७ वैशाख २०८१ शुक्रबार
खेल

खेल विकासमा अहोरात्र सुरेन्द्र

इटहरी- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङको घर इटहरी रंगशालाबाट मुश्किलले २ सय मिटरको दूरीमा छ। सुरेन्द्रले बाल्यकालदेखि फुटबल हान्ने कला निखारेको मैदानले सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्दोलगायत खेल आयोजना गरिरहेको छ। उनको सहरले महिला क्रिकेटसहित सबैभन्दा बढी चार खेलको आयोजना बुधबार सम्पन्न गर्‍यो।

८ वर्षअघि राजधानीमा राष्ट्रिय खेलकुदको पाँचौं संस्करण हुँदा पूर्वाञ्चलले पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो। फाइनलमा एपिएफलाई १–० को नतिजामा हराउँदै स्वर्ण पदक जित्दा पूर्वाञ्चलको टोली सुरेन्द्रकै नेतृत्वमा मैदानमा थियो। फाइनलमा भएको एउटै गोल बुद्ध चेम्जोङले उनकै पासमा गरेका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट त्यसबेला पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष थिए। अघिल्लो पटक पूर्वाञ्चलले फुटबलमा स्वर्ण पदक जित्दा मैदानमा टोलीलाई सुरेन्द्रले नेतृत्व गरेका थिए भने प्रशासनमा क्षेत्र विष्टको नेतृत्वमा थियो। संयोग दुवै पूर्वाञ्चलमा उदाउँदो सहर इटहरीका बासिन्दा हुन्। फरक यत्ति छ कि, यसपाली विष्ट क्षेत्रबाट उठेर पूरा देशकै खेलकुदको कार्यकारी प्रमुख भइसकेका छन्। सुरेन्द्रले भने बुट थन्क्याएको तीन वर्ष भइसक्यो।

'खेलाडीको जीवन यस्तै हो। खुट्टा चलेसम्म मात्र हो। उमेर ढल्किँदै गएपछि मैदानसँगको नाता तोड्नै पर्छ। राजनीतिमा उमेर ढल्किँदै गएपछि झन् बढी महत्व पाइन्छ,' नागरिकसँगको भेटमा सुरेन्द्र भावुक भए, 'आफूले खेल्न नसके पनि खेलकुदबाट टाढिन भने सकिँदो रहेनछ। पूर्वाञ्चलमा पहिलो पटक राष्ट्रिय खेलकुद हुँदा खेलाडीका रुपमा मैदान उत्रिन पाएको भए हुन्थ्यो जस्तो लाग्छ। राष्ट्रिय खेलकुद नियमित दुई वर्षको अन्तरमा भएको भए म राम्रो फर्ममा हुँदै घरेलु मैदानमा खेल्न पाइन्थ्यो। तर भाग्यमा रहेनछ।'

छैटौं राष्ट्रिय खेलकुद सुदूर पश्चिममा हुँदा चोटका कारण सुरेन्द्र टिममा थिएनन्। संन्यास लिइसकेपछि प्रतियोगिता उनको गृह क्षेत्रमा आइपुग्यो। त्यसैले खेलाडीका रुपमा खेल्न नसके पनि ०६८ मा सातौं राष्ट्रिय खेलुकद पूर्वाञ्चलमा हुने राखेपको निर्णयले सुरेन्द्रलाई उत्साहित बनाएको थियो। स्थानीय खेलकर्मीको नाताले खेलकुदमा योगदान गर्ने योजनाले उनी मनमनै रमाएका थिए।

'धनगढीमा छैटौं राष्ट्रिय खेलकुदको समापन समारोहमा पूर्वाञ्चलले ०७० सालमा सातौं संस्करण गर्ने बाचासहित झण्डा बोक्दा मलाई स्वाभाविक रुपमा खुसी लागेको थियो,' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सुनसरी जिल्ला अध्यक्षसमेत रहेका सुरेन्द्रले मन खोले, 'सुदूर पश्चिममा राष्ट्रिय खेलुकद हुँदा दीपक दाइ (धनगढीका तेक्वान्दो खेलाडी)हरूलाई सक्रिय गराइएको थियो। यहाँ हुँदा हामी पनि केही गर्न चाहन्थ्यौं। खेलकुदमा हाम्रो अनुभव र सम्बन्धको प्रयोग हुने आश थियो। तर हामीलाई कहीँ कतै पनि समेटिएन।'

औपचारिक रुपमा कुनै जिम्मेवारी नपाए पनि राष्ट्रिय खेलकुदमा उनी सक्रिय छन्, सायद राखेपका पदाधिकारीभन्दा बढी। देशभरबाट आएका खेलाडी तथा खेलकर्मीलाई भेट्ने, उनीहरूका गुनासा सुन्ने, समस्या समाधानमा व्यक्तिगत रुपमै पहल गर्ने, यस्तै छ उनको दैनिकी आजकाल। बिहान झिसमिसेबाट सुरु उनको व्यस्तता मध्यरातमा घर फर्केपछि मात्र सकिन्छ।

