coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाइनलमा आर्मी र एपिएफ

विराटनगर- अनिल मण्डलको अविजित ६२ रन मद्दतमा त्रिभुवन आर्मी क्लबले बिहीबार नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा पुग्यो। आर्मीले स्वर्ण पदकका लागि अब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले पनि मध्यमाञ्चललाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

ओपनर अनिलले ५४ बलमा ६ चौकासहित बनाएको अविजित ६२ र सागर पुनको ५९ रन मद्दतमा आर्मीले १ सय ४५ रनको लक्ष्य ९ बल बाँकी रहँदै २ विकेट गुमाएर पूरा गर्‍यो। ४८ बल खेलेका सागरले ७ चौका र १ छक्का प्रहार गरे। सागर मन्जित श्रेष्ठको बलमा बोल्ड हुँदा ५ रन बनाएका नरेश बुढाऐर दीपेन्द्र ऐरीको बलमा सिद्धान्त लोहनीको हातबाट क्याच भए। राजु रिजाल ६ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएको थियो। पुलिस क्लबका आसिफ शेखले ३५, ओपनर दिलिपनाथले ३२ रन बनाए। रामनरेश गिरी र सुनिल धमलाले समान १५ रन बनाए। आर्मीका सोमपाल कामीले ३ तथा विक्रम सोब र चन्द्र साउदले २–२ विकेट लिए।

एपिएफको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको मध्यमाञ्चलले टस जितेर १७.५ ओभरमा सबै विकेट गुमाउँदै ६१ रन बनाएको थियो। मध्यमाञ्चलका हरिशंकर शाहले २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपिएफका करण केसी र वसन्त रेग्मीले २/२ विकेट लिए भने पारस खड्का, शक्ति गौचन, भुवन कार्की र यज्ञमान कमालले १/१ विकेट लिए। प्रदीप ऐरीले २४ बलमा ५ चौकासहित ३३ रन बनाएपछि ६२ रनको लक्ष्य एपिएफले ९.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो। मध्यमाञ्चलका रसिद खान र रिजन ढकालले १/१ विकेट लिए।

प्रकाशित: १५ पुस २०७३ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App