७ वैशाख २०८१ शुक्रबार
प्रवास

यम बुद्धको शव नेपाल पठाउन प्रक्रिया सुरु

लन्डन— गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरेपछि शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरिएको छ।

दूतावासले बुद्धको शव उनकी श्रीमतीसँगै लिएर जान मिल्ने गरी डकुमेन्ट तयार गरिदिएको जनाएको छ।

लन्डनस्थित नेपाली दूतावासले शव नेपाल लैजान आवश्यक अनुमपतिपत्र (रिप्याट्रियसन लेटर) उनको परिवारलाई दिएको छ। नेपाली दूतावास लन्डन प्रवक्ता शरदराज आरणका अनुसार शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन अधिकारी पत्नी अस्मिता अधिकारी विहीवार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन्।

दूतावासले बुद्धको शव उनकी श्रीमतीसँगै लिएर जान मिल्ने गरी डकुमेन्ट तयार गरिदिएको जनाएको छ। परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप कानुनी प्रक्रिया सकिएपछि मात्र नेपाल शव पठाउने तयारी परिवारजनको छ।

शव नेपाल लैजानु अघि लन्डनस्थित हित्रो विमानस्थलको अध्यागमन आवश्यक पर्ने डकुमेन्टको तयारी भैरहेको छ। शवमा संक्रमण नभएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्र, इम्बामिङ लेटर (शव रसायन लेपन गरेको प्रमाण), मृत्युको कारणबारे अस्पतालको रिपोर्ट र फ्युनरल डिरेक्टर (शव समाधिस्थ गर्ने अधिकारी) को अनुमति पत्र लगायतका आवश्यक कागजता तयारी भएपछि मात्र उनको शव नेपाल लैजान सकिने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

आधारहीन समाचारले परिवार दुःखी

यम बुद्धका आफन्त तथा कलाकार रेश मरहठ्ठाका अनुसार मेडिकल रिपोर्ट पाए पनि परिवारले प्रहरी रिपोर्ट प्रतीक्षा गरिरहेको छ। मेडिकल रिपोर्टले शारीरिक अवस्था खुलाउने हाे भने प्रहरीले कारण बताउँछ। 'अहिलेसम्म हामीले मेडिकल रिपोर्ट मात्र पाएका छौं', उनले नागरिकन्युजसँग भने, 'त्यसपछि मात्र मृत्युको कारण बाहिर आउनेछ।' घटनालाई लिएर सामाजिक सञ्जाल तथा मिडियाहरुमा आइरहेका आधारहीन समाचारले परिवारलाई दुःखमाथि दुःख थपिदिएको उनले गुनासो गरे।

'यम बुद्ध हाम्रो समयका एक जना आइकोन हुन्। त्यसैले जनचासो हुनु स्वभाविक हो', उनले भने, 'तर यो भन्दैमा तथ्य र आधारबिना जथाभावी लेखिदिनु भएन। प्रहरी रिपोर्ट पाउना साथ हामी वास्तविकता सार्वजनिक गर्नेछौं।' 

मेडिकल रिपोर्टले झुन्डिएका मृत्यु भएको, हल्का मदिरा सेवन गरेको र मृत्युका बखत मानसिक सन्तुलन सामान्य रहेको देखाएको थियो।

प्रकाशित: ७ माघ २०७३ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App