८ वैशाख २०८१ शनिबार
अर्थ

सूर्याेदय नपाको बजेट साढे १६ करोड

पत्रकारिता क्षेत्रबाट नगरपालिकाको विकासमा योगदान गरेवापत रेडियो फिक्कल एफएमकी पत्रकार शुष्मा श्रेष्ठलाई पुरस्कृत गरिँदै । तस्बिरः भीम चापागाईं

फिक्कल (इलाम)– जिल्लाको सूर्याेदय नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७४/०७५ का लागि १६ करोड ३७ लाख ८६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ । नगरले भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन र भू–संरक्षण, विद्युत्, शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रका नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको हो ।

फिक्कलमा आयोजित चौथो नगर परिषद्को निर्णय सार्वजनिकीकरण समारोहमा कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले आउँदो वर्ष नगरको आन्तरिक आय १ करोड रुपैयाँ अनुमानित रहेको बताए । उनले चालू वर्ष उपभोक्ता समितिमार्फत विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको भन्दै ठेक्कामार्फत गरिने कामको पनि ठेक्का आह्वान भइसकेको बताए । ‘यो वर्ष नगरले नयाँ काम गरेको छ,’ उनले भने, ‘नगरपालिकाको नगर गान र नगर चिह्न छनौटको काम अन्तिम चरणमा छ ।’

कार्यकारी अधिकृत भट्टराईका अनुसार आउँदो वर्षका लागि नगरको जनसंख्या तथा सामाजिक विकास कार्यक्रमका लागि ७ करोड ४९ लाख ९३ हजार ५ सय ५०, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार निर्माणका लागि ५ करोड ७४ लाख ६३ हजार र समपूरक कोषका लागि १ करोड १५ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । संगठन तथा प्रशासनसम्बन्धी कार्यक्रमका लागि ८३ लाख ५० हजार, कृषि, वन तथा वातावरण कार्यक्रमका लागि ४५ लाख ९ हजार, जलस्रोत तथा भूमि र विविध कार्यक्रमका लागि ४३ लाख ४० हजार र साझेदारी कार्यक्रमका लागि २५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

नगरले भौतिक पूर्वाधारतर्फ रकम विनियोजन गर्दा ५ लाख रुपैयाँभन्दा घटी विनियोजन गर्ने पद्दति स्थापित हुनु र ५० लाख रुपैयाँभन्दा माथिका पूर्वाधार सम्भाव्यता अध्ययनपछि मात्रै निर्माण गर्ने निर्णय आउँदो वर्षका लागि सबल पक्षमा राखेको छ । ‘मानवीय समृद्धिसँग आबद्ध गर्न सकिने योजना पहिचान गरी गुरुयोजनाको काम अघि बढाएको, नगरपालिकालाई व्ययभार नपर्नेगरी दीर्घकालीन रूपमा फोहोरमैला व्यवस्थापन र यसलाई मोहोरमा परिणत गर्ने आधार तयार हुनु पनि यसको सबल पक्ष हो,’ उनले भने, ‘आयस्रोत क्षेत्र विस्तार र सबै नगरबासीलाई आबद्ध गर्न नसक्नु, समुदायको लगानी सुनिश्चित हुन नसक्नु, न्यून आयस्रोतका कारण जनअपेक्षालाई पूर्णता दिन नसक्नु र अव्यवस्थित बजार व्यवस्थित गर्न नसक्नुजस्त पक्षमा सुधार गर्नु आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्याेदय नगरपालिकास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष राजकुमार दाहाल, गीतकार ज्ञानेन्द्र गदाल, नगर विकास संयोजक सुजन नेपाललगायतले बजेट, नीति तथा कार्यक्रमलाई शुभकाना दिएका थिए ।

त्यस अवसरमा नगरपालिकाले चालू आर्थिक वर्ष नगरको चौतर्फी विकासमा योगदान गर्ने नगरबासीलाई सम्मान पनि गरेको छ । पत्रकारिताको क्षेत्रबाट नगरको विकासमा योगदान गर्ने फिक्कल एफएमकी पत्रकार शुष्मा श्रेष्ठ, लामो समयदेखि प्रशासनिक काम गर्ने झलनाथ पोख्रेल र नगरपालिका चिनाउने गीत लेखनमा सर्वाेत्कृष्ट भएका ज्ञानेन्द्र गदाल, विपन्न परिवारमा आयआर्जन कार्यक्रम सचेतना केन्द्रबाट रत्ना देवान र नगरलाई सबैभन्दा बढी कर बुझाउने करफोक विद्या मन्दिरलाई पुरस्कृत तथा सम्मान गरियो ।

नगरपालिका क्षेत्रबाट गतवर्षको प्रवेशिका एसएलसी परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने कृष्णाश्रम माविका छात्र अनुप गजुरेल, वीरेन्द्र माविकी छात्रा अर्पणा राई, दलित समुदायबाट उत्कृष्ट नतिजा ल्याउने गणेश गजमेर, लोपोन्मुख समुदायबाट  उत्कृष्ट नतिजा ल्याउने अस्मिता लाप्चालाई पनि त्यस अवसरमा पुरस्कृत गरियो । कार्यकारी अधिकृत भट्टराईले सबै पक्षको प्रतिबद्धता र सहयोग हुँदा आउँदो वर्षको कार्यक्रम नगरपालिकाको मुहार फेर्न कोसेढुंगा साबित हुने दाबी गरे ।


    

प्रकाशित: २५ माघ २०७३ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App