coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमले ल्यायो चौथो चिनियाँ जहाज

काठमाडौं- राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले चौथो चिनियाँ जहाज बुधबार काठमाडौं ल्याएको छ। निगमले ल्याएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको यो नयाँ जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एकेटी' कलसाइन दिएको छ। निगमले यो जहाजको नाम 'गौंथली' राखेको छ। निगमसँग यही सिरिजको एकथान जहाज भने सञ्चालनमा छ।

'चीनबाट चौथो जहाज ल्यायौं,' निगमका कर्पोरेट डेपुटी डाइरेक्टर शैलेश कंसाकारले बुधबार नागरिकसँग भने, 'नयाँ जहाजले १० दिनपछि नियमित व्यावसायिक उडान सुरु गर्ने छ।'

उनका अनुसार यो जहाजलाई नेदरल्यान्डका क्याप्टेन रोबर्टस भर्बोङ्क र को–पाइलट मार्क एबोन्चरले उडाएर ल्याएका थिए। चीनको कुन्मिङमा गत सोमबार आइपुगेको यो जहाज बर्माको याङ्गुनबाट मंगलबार बेलुका भारतको कोलकाता आएको थियो। त्यसपछि बुधबार दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। यसअघि यो जहाज गत शनिबार नै आउने तालिका थियो। विविध कारण सोमबार आउने भनिए पनि बुधबार आइपुगेको हो।

निगमले दुईथान वाई१२–ई जहाजबाट सातामा ३८ उडान गर्ने तालिका बनाएको छ। यी जहाजले काठमाडौंबाट पोखरा र भैरहवाका लागि सातामा १४/१४, सिमराका लागि सातामा ७ तथा मेघौलीका लागि सातामा तीन उडान गर्ने निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले जानकारी दिए। हाल एकथान वाई१२–ईले पोखरा र भैरहवाका लागि प्रत्येक साता ७/७ उडान गरिरहेको छ।  

नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान चिनियाँ जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको छ। यी जहाज अर्थ मन्त्रालयले डेढ प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ। सहुलियत ऋणको ६० प्रतिशत चीनलाई भुक्तानी भइसकेको छ। यो भनेको २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ हो।

जसअनुसार निगमले २०७१ वैशाख १४ मा एकथान 'मोडर्न आर्क' (एमए–६०) र कात्तिक १७ मा एकथान वाई१२–ई ल्याएको थियो। एमए–६० ले असार ११ बाट र वाई१२–ईले पुस पहिलो साताबाट नियमित उडान सुरु गरेको थियो। १८ सिटे भने पनि वाई१२–ई मा १७ सिटमात्र छन्। यी दुइटै जहाज अनुदान सहयोगमा प्राप्त भएका थिए।

अहिले आएको वाई१२–ई भने ऋण सहयोगमा खरिद गरिएको हो। यसअघि माघ १३ मा आएको ५६ सिट क्षमतायुक्त तेस्रो चिनियाँ जहाज एमए–६० पनि ऋण सहयोगमै किनिएको हो। अब चीनबाट बाँकी दुईथान वाई१२–ई ल्याउन बाँकी छ।

गत पुस ११ मा निगमले 'चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको' पुनः घोषणा गरेको थियो।

पहिलो वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो। तर, उक्त एक वर्ष वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो। चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले उल्टै ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो। 

प्रकाशित: २० माघ २०७३ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App