६ वैशाख २०८१ बिहीबार
खेल

पुलिस रुस्लान कप विजेता

काठमाडौं– दीपेन्द्र ऐरीले अविजित ४२ रन जोडेपछि नेपाल पुलिस क्लबले दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

दीपेन्द्रले आत्मविश्वासका साथ ब्याटिङ गरेपछि आर्मीले दिएको १ सय ४३ रनको लक्ष्य पुलिसले १९ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो।

मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो।

सुरुआतमा ब्याटिङ गरेको आर्मीले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४२ रन जोडेको थियो।

ओपनर सागर पुन १ रन जोडेर आउट भएपछि आर्मीले सुरुआतमै दबाब सामना गरेको थियो । सागर आर्मीका अनुभवी खेलाडी हुन् ।

उनले सेमिफाइनलमा सुदूर पश्चिम एकेडेमी (एसपिए)लाई ७० रनले हराउँदा अर्धशतक प्र्रहार गरेका थिए । तर फाइनलमा सागर दोस्रो बलको सामना गर्ने क्रममा ललित भण्डारीको बलमा दिलिपनाथबाट क्याच आउट भए ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रन जोडे । आर्मीको स्कोर बढाउन मुख्य भूमिका खेलेका विनोदले ३० बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । आर्मीको स्कोर फराकिलो बनाउन योगदान गरेका राजेश पुलामीले ३८ रन बनाए ।

राजेशले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आर्मीका अन्य खेलाडी नरेश बुढाऐरले २८, ओपनर अनिलकुमार मण्डलले १५ र सोमपाल कामीले अविजित १३ रन बनाए ।

नेपाल पुलिसका ललित भण्डारी र ललित राजवंशीले समान २/२ विकेट लिए । रामनरेश गिरी र मन्जित श्रेष्ठले १/१ विकेट लिए ।

पुलिसका लागि दीपेन्द्र (४२ रन)पछि कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए । प्लेयर अफ द फाइनल दीपेन्द्रले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशलले २० बलमा ३ छक्का प्रहार गर्दै पुलिसको जितको आधार बनाए । ओपनर दिलिपले २४, कप्तान मन्जितले १५ र योगेन्द्र कार्कीले ११ रन बनाएका थिए । आर्मीका विक्रम सोब र जितेन्द्र मुखियाले २÷२ विकेट लिए । अविनाश कर्णले १ विकेट आफ्नो नाममा लेखाए ।

प्रतियोगिताको विजेता टोली पुलिसका सुनिल धमलाले म्यान अफ द सिरिजको अवार्ड जिते । सुनिलले ४ खेलमा १ सय ५८ रन र २ विकेट लिएका थिए । प्रतियोगितामा आर्मीका सागर पुन उत्कृष्ट ब्याटसम्यान, पुलिसका जितेन्द्र मुखिया उत्कृष्ट बलरबाट पुरस्कृत भए । सागरले ४ खेलमा १ सय ५१ रन जोडेका थिए । जितेन्द्रले ४ खेलमा ९ विकेट लिए । प्रतियोगितामा पुलिसका कुशल भुर्तेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी घोषित भए । उनले ४ खेलमा ६ छक्का प्रहार गरेका थिए । पुलिसका मोहम्मद आरिफ शेखले रुस्लान बबाल क्याच, रुस्लान काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका सूर्य लामा इमर्जिङ प्लेयर र एनएसीका राजेश पुलामी तीव्र गतिमा अर्धशतक प्रहार गर्ने खेलाडीबाट पुरस्कृत भए।

 

प्रकाशित: ५ माघ २०७३ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App