coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

झापा- सातौं राष्ट्रिय खेलकुदको बक्सिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पदक तालिकाको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ। भद्रपुरस्थित मेची रंगशालामा बिहीबार अन्तिम दिन आर्मीले ११ स्वर्ण पदक, ६ रजत र २ कांस्य पदक जितेर आफूलाई बक्सिङमा अब्बल साबित गरेको छ।

सशस्त्र प्रहरीले ४ स्वर्ण, ५ रजत र ४ कांस्य पदक जितेर दोस्रो स्थान हासिल गर्‍यो।  तेस्रो स्थान ओगट्दै  मध्यमाञ्चलले सन्तोषजनक नतिजा निकालेको छ। मध्यमाञ्चलले २ स्वर्ण, २ रजत र ४ कांस्य पदक हात पारेको छ।  नेपाल पुलिसले १ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित  चौथो स्थान ओगट्यो। पूर्वाञ्चलले १० कांस्य, मध्यपश्चिमाञ्चलले ५ कांस्य, सुदूरपश्चिममाञ्चलले ४ कांस्य र पश्चिममाञ्चलले ३ कांस्य पदकमै चित्त बुझाए।

महिलातर्फ ६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले स्वर्ण पदक जितिन्। रावलले सशस्त्र प्रहरीकी विनिता थापामगरलाई पराजित गरी स्वर्ण चुमेकी हुन्। ६९ केजीमा सशस्त्रकी  संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई हराएर स्वर्ण पदक जितिन्। ७५ केजीमा आर्मीकी शिलु डंगोलले समुना खातुनलाई पराजित गरी स्वर्ण पदक जितिन्।

पुरुषतर्फ ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले सशस्त्र प्रहरीका विकास लामालाई हराएर स्वर्ण पदक हात पारे। ७५ केजीमा आर्मीका दिपेश लामाले मध्यमाञ्चलका दिवसलाल भूमिलाई पराजित गर्दै स्वर्ण पदक जिते। ८१ केजीमा मध्यमाञ्चलका मनोहर बस्नेतले आर्मीका महेन्द्र केसीलाई हराउँदै स्वर्ण पदक चुमे। ९१ केजीमा आर्मीका श्याम खत्रीले मध्यमाञ्चलका कविरश शर्मा रिङमा नउत्रेपछि वाक ओभरमा स्वर्ण पदक जिते। ९१ केजीभन्दा माथिको स्पर्धामा आर्मीका आशिष दवाडीले स्वर्ण जिते भने मध्यमाञ्चलका मेघ लामाले रजत पाए। समापन समारोहमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए।

पूर्वबक्सर सम्मानित

नेपाल बक्सिङ संघले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङको समापन अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरेको छ। संघले १६ जना पूर्वबक्सरलाई सम्मानित गरेको छ। मथुरादास नेवा, सुरेसशिंह आलेमगर, नैनकुमार थापामगर, मञ्जुजंग थापा, प्रविन तुलाधर, डम्बरदत्त भट्ट, विष्णुबहादुर पुन, नरेन्द्र पोमा, अनुप लामा, प्रचण्ड शर्मा, विद्या मरासैनी, दीपक महर्जन, प्रकास थापामगर, रामचन्द्र थापामगर, डम्बरबहादुर लिम्बु र दीपक राईलाई सम्मानित गरिएको छ। 

प्रकाशित: १५ पुस २०७३ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App