७ वैशाख २०८१ शुक्रबार
खेल

ढोरपाटनले उदांगियो महिला भलिबल

काठमाडौं- नेपाली भलिबलको दुरावस्था छरपस्ट पार्दै राजधानीको स्वयम्भूस्थित रिड मोडल कलेजले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो हाफमा स्पष्ट अग्रता लिएको छ। बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा सोमबार पहिलो चरणको राउन्ड रोबिन लिग सम्पन्न हुँदा नेपाली महिला भलिबलका सबै महारथी भारतीय खेलाडीप्रेरित रिड मोडलको सिकार भए।

प्रतियोगिताको १२ औं संस्करणमा अपराजित यात्रा कायम राख्दै रिड मोडलले सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी तथा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा निराश पार्‍यो।

यसअघि नेपाली महिला भलिबलमा बर्चस्व जमाउँदै आएका सशस्त्र प्रहरीको एपिएफ र न्यू डायमन्ड एकेडेमी पनि ७ भारतीय खेलाडी रहेको रिड मोडलबाट स्तब्ध भइसकेका थिए। न्यू डायमन्डमाथि सोझो सेटमा विजय हासिल गरेको रिड मोडलले एपिएफलाई भने ३–१ को सेटमा पराजित गरेको थियो।

राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदा रिड मोडलले भारतीय राष्ट्रिय टोलीको जर्सी लगाइसकेका ३ सहित ७ खेलाडी समावेश गरेको छ। कप्तान निर्मल तनुवार, मिलिमम अब्राहम र प्रियंका खेडकरले भारतीय राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन्। अन्य सबैजसो टोलीमा राष्ट्रिय खेलाडीको उपस्थिति भए पनि रिड मोडलमा भने नेपालको जर्सी लगाएका एक जना खेलाडी पनि छैनन्। त्यही अभाव पूर्तिका लागि टोलीले भारतीय खेलाडी अनुबन्ध गरेको थियो।

ठीक विपरित एपिएफ र न्यू डायमन्ड नेपालका स्टार खेलाडीले भरिपूर्ण टोली हुन्। एपिएफबाट राष्ट्रिय टोलीकी कप्तान विनिता बुढाथोकीसहित स्पाइकर सरस्वती चौधरी, नेविका चौधरी, रेश्मा भण्डारी, उषा विष्टको उपस्थिति छ। न्यू डायमन्डबाट राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र सेटर कृपा अधिकारीले प्रतिनिधित्व गर्छन्। पश्चिमाञ्चलबाट राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ, अरुणा शाही, पुलिसबाट कोपिला उप्रेती र कमला पुनले प्रतियोगिता खेलिरहेका छन्।

'यसले नेपाली भलिबलको वास्तविक स्तर देखाएको छ। रिड मोडलको सफलताबाट हामी नआत्तिइ शिक्षा लिँदै अघि बढ्नुपर्छ,' भलिबलका वरिष्ठ प्रशिक्षक कपिलकिशोर श्रेष्ठ भन्छन्, 'घरेलु प्रतियोगितामा आफूभन्दा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली खेलाडीलाई यसबाट फाइदा पुग्छ। नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिन नपाइरहेको अवस्थामा भलिबल संघले पनि यस्ता बलिया टोली ल्याएर प्रतियोगिता गरिरहनुपर्छ।'

राष्ट्रिय खेलकुद परिषदका पूर्व मुख्य भलिबल प्रशिक्षक श्रेष्ठ नेपाल भलिबल संघको योजनामा खोट देख्छन्। 'ढोरपाटनबाट हामीले राष्ट्रिय टोलीलाई कसरी बलियो बनाउने सिक्नु पर्छ। त्यही अनुसार योजना बनाउनु पर्छ। १३ औं सागमा स्वर्ण पदक जित्ने लक्ष्य हामीले लिएका छौं,' उनले भने, 'तर भारतका ३ राष्ट्रिय खेलाडी भएको टिमलाई एपिएफले हराउन सक्दैन। जबकि एपिएफमा प्रतिभा माली र अरुणा शाहीबाहेक राष्ट्रिय टोलीको पहिलो रोजाइका ५ खेलाडी छन्।'

