७ वैशाख २०८१ शुक्रबार
खेल

पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

राजविराज- सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलनका विभिन्न प्रतिस्पर्धाको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। राजविराजमा चार दिन भएको भारोत्तोलन प्रतिस्पर्धामा दैनिक नयाँ राष्ट्रिय कीर्तिमान बने।

अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा १२४ केजी वजन उठाउँदै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे। उनले गत वर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए। पुकारले स्न्याचमा १२४ केजीसहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजी भार उचाल्दै स्वर्ण जिते। मध्यमाञ्चलका राजिव महर्जन दोस्रो भए। उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११३ गरी जम्मा २०३ केजी वजन उठाए। तेस्रो भएका सुदूरपश्चिमाञ्चलका सुवास उपाध्यायले स्न्याचमा ९१ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा २०१ केजी वजन उठाए।

पहिलो दिन नेपाल प्रहरीकी देवी चौधरीले महिला ५३ केजीको स्न्याचमा कीर्तिमान बनाएकी थिइन्। दोस्रो दिन आर्मीकी कमला श्रेष्ठले महिला ५८ केजीको स्न्याच, क्लिन एन्ड जर्क र कुल वजनमा राष्ट्रिय कीर्तिमान बनाइन् भने त्यसै दिन आर्मीका कमलबहादुर अधिकारीले पुरुष ८५ केजीको क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाएका थिए। तेस्रो दिन प्रहरीका दिनेश श्रेष्ठले पुरुष ९४ केजीको स्न्याच, क्लिन एन्ड जर्क र कुल वजनमा कीर्तिमान बनाउन सफल भएका थिए।

पुरुषको १०५ केजीमुनि प्रहरीका गगन चन्दले स्वर्ण जिते। उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११८ गरी जम्मा २१४ केजी भार उठाए। स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११७ गरी कुल २१३ केजी वजन उठाएका प्रहरीकै विपेन्द्र महर्जन दोस्रो भए। मध्यमाञ्चलका आशिक हुसैन तेस्रो भए। उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १०८ गरी जम्मा १९८ केजी भार उठाए।

प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली आर्मी, प्रहरी र एपिएफका गरी जम्मा १ सय ३ खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। पुरुषमा ८ र महिलामा ७ स्पर्धा समावेश थियो।

प्रकाशित: १४ पुस २०७३ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App