४ वैशाख २०८१ मंगलबार
अर्थ

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

सुमन मल्ल

मुगु- 'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।

स्याउको विरुवा खेर जाने चिन्तामा बुढा मात्र होईनन उनी जस्तै दर्जनौ स्याउ नर्सरी कृषकहरु छन। अहिलेसम्म गतिलो ढंगले हिमपात र बर्षा नभए पछि जिल्ला कृषि विकास कार्यालयले नर्सरी धनीबाट स्याउका विरुवा खरिद गर्न सकेको छैन। कार्यालयले यो वर्ष कर्णाली अञ्चल कृषि विकास आयोजना अन्तर्गत ६ हजार स्याउका विरुवा र एक हजार ओखरका विरुवा, कृषि प्रसार आयोजना अन्तर्गत ६ हजार स्याउ तथा एक हजार ओखरका विरुवा कृषकलाई वितरण गर्ने लक्ष्य राखेको छ। त्यस्तै गरि स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत कार्यालयले सात हजार पाँच सय स्याउका विरुवा वितरण गर्ने लक्ष्य राखेको भए पनि वर्षा र हिमपात नहुँदा स्याउ नर्शरी कृषक बाट विरुवा खरिद गर्न नसकेको जिल्ला कृषि विकास कार्यालय योजना शाखाका खरिदार धर्मबहादुर शाहीले जानकारी दिए।

 स्याउका विरुवा खरिद नगर्दा स्याउ नर्शरी कृषक मर्कामा पर्ने , स्याउका विरुवा खरिद गरि कृषकलाई वितरण गर्दा हिमपात र वर्षा नभएकाले लगाएका विरुवा जोगाउन नसकिदा कृषक मर्कामा पर्ने देखिएको शाहीले बताए । जिल्ला कृषि विकास कार्यालयको तथ्याकं अनुसार जिल्लाभर ६० हजार स्याउका विरुवा छन । कार्यालयको मुल्य अनुसार प्रति विरुवाका दरले २४ लाख बराबरका स्याउका विरुवा खेर जाने सम्भावना देखिएको छ । विगतका वर्षहरुमा जिल्ला भित्र स्याउका विरुवा उतपादन नहुँदा जिल्ला बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको तथा गत वर्ष देखि स्याउका विरुवामा जिल्ला आत्म निर्भर भई सकेको भए पनि हिमपात र वर्षा नहुँदा यो वर्ष विरुवा वितरणमा ढिलाई भएको कार्यालयले जनाएको  छ।

प्रकाशित: ११ माघ २०७३ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App