नियमित अभ्यास र नयाँ खेलाडी उत्पादनमा ध्यान नदिएका कारण नेपालको स्तर खस्कँदै गएको श्रेष्ठले बताए।

न्यू डायमन्डका प्रशिक्षक कुमार राई रिड मोडलसँगको हारलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन। उनी भन्छन्, '३ जना भारतीय खेलाडी भएको टिमसँग एपिएफ पराजित हुन्छ भने यसले हाम्रो स्तर प्रष्ट पार्छ। हारबाट कति मेहनत गर्नुपर्छ भन्ने छर्लङ भएको छ। रिड मोडलसँगको हार अध्ययन गरेर म अर्को वर्ष प्रतियोगिता जित्ने योजना बनाउँछु।' राईले न्यू डायमन्डमाजस्तै अन्य टोलीमा पनि वैकल्पिक खेलाडी कमजोर भएको तर्क राखे। उनले थपे, 'एउटा टिम बलियो हुन ६ जना खेलाडी बलियो भएर मात्र पुग्दैन। हामी त्यही समस्या भोगिरहेका छौं। टिमका सबै सदस्यमा नतिजा उल्टाउन सक्ने खुबी हुनुपर्छ। तर त्यसमा नेपाली क्लब चुकिरहेका छन्। न्यू डायमन्डमात्र होइन हरेक टोलीसँग पहिलो रोजाइबाहेक अन्य खेलाडीको स्तरमा धेरै अन्तर छ।'

रिड मोडलले सोमबार पहिलो खेलमा आयोजक ढोरपाटनमाथि २५–४, २५–१६, २५–१० को सेटमा जित निकाल्यो भने आर्मीलाई २५–११, २५–९, २५–१६ को नतिजामा हरायो। सोमबारको नतिजापछि प्रतियोगितामा अपराजित रहन सफल एकमात्र टोली रिड मोडलले पहिलो चरणका ९ खेलबाट २७ अंक जोडेको छ। दोस्रो स्थानमा २४ अंक जोडेको एपिएफ छ भने २१ अंकमा सीमित न्यू डायमन्ड तेस्रो स्थानमा छ।

१८ अंकसहित पुलिस चौथो स्थानमा रहँदा १५ अंक जोडेको पश्चिमाञ्चल पाँचौं स्थानमा छ। १२ अंकका साथ आर्मी छैटौं तथा ८ अंकसहित आयोजक ढोरपाटन स्पोर्ट्स क्लब सातौं स्थानमा छन्।

१० टोली सहभागी प्रतियोगिताको पहिलो चरणका शीर्ष ७ टोली दोस्रो चरणका लागि छानिन्छन्। दोस्रो चरणमा छानिएका ७ टोलीबीच राउन्ड रोबिन लिगबाट विजेताको टुंगो लगाइन्छ। आठौं स्थानमा रहेको रामेछापको चण्डेश्वरी युवा क्लब, नवौं स्थानको न्यू डायमन्ड एकेडेमीको जुनियर टोली र पुछारमा रहेको विजेश्वरी ज्ञान मन्दिर पहिलो चरणबाटै बाहिरिए।

सोमबारै नेपाली महिला भलिबलका चिरप्रतिद्वन्द्वी न्यू डायमन्ड र एपिएफबीचको खेलमा बाजी मार्दै विभागीय टोलीले रिड मोडलको एक्लो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएको छ। एपिएफले न्यू डायमन्डविरुद्धको खेलमा २५–२०, २५–१८, २५–१२ को सोझो सेटमा विजय हासिल गरेको थियो।

पहिलो चरणको अन्तिम दिन सोमबार नेपाल पुलिस क्लबले चन्डेश्वरीमाथि २५–८, २५–१७,  २५–११ को जित दर्ता गरायो।

प्रकाशित: ४ माघ २०७३ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App