coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुदूरपश्चिममाथि सहाराको सहज जित

पोखरा- अफ्रिकी मूलका खेलाडी हाबी हुँदा आयोजक सहारा क्लबले पोखरामा मंगलबार सुरु आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सहाराले सुदूरपश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

खेलको पहिलो ६ मिनेटमै अफ्रिकी मूलका मार्टिनले गोल गरेसँगै सहाराको अग्रता सुरु भएको थियो । मार्टिनले वन–भर्सेज–वनमा गोल गरेका थिए । खेलको २७ औं मिनेटमा रिचार्ड पुनले गोल गरेर अन्तर बढाएका थिए । उत्तम गुरुङको क्रसमा आएको बल नियन्त्रणमा लिएर पहिलो बार च्याप्दै पुनले गोल गरेका थिए ।

सहाराका लागि खेलको ३८ औं मिनेटमा अफ्रिकी मूलकै खेलाडी पीटर सेगुनले पेनाल्टी बक्सबाट गोल गरेर अग्रता अझै बढाएका थिए । पहिलो हाफमा ३–० ले पछाडि परेको सुदूरपश्चिम दोस्रो हाफमा दबाबमा परेको थियो । खेल सकिन ८ मिनेट बाँकी हुँदा मार्टिनले नै शिव सुवेदीको पासमा गोल गरेर सहाराको विजय पक्का गरेका थिए । व्यक्तिगत दुई गोल गरेका मार्टिन नै मंगलबारको खेलमा म्यान अफ दि म्याच बने । सहाराले अन्तिम चारमा स्थान सुरक्षित गर्न अब भारतको सिक्किम युनाइटेडसँग खेल्नेछ ।

पहिलो पटक पोखरामा खेल्न आएको सुदूरपश्चिमको सहारासँग पनि पहिलो नै खेल थियो । तर सुदूरपश्चिमले पहिलो खेलमै घरेलु टोलीलाई दबाबमा राख्न नसक्दा यात्रामा पूर्णबिराम लगाउनु परेको छ । सुरुदेखि नै सहाराको दबाबमा परेको सुदूरपश्चिमले खेलको २२ मिनेटमा कप्तान मणिराम चौधरीको प्रहार सहाराका रमेश मगरले गोललाइनबाट क्लियर गरिदिँदा बराबरीको अवसर चुकाएको थियो ।

सहाराका मार्टिन पनि २१ औं मिनेटमा वन–भर्सेज–वनमा गोल गर्नबाट चुकेका थिए । प्रदीप गुरुङको क्रसमा मार्टिनको प्रहार सुदूरपश्चिमका गोलरक्षकले पञ्च गरेर गोल हुनबाट जोगाए । आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको विजेता हो । सुदूरपश्चिम–११ पोहोर आयोजित नेपालगञ्ज गोल्डकपको विजेता हो । सुदूरपश्चिमले पोहोर सशस्त्र प्रहरीको एपिएफलाई १–० ले हराएर नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो ।

दुई वर्षअघि मात्र स्थापित सुदूरपश्चिमले फुटबलमा क्लबलाई स्थापित गर्न धनगढीमा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता आयोजना गरेको थियो । खप्तड गोल्डकपको सेमिफाइनलमा काठमाडांैंको संकटासँग सुदूरपश्चिम १–० ले पराजित भएको थियो । पोखराको पहिलो यात्रामै पूर्णबिराम लागेपछि सुदूरपश्चिमका टोली प्रबन्धक सुशन जोशीले कप्तान मणिराम चौधरी घाइते रहेकाले खेल कठीन भएको बताए ।

धनगढीमा प्रतियोगिता सकिएलगत्तै हतारहतार पोखरामा खेल्न आउँदा खेलाडी केही थकित भएकाले पनि खेल्न नसकेको उनले बताए । ‘अहिले पराजित हुँदाको गोल अन्तर नै हाम्रो टोलीका लागि सबैभन्दा ठूलो हो । अहिलेसम्म हामी यति ठूलो अन्तरमा पराजित भएका थिएनौं,’ उनले भने, ‘पोखराको मैदान पनि हाम्रा लागि नौलो अनुभव रह्यो ।’

सहाराका प्रशिक्षक किरण श्रेष्ठले पहिलो अवसरमै गोल गर्दा विपक्षीमाथि दबाब परेको बताए । ‘सुदूरपश्चिम पनि राम्रो टिम हो । सुरुमै गोल खाएपछि उनीहरू केही आत्तिए,’ श्रेष्ठले भने, ‘हामीले पाएका अवसरलाई सहजै गोलमा परिणत गर्न सक्यौं । त्यसैले हाम्रा लागि जित सहज भयो ।’

प्रतियोगिताको १५ औं संस्करण माघ १५ सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा ३ विदेशी र आयोजक सहारासहित १२ टोलीले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन मुख्यसचिव सोमलाल सुवेदीले गरे । प्रतियोगिताको विजेताले नगद ५ लाख १ हजार रुपैयाँ, उपविजेताले नगद २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

बुधबार धरान फुटबल क्लब र एपिएफबीच खेल हुनेछ ।

 

प्रकाशित: ५ माघ २०७३ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App