै नुनबहादुर मात्रै देख्छु, को नुनबहादुर हुन् र को होइनन् पत्ता लगाउनै गाह्रो छ।’ तपाईं हामी पनि कतै यी नुनै–नुनबहादुरको जालझेलमा त छैनौं?

ट्विटर : @subhash580 

प्रकाशित: २७ माघ २०७३ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App