५ वैशाख २०८१ बुधबार
विचार

कार्ल मार्क्सका नेपाली दास

कार्ल माक्र्सले बेलायतमा बसेर ‘डास क्यापिटल’ लेखे । पुँजीवादको नकारात्मक पाटोबारे लेख्दै गर्दा पुँजीवादी मुलुक बेलायतको राजधानी लण्डनमा सुखसयलयुक्त जीवन बिताए । उनै कार्ल माक्र्सको सिद्धान्तले नेपाल जस्तो आर्थिकरूपमा विपन्न देशहरूमा प्रभावमात्र जमाएन, सुसंस्कार र राम्रा संरचनासमेत भताभुंग पा¥यो ।

‘सर्वहारा वर्गको अधिनायकत्व’ स्थापित गर्ने नाममा सभ्य समाजका लागि उपयुक्त रीतिरिवाजमाथि समेत आक्रमण भए । तत्कालीन मालेको झापा विद्रोहदेखि माओवादीको एक दशक लामो हिंसा माक्र्सको सिद्धान्तलाई मूल आधार मानेर गरिएको थियो । कार्ल माक्र्सको सिद्धान्त जहाँ लेखियो त्यहाँ लागु गरिएन किन ? यो यस्तो सिद्धान्त थियो जसलाई पश्चिमाहरूको हितमा चालै नपाउने गरी प्रयोग गरिएको थियो । शान्तिका भूमिहरूमा अशान्तिको आगो सल्काउन माक्र्सवादीहरू योजनाबद्ध तरिकाले लागे । त्यो पनि सर्वहारा किसान र मजदुरका नाममा । माक्र्सवादको फरक प्रयोगका क्रममा क्युबामा जमिन्दारका छोरा फिडेल क्यास्त्रो सशस्त्र माध्यमले सत्तामा पुगेर पाँच दशक शासन गरे । स्वतन्त्र जर्जिया बनाउने उद्देश्यले राजनीतिमा पाइला टेकेका स्टालिन कम्युनिस्ट राजनीतिमार्फत् रूसको सत्तामा पुगेर जमे र उद्योगहरूलाई राज्य नियन्त्रित बनाएर कठोर शासन सञ्चालन गरे । पोलपोटले २० लाख मान्छेको नरसंहार गरेर कीर्तिमान कायम गरे । यो यस्तो सिद्धान्त सावित भयो जसले क्रान्तिका नाममा हिंसाको भाषामात्र बोलेन, संसारमा बगेका धेरै रगतको कारक बन्यो ।

पुष्पकमल दाहाल पुत्र प्रकाश तेस्री पत्नी भित्राएर विलासी जीवन बिताउँदै योग्य सावित भएर बालुवाटारमा राज गरिरहेछन् । प्रकाश त एक पात्रमात्र हुन्, कम्युनिस्ट नेताका छोराछोरी नेपालका कुलीन वर्गका स्तरको जीवन जिएर हिँडेका छन् ।

हिंसाको घोषणापत्र

माक्र्सले धर्मलाई अफिम भने जबकि युरोपमा गैरइशाईहरूको संख्या घटेन । धर्ममाथि प्रहार गर्न गैरइशाई बाहुल्य समाज माक्र्सवादीहरूलाई परिचालन गरे । इमाइल दुर्खिमको व्याख्याअनुसार धर्म र समाज एउटै हो । तर धर्ममाथिको प्रहारका क्रममा नागरिकको आँखामा धर्म विरोधी सिद्धान्तको निर्यातमार्फत् ‘अधर्मी’ बनाउने र पछि धर्म परिवर्तन गराउने योजनाबद्ध कार्य गराए । यसका लागि सबैभन्दा उपयोग भए नेपालका कम्युनिस्ट । आफूहरू इशाईबाट प्रयोग भएको मनन गरेर होला मोहनचन्द्र अधिकारीले जीवनको उत्तरार्धमा भगवान भक्ति देखाए । आफ्नै पृथ्वीनारायण शाह हेलित भएको मनन गरेर होला माक्र्सवादी मोदनाथ प्रश्रित पछिल्लो समय पृथ्वीको शालिकमा माल्यार्पण गर्न हरेक वर्ष २७ पुसमा अग्रपंक्तिमा देखिन्छन् । आफ्नालाई हेला गरी पराईलाई आफ्नो मान्ने गल्तीको ढिलै भए पनि मनन हुँदै गएको छ । तर मोहनचन्द्र र मोदनाथका चेलाहरू आफ्नो माटो बुझेका पृथ्वीका दिव्य उपदेश खोस्टो ठानेर माक्र्सका आक्रामक विचारमा आफ्नो राजनीतिक भविष्य देख्दैछन् ।