'खेल्न छाडेको तीन वर्ष भयो। खेल्न छाडेपछि खेलकुदको माहोलबाट पनि टाढिएको थिएँ। अहिले देशभरबाट खेलाडी आएका छन्। साथीहरूसँग लामो समयपछि भेट्न पाइएको छ। आफू स्थानीय भएकाले उनीहरूका समस्यामा सहजकर्ताको भूमिका खेलिरहेको छु,' उनले सुनाए, 'देशभरका साथीहरूलाई घुमाउनमात्र पाउँदा पनि रमाइलो लाग्छ।'

खेलाडी संघको जिल्ला अध्यक्ष भएकाले उनी राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल आएका खेलाडीको सुविधा र समस्यामा अझै बढी सचेत छन्। बिनास्पाइक एथलेटिक्स ट्र्याकमा दौडिएका खेलाडीलाई सहयोग जुटाउन खेलाडी संघका केन्द्रीय अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठसँग उनी पनि दिनरात लागिरहेका छन्।

'आफ्नो क्षेत्रमा राष्ट्रिय खेलकुद हुँदा धेरै खुसी लागेको छ। तर खेलाडीको अवस्था नेपाली खेलकुदमा कहिल्यै फेरिएन। हामीले खेल्न सुरु गर्दाभन्दा पनि अहिले खेलाडीलाई दयनीय अवस्थामा देख्दा मन दुख्दोरहेछ,' सुरेन्द्र भावुक भए, 'खेलाडीहरू धेरै समस्यामा छन्। कसैको बसोबास व्यवस्था राम्रो छैन। कसैले खाली खुट्टा दौडिनु परेको छ। राखेपले घोषणा गरे पनि अधिकांशले दैनिक भत्ता पाउन सकेका छैनन्। बसोबास वा अन्य बहानामा खेलाडीको पैसा काटेर थोरै रकम दिने काम भइरहेको छ। हामीले खेलाडीका लागि यी क्षेत्रमा काम गर्नुपर्छ। यस्तो कामले एउटा पूर्व खेलाडीलाई धेरै आनन्द दिँदोरहेछ।'

०५७ सालमा नेपाली फुटबलको महारथी थ्री स्टार क्लबसँग आबद्ध भएपछि इटहरीबाट सुरु भएको सुरेन्द्रको फुटबल यात्राले व्यावसायिकताको राजमार्ग समाएको थियो। सुरेन्द्रले १० वर्ष थ्री स्टारबाट खेल्दा सहिद स्मारक ए डिभिजन लिगसहित घरेलु फुटबलमा सबै प्रतियोगिता जितेका थिए। थ्री  स्टार टोलीमा अग्रपंक्तिको नेतृत्व लिँदा सुरेन्द्रले गोल नगरेका खेल बिरलै हुन्थे। विंग्सबाट चितुवाको गतिमा बल दौडाउन माहिर सुरेन्द्रलाई टाइट एंगलबाट गोल हान्न महारथ प्राप्त थियो। उच्च फर्ममा रहँदा ३/४ जना विपक्षी रक्षकलाई आँखा नदेख्ने सुरेन्द्र ६ वर्षसम्म राष्ट्रिय टोलीको हिस्सा रहे। राष्ट्रिय टोलीका धेरै खेलमा बेन्चमै सीमित भएकाले उनको नाममा एकमात्र अन्तर्राष्ट्रिय गोल छ। तर घरेलु फुटबलका निर्विवाद सुपरस्टार सुरेन्द्र सहिद स्मारक ए डिभिजन लिगमा ५० गोलको कोसेढुंगा पूरा गर्ने थोरै खेलाडीमध्ये एक हुन्। आधुनिक फुटबलमा वसन्त थापापछि ५० गोल पुर्‍याउने सुरेन्द्र दोस्रो खेलाडी हुन्। थ्री स्टारपछि फ्रेन्ड्स र सरस्वती क्लबबाट १/१ वर्ष खेलेपछि उनले बुट थन्क्याएका थिए। 'पूर्वमा पहिलो पटक राष्ट्रिय खेलकुद हुँदा नयाँ पुस्ताले खेलसँगै व्यवस्थापनबारे पनि केही सिक्न पाउलान भन्ने आश थियो। हामीजस्ता जीवन खेलकुदमा समर्पित गरेका र खेलबाहेक अरु केही नजान्नेलाई पनि संन्यास लिएपछि खेल व्यवस्थापन सिक्न यो खेलकुद राम्रो थलो हुन सक्थ्यो,' २००३ देखि २००८ सम्म राष्ट्रिय टोलीबाट खेलेका सुरेन्द्रले भने, 'पूर्वाञ्चलमा खेलकुद आयोजनाका लागि सक्षम मानिस धेरै छन्। उनीहरुलाई समेटेको भए आयोजकलाई पनि फाइदा हुन्थ्यो। अहिले भइरहेका धेरैजसो कमजोरीको गुनासो आउँदैनथ्यो। तर स्थानीय खेलकर्मीलाई पाखा लगाइएको छ।'  

प्रकाशित: १५ पुस २०७३ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App