coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेनाको भलिबल र म्याराथन यसैमहिना

काठमाडौं- प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आइतबार सुरु हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले सेना र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउने लक्ष्यले भलिबलसँगै माघ २९ गते खुला म्याराथन प्रतियोगिता गर्ने जानकारी दिए।

माघ १४ सम्म हुने राष्ट्रिय भलिबल प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। समारोह तथा प्रतियोगिता शाखा प्रमुख रानामगरले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको संयुक्त आयोजना रहेको भन्दै लिग कम नकआउटका आधारमा हुने प्रतियोतिामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको बताए।

ललितपुरस्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लबसहित ५ क्षेत्रीय टोली पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन्।

विजेता टोलीले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, स्पाइकर, ब्लकर, डिफेन्डर र लिफ्टरले जनही १० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई बजाजको १ थान मोटरबाइक प्रदान गरिने प्रमुख सेनानी रानामगरले जानकारी दिए। उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै उपत्यका बाहिरबाट आउने टोलीलाई भोजन र बसोबासको व्यवस्था गरिएको बताए।

कार्यक्रममा प्रमुख सेनानी रानामगरले प्रधान सेनापति खुला म्याराथन प्रतियोगिताको दोस्रो संस्करण माघ २९ गते हुने बताए। उनले म्याराथनसँगै हाफ म्याराथन (पुरुष/महिला), विदेशी तथा आर्मी उच्च अधिकारीका लागि १० किलोमिटरको दौड, विद्यार्थीका लागि  ५ किलोमिटर तथा ५ किलोमिटरको वाकाथन प्रतियोगिता हुने बताए। वाकाथनमा सरकारका उच्च पदाधिकारी, पत्रकार, बैंकर्स, राजनीतिज्ञ तथा कूटनीतिक नियोगका पदाधिकारीहरूको सहभागिता रहनेछ।

म्याराथन सैनिक मञ्चको पूर्वी द्वारबाट सुरु भएर भद्रकाली, थापाथली, माइतीघर, तीनकुने, कोटेश्वर, जगाती, खरीपाटी, ब्याँसी गेट, सल्लाघारी, मध्यपुर ठिमी, जडीबुटी चोक, तीनकुने, एयरपोर्ट, चावहिल, महाराजगन्ज, लाजिम्पाट, दरबारमार्ग, रानीपोखरी, भद्रकाली, न्युरोड हुँदै सैनिक मञ्चमा पुगेर सकिनेछ।

म्याराथन विजेताले १ लाख रुपैयाँ नगदसहित यामाहा मोटरसाइकल जित्नेछन्। दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। चौथो स्थान हासिल गर्नेले १५ हजार, पाँचौं हुनेले ७ हजार र छैटौं स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

महिला र पुरुष दुवै हाफ म्याराथन सैनिक मञ्चबाट सुरु भएर भद्रकाली हुँदै थापाथली, माइतीघर, तीनकुने, एयरपोर्ट, चावहिल, महाराजगन्ज, लाजिम्पाट, दरबारमार्ग, रानीपोखरी, भद्रकाली, न्युरोड हुँदै सैनिक मञ्चमा पुगेर सकिनेछ।

हाफ म्याराथनका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पाउनेछन्। महिलातर्फको विजेताले भने एक थान स्कुटी पाउनेछन्।

विद्यार्थीतर्फ ५ किलोमिटर दौडका विजेताले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन्। यो दौड सैनिक मञ्चबाट सुरु भएर भद्रकाली हुँदै थापाथली, माइतीघर, भद्रकाली (सेना मुख्यालय र नेपाल टेलिकमबीचको बाटो) हुँदै मुख्यालय भित्रको बाटोबाट महानगरपालिकाको मूलद्वार हुँदै सहिदगेट सैनिक मञ्चको पश्चिम द्वारमा पुगेर सकिनेछ।

प्रकाशित: ७ माघ २०७३ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App