सबैभन्दा रोचक पक्ष नेपालका कम्युनिस्टले दुई वर्षअगावै कार्ल माक्र्सको द्विसह्रशताब्दी मनाउन शुरू गरे । जबकि उनीहरूले नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिवस पुस २७ मा मनाउँदै आएको राष्ट्रिय एकता दिवस खारेज गरे । तिनका लागि माक्र्स प्रिय भए, पृथ्वी होइन । पृथ्वीनारायण शाहले हिंसाबाट राज्य जितेकोदेखि कीर्तिपुरका नेवारहरूको नाक काटेको किंवदन्ती बनाइयो । हिंसाबाट शाहले राज्यको सीमा कोरेकामा कुनै शंका गर्नुपर्दैन । तर, माक्र्सको उत्तेजित पार्ने र अराजकता निम्त्याउन योगदान गर्ने सिद्धान्तले आजसम्म कति युद्ध भए र कति मान्छे मारिए त्यसको गणना गर्ने हो भने विश्वयुद्धमा मारिएकाको भन्दा बढी हुनुपर्छ । कम्युनिस्टहरूले कम्बोडियामा मात्र २० लाख मान्छेको ज्यान जाने गृहयुद्ध मच्चाए । नेपालमा १८ हजार मारिए । ल्याटिन अमेरिकाका देशहरूमा लाखौंको ज्यान जाने युद्ध भयो । अफ्रिकाका देशहरूमा कम्युनिस्ट सिद्धान्त लागु गर्न तम्सिएकाहरूका कारण गृहयुद्ध मच्चिएको इतिहास साक्षी छ । यस्तो विशेषता बोकेका उग्र कम्युनिस्टहरूको बुझाइमा पुथ्वीनारायण हिंस्रक अनि माक्र्सचाहिँ महान् ? गहिरिएर केलाउँदा माक्र्सको घोषणापत्र र पुस्तकले हिंसा फैलाउन भूमिका खेलेको छ ।

