४ वैशाख २०८१ मंगलबार
अर्थ

करेसाबारीमा हिङ र मरिच

चितवन- हिङको सुगन्ध र मरिचको स्वादसँग अपरिचित हुने नेपाली कमै होलान्। हिङ कसरी उत्पादन हुन्छ र मरिच कहाँ फल्छ भन्नेबारे धेरैलाई थाहा नहोला। भरतपुर उपमहानगरपालिका– १९ फूलबारीका किसान चन्द्रप्रसाद अधिकारी भने घरलाई चाहिने हिङ र मरिच आफ्नै कसेराबारीमा फलाउँछन्।

हिमाली क्षेत्रबाट हिङ, बिरेनुन, जिम्मु बेच्न आउनेलाई सोध्दा चन्द्रप्रसादले हिङको रूख हुन्छ भन्ने थाहा पाएका थिए। त्यसपछि उनी हिङको रूखको खोजीमा लागे। भरतपुरमा रहेको आधार फलफूल नर्सरीमा बिरुवा भेटियो पनि। आठ वर्षअघि उनले घरअगाडि सो बिरुवा रोपे। रोपेको दुई वर्षपछि हिङ निस्कन थालेको छ। वर्षमा उनले लगभग तीन सय ग्राम हिङ जम्मा गर्छन्। यति भए घरायसी प्रयोगलाई जति पनि पुग्छ।

 रूखको हाँगोमा पात निस्कँदै बाँकी रहेको टुप्पा वा मुनाबाट गर्मीका बेला सुगन्धयुक्त थोरै चोप निस्केर सानो कणको रुपमा बस्छ, त्यही नै हिङ हो। रूखको डाँठ काटेर आउने चोपलाई पनि हिङको रुपमा प्रयोग गर्न नमिल्ने होइन तर उनले पालुवाको टुप्पामै हुने चोपलाई प्रयोग गरेका छन्। घरलाई चाहिने जति आउने भएका कारण डाँठ काट्न नथालेको उनले बताए।

पिरो स्वाद हुने मरिच औषधीय गुण बोकेको मसला हो। मरिच देशभित्र खासै उत्पादन हुँदैन। मरिच खासगरी भारतबाट आयात हुन्छ।

चन्द्रप्रसादले मरिच पनि घरमै फलाउँछन्।

अधिकारीले १२ वर्षअघि पूर्वाञ्चल जाँदा मरिचको बिरुवा ल्याएका थिए। घरमा बिरुवा लगाएको दुई वर्षपछि फल्न थालेको मरिच कुनै वर्ष आधा र कुनै वर्ष एक किलोसम्म फल्ने गरेको उनले बताए। यति मरिच भएपछि वर्ष दिनलाई ढुक्क हुने उनको भनाइ छ। बिरुवा लगाउन फागुनको अन्तिमदेखि चैतसम्म उपयुक्त हुने अधिकारीले बताए।

'झापादेखि इलाम जाने बाटोमा बास्तोलाहरूको कृषि फार्म रहेछ। त्यहाँ उनीहरूले सुपारीसँगै कफी र मरिच पनि रोपेका रहेछन्। १२ वर्षअघि त्यो ठाउँमा पुगेको थिएँ,' अधिकारीले भने। त्यहाँबाट उनले १० सुपारी, चार कफी र एउटा मरिचको बिरुवा ल्याएर रोपे।

'नेपालमा मरिच लगाएको अन्यत्र कतै देखेको थिइनँ। बास्तोला कृषि फार्ममा देख्दा अनौठो लाग्यो र बिरुवा ल्याएँ। यहाँ ल्याएर रोपे पनि हुर्कन्छ कि हुर्कन्न भन्ने शंका थियो, हुर्केपछि निरन्तर फल लागेको छ,' उनले भने। मरिचको हाँगा लगाए पनि सर्ने गर्छ। भ्रमण आएका किसानको टोली उनको घरमा पुगे भने मरिचको बिरुवा मागेर लैजाने गर्छन्।

मरिच समुद्र सतहदेखि एक हजार मिटर उचाइमा फल्न सक्ने बाली हो। राम्रो वर्षा र तापमान भएको ठाउँमा यो हुर्कन्छ।

'अलि ओसिलो भइरहने ठाउँ चाहिन्छ। पानी कम भएमा अलिअलि सिँचाइ गर्ने हो भने अहिलेसम्म खासै ठूलो स्याहार पनि चाहिएको छैन,' अधिकारीले भने। मरिचको बोटले ३० वर्षसम्म लगातार फल दिने गर्छ।

सरकारले अभियान चलाउने हो भने हरेक नेपालीका करेसाबारीमा मरिच फल्न सक्ने अधिकारी बताउँछन्। बोटबिरुवा हुर्काउन निकै सोखिन अधिकारीको घरमा दुई सय प्रकारका बिरुवा छन्।

प्रकाशित: १५ माघ २०७३ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App