विलासी कम्युनिस्ट

माक्र्सको कम्युनिस्ट मेनिफेस्टो अर्थात् कम्युनिस्ट घोषणापत्रमा सर्वहाराले नभई बुर्जुवा क्रान्तिको मुख्य कारण हुने उल्लेख छ । सर्वहाराको अधिनायकत्वको सपना देखाउँदै तिनै बुर्जुवाले युद्धमा सर्वसाधारणलाई होमे । नेपालमा निर्दोष किशोरकिशोरी हिंसाको सिकार भए । मारिने र अङ्गभङ्ग हुने सबै सामान्य जनताका छोराछोरी भए । अयोग्य तिनै सोझासाझा भए । पुष्पकमल दाहाल पुत्र प्रकाश तेस्री पत्नी भित्राएर विलासी जीवन बिताउँदै योग्य सावित भएर बालुवाटारमा राज गरिरहेछन् । प्रकाश त एक पात्रमात्र हुन्, कम्युनिस्ट नेताका छोराछोरी नेपालका कुलीन वर्गका स्तरको जीवन जिएर हिँडेका छन् । जति पनि बनेका नयाँ अग्ला टावर छन् कम्युनिस्ट नेताका आसेपासे र नातागोताका उत्तिकै छन् । अनि तिनै नेताहरू माक्र्सवादका सिद्धान्तले छरेका भ्रमको खेती गर्दै राज गर्न पल्केका छन् । माक्र्सको सिद्धान्तमा जातीय राज्य कहाँ छ ? वर्गविहीन समाजको परिकल्पना गर्ने माक्र्सले अतिरिक्त धनलाई क्रान्तिको कारण मानेका छन् । तर कम्युनिस्ट नेताहरूमा अतिरिक्त धन बढ्दो छ । कुनै बेला व्यक्तिगत धनदौलतको विरोध गर्नेहरू मौजा र अग्ला टावरका मालिक बनेका छन् । तिनले लुकाएर खाने र लुकाएर जोहो गर्ने गरेको छिप्दैन । कम्युनिस्ट भन्नु उपयुक्त नलागेर होला, प्रदीप नेपालले बारम्बार एमालेको नाम फेर्न जोड गरेका । केपी ओलीदेखि माधव नेपाल हुन् या एमालेका नयाँ पुस्ताका नेता किन नहुन् लामो समय आलोचित भइएला कि भनेर सम्पत्ति र अतिरिक्त धन लुकाएरै बसे । समयको सुनामीले धेरै तथ्य उजागर ग¥यो । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कम्युनिस्ट नेताहरूतर्फ औंला तेर्साउँदै बस्त्र खोलिदिने धम्की दिइसके । बस्त्र खोल्दा कार्कीको बस्त्र पहिले फुस्कनु स्वाभाविक हो । तर, नेपालमा नवपुँजीवादीहरूको फेहरिस्त आउँदा कम्युनिस्टहरूको बहुमत बन्नेछ । कांग्रेसमध्ये कतिपय त राजाकै पालामा डामिइसके । खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता जेल गए । गोविन्दराज जोशीमाथि खतराको घण्टी टरेको छैन । कांग्रेसी धनी हुन्छन् भन्ने कम्युनिस्ट बुझाइ यसकारण पनि सत्य हो कि उनीहरूको सम्पत्ति र धेरै यथार्थ लुक्दैन । कम्युनिस्टहरू गोपनीयता कायम गर्नुपर्ने स्कुलिङ गर्दै नेताहरूको अँध्यारा पक्ष बाहिर जान दिँदैनन् । नत्र, माओत्सेतुङको विलासी जीवनबारेको तथ्य बाहिर आउन दशकौं लाग्दैनथ्यो ।

अझै पनि कालो कम्युनिस्टले माओको सुरा र सुन्दरीप्रेमको तथ्य पत्याउँदैन । समाजवादी विचारक प्रदीप गिरी लेनिनको पुरानो कोटको प्रसंग रोचक ढंगले दोहो¥याउँदै लेनिनको समाजवादी चरित्र भन्छन् तर उनी लेनिनको ऐयासी जीवनबारे केलाउन उपयुक्त ठान्दैनन् । सच्चा समाजवादी र आफूलाई सर्वहारा बनाइरहने त रूसी लेखक लियो टल्सटय थिए जसले संसारलाई आदर्शले भरिएको जीवन सन्देश दिएर गए । महात्मा गान्धीको त्यागले भरिएको जीवन प्रयोग टल्सटयबाट प्रभावित छ । रूसी साहित्यकार टल्सटयका जीवन आदर्श भन्दा माक्र्सवादबाट प्रभावित लेनिन र स्टालिनका बुनिएका कथा कम्युनिस्ट संयन्त्रद्वारा युवा विद्यार्थीको मस्तिष्कमा भरिन्छ । नेतालाई भगवान् जस्तै बनाएर तिनको नकारात्मक पक्ष सुन्न पनि नचाहने गरी स्कुलिङ गरिने कम्युनिस्ट परिपाटी विश्वभरमै छ जुन नेपालमा झनै व्याप्त छ । स्टालिनदेखि पोलपोटका कर्तुतलाई कम्युनिस्ट समर्थक सुन्न चाहँदैनन् । सुने पनि अँध्यारा पक्ष छोप्न खोज्छन् । माओले सांस्कृतिक क्रान्तिमा युवतीलाई शृंगार गर्नबाट समेत वञ्चित गरे । आफूलाई भगवान् जसरी प्रस्तुत गरे । धर्मलाई अफिम ठहर गर्ने तर आफूलाई भगवान्भन्दा जय÷जयकारको स्थानमा पु¥याउने अवस्था धेरै कम्युनिस्ट नेताले सिर्जना गरे ।

स्वजातिको हितरक्षा

संसारमा दुईजना यहुदी थिए जो जर्मनीमा जन्मिएर खेदिए । कार्ल माक्र्स र सिग्मन फ्रायडको सिद्धान्त विवादास्पद बन्यो । समाजमा अराजकता ल्याउने निष्कर्षपछि माक्र्स जर्मनीबाट फ्रान्स खेदिएका थिए । त्यहाँ पनि टिक्न नसकेर बेलायत बसे । फ्रायडको यौनसम्बन्धी सिद्धान्तलाई जर्मनीमा ‘यहुदीको अश्लील ग्रन्थ’ भनेर च्यातियो । उनी निर्वासित भई बेलायत बस्न बाध्य भए । अहिले यहुदी प्रतिपादित सिद्धान्तले विश्वमै तरंग ल्याइरहेछ । विश्वमा प्रभाव कायम गर्ने यहुदी सिद्धान्तको सही सदुपयोग तिनै यहुदीले मात्र गर्न सके । इशाई धर्मावलम्बी बाहुल्य देशहरूले ती सिद्धान्तलाई आफ्नो हितका लागि प्रयोग गरे । तर, नेपाल जस्ता देशमा यहुदीबाट प्रतिपादित सिद्धान्त दुरुपयोग भएको छ । जसमध्ये माक्र्सको सिद्धान्त हिंसा र अराजकता निम्त्याउने अस्त्र बनेको छ । कार्ल माक्र्सका दासीहरू राज्यको उपल्लो तहदेखि तल्लो तहसम्म प्रभाव बनाएर बसेका छन् ।

तिनले सर्वहाराको अधिनायकत्वको सपना देखाएर धर्म, संस्कृति र सामाजिक सद्भावमाथि प्रहार गरे । कुनै पनि समाज बदल्न सुधार महत्वपूर्ण हुन्छ, भत्काउनुपर्छ भन्दै विनाशमा लागेर समाजमा अस्थिरता ल्याए । कार्ल माक्र्सका सिद्धान्तका सही प्रयोगकर्ता बेलायतमा छन् जसले आफ्नो देशलाई समृद्ध र स्थिर बनाइरहेछन् । रूसमा थिए जसले सोभियत संघको रचना गरेका थिए । नेपालमा माक्र्सका दास हावी भए । जसले यहाँको अराजकतामा मुख्य भूमिका खेलिरहेछन् । जङ्गबहादुरलाई ‘बेलायतको बफादार कुकुर’ भन्ने माक्र्स पुजिएका छन् । तर जङ्गको देशभक्ति बेवास्तामा परेको छ । जङ्गबहादुर के कति कारणले खराब थिए इतिहासले मूल्यांकन गर्छ तर उनले कूटनीतिक चातुर्यताले फिर्ता ल्याएको नयाँ मुलुक, समाज परिवर्तन र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अस्तित्व बलियो गरी दर्ज गरेको यथार्थ लुक्दैन । पृथ्वीनारायणको जन्मदिन बेवास्तामा परेको छ, माक्र्सको जय÷जयकार गरिरहेछन् । माक्र्सका दासहरू धर्म÷संस्कृतिमाथि मात्र होइन, राष्ट्रको अखण्डतामाथि नै जानीनजानी प्रहार गरिरहेछन् । तिनको दास स्वभावले माक्र्सको पूजा गर्छ, आफैले टेकेको धर्तीका सपुतहरूको अवहेलना गरिरहेछ । राष्ट्रवादी दाबी गर्ने नेपालका कम्युनिस्टहरूले विगतका कार्यशैलीको गम्भीर समीक्षा गर्नुपर्छ । माक्र्स या अन्य कुनै सिद्धान्तकारको दास होइन कमीकमजोरी केलाएर स्वदेशको हितमा प्रयोग गर्नु गलत होइन । तर, तिनको दास बन्ने प्रवृत्ति त्याग्नुपर्छ । विगतको गल्तीबाट माफी मागेर स्वदेशका महानायक र युगद्रष्टाहरूको सम्मान गर्ने परिपाटी पुनस्र्थापितमात्र होइन, बलियो बनाउनुपर्छ ।

प्रकाशित: ३ माघ २०७३ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App